नगरलाई बालमैत्री बनाउन नगरपालिका लागिपरेको छ ः मेयर कार्की

२९ भाद्र २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई बालमैत्री बनाउने गरी कार्य भैरहेको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाले आज थलिमा आयोजना गरेको कार्यक्रममा मेयर कार्कीले सो कुरा बताउनुभएको हो ।
बालबालिकाहरुको हक, अधिकार सुनिश्चित गर्न नगरपालिका लागिपरेको बताउदै नगर प्रमुख कार्कीले बालबालिकाको चौतर्फी विकासका लागि सहयोग पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई वडा वडामा संचालन गरिने पनि बताउनुभयो ।
नगरपालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक सूचकहरु पुरा गर्ने तर्फ सक्रिय भएर लाग्न मेयर कार्कीले शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला, बालबालिका तथा समाज कल्याण शाखालाई निर्देशन पनि दिनुभयो ।बाल दिवसको अवसरमा मेयर कार्कीले सबै बालबालिकाहरुलाई शुभकामना पनि दिनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न नगरपालिका लागिपरेको बताउदै नगर बाल अधिकार समिति नगरलाई बालमैत्री बनाउने अभियानमा लागिपरेको बताउनुभएको थियो ।
बाल बचाऊ, बाल विकास, बाल सहभागिता र बाल संरक्षण गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको उपप्रमुख थापाको भनाई थियो ।
नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सबिना श्रेष्ठले बालबालिकाको हक अधिकार सुनिश्चित गर्ने गरी शाखाले कार्य गरिरहेको बताउदै शाखाले बालबालिकाको क्षेत्रमा गरेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ बाल सञ्जालका अध्यक्ष आयुश श्रेष्ठले बालबालिकाको सर्बागिण विकासका लागि नगरपालिकाले आगामी दिनमा अझ बढि सक्रिय भएर कार्य गर्नुपर्ने बताउदै बालबालिकाहरु नगरपालिकालाई बालमैत्री बनाउन आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
कार्यक्रममा कान्ति भैरब माध्यमिक विद्यालय बाल सञ्जालका अध्यक्ष आशिका खड्काले बालबालिकाहरुको क्षमता विकासका लागि नगरपालिकाले कार्य गर्नुपर्ने बताउदै नगरलाई बालमैत्री बनाउन बाल क्लवहरु सक्रिय भएर लागेको बताउनुभएको थियो ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका कार्यकारी निर्देशक एवम् बाल अधिकारकर्मी आत्माराम थापाले बालबालिकाको हक अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाबाट SEE उत्रिर्ण अपांग बालबालिकाहरुलाई नगर प्रमुख उपेन्द्र कार्कीले सम्मान पनि गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, ५ का वडा अध्यक्ष शंकर पाण्डे, ६ का वडा अध्यक्ष प्रकाश फुयाँल, ७ का वडा अध्यक्ष भिमसेन थापा, वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी लगायत नगर कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका उप सचिव स्मिता नेपाल, स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगी, विभिन्न शाखाका प्रमुखहरु, नगर बाल अधिकार समितिका सदस्य बासु फुयाँल, शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरु र बालबालिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालबालिकाहरुले बालअधिकार सम्बन्धी विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए ।
यस बर्ष कागेश्वरी मनोहरा नगरपालिकाले नगरका सबै वडाहरुमा बाल दिबस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाएको छ ।

यस बर्ष बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका बाल दिबस मनाइएको छ ।