राष्ट्रिय अभिलेखालयको तिब्बती शाखाको सर्वेक्षण

 

प्रा. पुण्यप्रसाद पराजुली
कार्लेटन बुद्धिष्ट स्टडिज प्रोग्राम बोधगया

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अभिलेखालयमा संस्कृत, नेपाली, नेवारी, मैथिली, तिब्बती, पाली, फारसी आदि भाषामा लेखिएका ताडपत्रसहितका हस्तलिखित ग्रन्थहरूको विशाल भण्डार रहेको छ । यो अथाह भण्डारमा तिब्बती भाषामा लेखिएको हस्तलिखित तथा काठे छापाका अठार हजार भन्दा बढी ग्रन्थहरू रहेका छन् । राष्ट्रिय अभिलेखालय स्थापना हुनु भन्दा पहिलेको वीर पुस्तकालयको भोटे फाँटका ग्रन्थहरूको अलावा पछि विभिन्न श्रोतबाट प्राप्त उपलब्ध ग्रन्थहरू हाल अलग कोठामा राखिएका छन् । तिब्बती ग्रन्थहरूमा मिति लेख्ने चलन ज्यादै कम भएको र लेखिएका पनि साठी वर्षको चक्र हुने तिब्बती पद्धतिमा लेख्ने चलन भएकाले कुन शताब्दीमा लेखिएको भनी किटान गर्न सकिन्न । ऐतिहासिक दस्तावेजहरू तथा लेखिएको कागजको रासायनिक परीक्षणबाट चौधौं शताब्दीसम्ममा लेखिएका बीस वटा जति ग्रन्थहरू पाइएका छन् ।
वर्तमान वस्तुस्थिति
हाल कपडाको खोल हालेर नामाङ्कन गरिएका ११५२ पोकाहरू छन् भने गत वर्षमात्र राट्रिय संग्रहालयबाट प्राप्त थप ग्रन्थहरू खोल विहिन अवस्थामा छन् । यी सबै ग्रन्थहरूलाई खोल सहितको पोकाहरूमा राखी सकेपछि मात्र ग्रन्थहरूको यकीन संख्या निकाल्न सकिन्छ । कुनै ग्रन्थ एक पेज भन्दा कमका एक श्लोकी (चार हरफ) पनि छन् भने केही ग्रन्थ ६४४२ पन्ना सम्मका छन् । शुरुमा संकलित पुस्तकहरूलाई क्रमशः पोका नम्बरसहित व्यवस्थित गरिएको हुनाले काङ्ग्यूर, तेन्ग्यूर जस्ता ग्रन्थहरू एक साथ रहेको पाइन्छ । एकै लेखकले लेखेका ग्रन्थहरू प्रायः सङ्सँगै राखिएको छ भने केही ठाउँमा क्रमबद्धता पनि देखिन्छ । पोका नम्बर ६०९ सम्म प्राय काठे छापाका ग्रन्थहरू छन् भने त्यसपछिका पोकामा दुबै खाले ग्रन्थहरू रहेकाले पोकाको रूप नै बेढंगको देखिन्छ । एक माथि अर्को पोका थुपार्दा सन्तुलन विग्रेको देखिन्छ ।
राष्ट्रिय संग्रहालय छाउनीबाट प्राप्त पोका नम्बर ६५९ पछिका ९६८ सम्मका ३०९ पोकाहरू भने अंग्रेजी भाषामा लेखिएका कार्डहरू पनि पोकाभित्र राखिएका छन् । पछिल्लो चरणको माइक्रोफिल्म बनाउने क्रममा बनाइएका यी कार्डहरू माईक्रोफिल्म शाखाको दराजमा पनि अंग्रेजी वर्णानुक्रम अनुसार राखिएका छन् भने पहिले माईक्रो फिल्म खिचिएका ग्रन्थहरूमा कुनैमा पनि काड राखिएको छैन । पोका ९६९ पछि १०२३ सम्मका ग्रन्थहरू प्राय अपूर्ण र अव्यवस्थित छन् ।
अन्तिम दराजमा अलग्गै राखिएका १२९ ग्रन्थहरू मध्ये १०४ वटा देर्गे काङ्ग्यूरका सूचिपत्र सहितका पाल ग्याल्वा कर्मापाद्वारा दिल्लीमा अफसेट प्रिन्टमा छापिएका रातो मसी प्रयोग भएका ग्रन्थहरू छन् । यिनीहरूको एक छेउमा अंग्रेजी पेज संख्यापनि दिएको छ । १२९ पोकामा भएका ग्रन्थहरू आधुनिक कम्प्युटर टायपिङ गरी मुद्रण गरिएका छन् । पोका १०५ मा गान्तोकमा छापिएको द्वैभाषिक कोश पनि यहीँ राखिएको छ । १०६ देखि १२९ पोकासम्ममा लोङसाल र दुदुल लेखिएका मुद्रित ग्रन्थहरू छन् । यसरी हस्तलिखित, काठे छापामा खोपेर छापिएका तथा आधुनिक मुद्रण विधि प्रयोग गरी छापिएका ग्रन्थको भण्डार राष्ट्रिय अभिलेखालयको तिब्बती शाखामा रहेको पाइयो ।
काङ्ग्यूर ग्रन्थमाला
तिब्बतमा विभिन्न ठाउँमा विभिन्न समयमा लेखिएका र काठेछापामा खोपेर छापिएका आधारमा ग्रन्थमालाको नाम नै स्थान विशेषसँग जोडिएका पाइन्छन् । नार्थाङ, ल्हासा, पेकिङ, चोने, देगे जस्ता स्थानहरूको आधारमा नार्थाङ काङ्ग्यूर, देगे काङ्ग्यूर जस्त नामहरू दिएको छ । भगवान् बुद्धका वचनहरूलाई तिब्बती भाषामा “का” भनिन्छ भने अनुवादलाई “ग्यूर” भनिन्छ । यी दुईको संयुक्त रूप नै काग्युर हो जसलाई कथ्य भाषामा काङ्ग्युर पनि भनिन्छ । श्री ३ चन्द्र शंसेरको पालामा जापानी बौद्ध भिक्षु एकाई कावागुचीबाट उपहारको रूपमा प्राप्त १०० पोका ग्रन्थहरू राष्ट्रिय अभिलेखालयका प्रथम पुस्तकमाला भएको देखिन्छ । सन् १७३१ म काठे छापा बनाएको यो ग्रन्थमालाको परिशिष्ट खण्ड चाँहि बीसौं शताब्दीमा छापेको पाइन्छ । पोका नम्बर ३४० मा यी ग्रन्थहरूको सूचि र छपाईको इतिहास विस्तृत रूपमा बताइएको छ । ग्रन्थमालामा थुप्रै लामा छोटा ग्रन्थहरू भएपनि पहिलेका सूची बनाउने कर्मचारीहरूले सबैभन्दा पहिलेको ग्रन्थको मात्र उल्लेख गरेको पाइयो । मूल १०० पोका भित्र ७६१ वटा ग्रन्थहरू छन् भने परिशिष्टमा २७ थप ग्रन्थहरू राखी ७८८ शीर्षकका अनुदित रचनाहरू नार्थाङ काङ्ग्युमा रहेका छन् । यो ग्रन्थमालामा विनय,(दुल्वा) प्रज्ञापारमिता,(शेर्छिन्) रत्नकुट,(कोन्चेग्) अवतंशक,(फाल्छेन्) निर्वाण,(ङ्यान्दे) बहुसुत्र(मोमाङ) र तन्त्र(ग्यु)को क्रम छ । सबै उपशीर्षक “का” अक्षरबाट सुरु भएका छन् । यसले गर्दा ग्रन्थको पहिचान गर्दा उपशीर्षकको अंकित अक्षरको आधारमा गर्नुपर्छ ।
अठारौं शताब्दीमा पूर्र्वी तिब्बतको देर्गे भन्ने स्थानमा काठ खोपेर छापिएका ग्रन्थमालालाई देर्गे÷देगे काङ्ग्यूर भनिन्छ । यसमा १०१ मूल ग्रन्थहरूको अलावा २ पोका धारणीसंग्रह अलग्गै छन् । जम्मा ११०८ अनुदित रचनाहरू रहेको यी संग्रहलाई ग्याल्वाङ कर्मापाले सन् १९७६–१९७९ मा आधुनिक छपाई प्रविधि प्रयोग गरी छपाएको देखिन्छ । यसमा विनय, प्रज्ञापारमिता, अवतंशक, रत्नकुट, सूत्र, तन्त्रको अलवा प्रतन्त्र(न्यिङ्ग्यु), कालचक्र(दुखोर) र धारणी संग्रह(सुङ्दु)को क्रम छ ।
देगेका दुई सेट गरी २२१६ र नार्थाङका ७८८ गरी ३००४ ग्रन्थहरू काङग्युर ग्रन्थमाला अन्तर्गत पर्दछन् । यो ग्रन्थमालामा समावेश गरिएका थुपै्र फुटकर ग्रन्थहरू पनि हस्तलिखित रूपमा संग्रहित छन् । विशेष गरी धारणी संग्रहका ग्रन्थहरू पुरै वा फुटकर रुपमा धेरै नै दोहोरिएका पाइयो ।
तेन्ग्युर ग्रन्थमाला
बुद्ध वचनको व्याख्या गरी लेखिएका ग्रन्थहरूलाई शास्त्र भन्निछ । यस्ता शास्त्रहरूलाई तिब्बती भाषामा तेन्च्यो भनिन्छ जसलाई छोटकरीमा “तेन” मात्र पनि भनिन्छ । “ग्यूर” भन्नाले अनुवाद हुने भएकाले तेन्ग्युरले भारतीय, नेपाली र तिब्बती विद्वानहरूका रचनाहरूको अनुवादलाई बुझिन्छ । देगे तेङ्ग्युरमा विभिन्न लेखकका २२४ ठेली ग्रन्थहरूमा ३४५८ रचनाहरू सङ्कलित छन् भने सन् १७४६ मा छापिएका नार्थाङ तेन्ग्युरमा ३९१३ ग्रन्थहरू छन् । नार्थाङ र देगे दुवै ठाउँमा छापिएका गरी ७३७१ ग्रन्थहरू राष्ट्रिय अभिलेखालयमा छन् । यसरी काङ्ग्युर र तेन्ग्युरका १०३७५ भन्दा बढी छापा ग्रन्थहरू सुरक्षित छन् ।
शतसाहस्रिका प्रज्ञापारमिता ग्रन्थ
महायान बौद्ध वाङ्मयमा सबैभन्दा लामो मानिएको एक लाख श्लोक बराबरको गद्य ग्रन्थ शतसाहस्रिका प्रज्ञापारमिता हो । संस्कृत भाषामा ४ ठेलीहरूमा उपलब्ध यो ग्रन्थ भोट भाषामा अनुवाद गर्दा १२ ठेलीहरू हुन पुगेको देखिन्छ । भोट भाषामा औपचारिक नाम “शेरावक्यी फारोल्तु छिन्पा तोङ्ठाग् ग्येपा” भएको यो ग्रन्थलाई संक्षेपमा “वुम” भन्ने गरिन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका तीन सेट काङ्ग्युर अन्तर्गत यो ग्रन्थ हुनु स्वभाविकै हो तर अलग्गै ३ सेट शतसाहस्रिका प्रज्ञापारमिता यहाँ उपलब्ध छन् । का देखि ना अक्षरहरू अंकित यो ग्रन्थ पहिलो सेट नारथाङ काङ्ग्युर सकिने बित्तिकै पोका संख्या १०२ देखि ११३ सम्म छ ।

रिन्छेन तेर्जो
भारतीय बौद्ध ग्रन्थहरूका अनुवाद पछि सबैभन्दा ठूलो परिमाणमा तेर्मा (निधि) ग्रन्थमाला राष्ट्रिय अभिलेखालयमा छन् । ६३ पोथी (पोका) हरुमा २४२५ ग्रन्थहरू भएको यो ग्रन्थमाला तिब्बतको छुर्फुमा पन्ध्रौं कर्मपा खाख्याब दोर्जेका पालामा छापेर श्री ३ जुद्ध शम्शेरका पालामा नेपाल पठाएको देखिन्छ । पोका नं. ५२५ मा यसको अलग सूची पत्र छ । यसमा गुरु पद्मसंभवका प्रसिद्ध जीवनी ग्रन्थहरू पनि समावेश गरिएको छ । का अक्षरबाट शुरु भएका ६० वटा पोकाहरुमा भएका ग्रन्थमालामा इ अक्षरसम्म लगातार अंकित छन् भने अन्तिम ३ ग्रन्थमा आ,ें आः र हुँ अंकित छन् ।
न्यीङ्मा ग्युबुम संग्रह
आठौं शताब्दीमा अनुवाद भएका कैयौं तान्त्रिक ग्रन्थहरूलाई एघारौं शताब्दी पछिका अनुवादकहरूले आधिकारिक नमाने पछि धेरै तन्त्र ग्रन्थहरू काङ्ग्युरमा समेटिन सकेनन् । नारथाङ काङ्ग्युरमा यस्ता तन्त्रहरू समाविष्ट नभए पनि देर्गे काङ्ग्युरमा प्रातन्त्र (न्यीङ्ग्युद) शीर्षकमा २४ ग्रन्थहरू तीन ठेलीमा पाइन्छन् । रत्न लिङ्पा (१४०३–१४७८) ले पन्ध्रौं शताब्दीमा पूर्वानुदित संस्करणहरूको सम्पादन गरेर प्राचीन अनुदित तन्त्रका ग्रन्थहरु ल्हुन्डुव फोडाङमा न्यीङ्मा ग्युवुम् नामाकरण गरी अलग्गै संस्करण निकाले । यसलाई मूल प्रति मानी धेरै ठाउँमा लेख्ने र छाप्ने गरेको पाइन्छ । यस्ता हस्तलिखित र मुद्रित ग्रन्थहरुका दुवै संस्करणहरु राष्ट्रिय अभिलेखालयमा छन् । पोका नं. ३४२ देखि ३६७ सम्ममा २६ पोकामा छापा ग्रन्थहरू रहेका छन् । का देखि शुरु भएर रा अक्षर अंकित पुस्तकहरूमा तन्त्र विषयक ग्रन्थहरू छन् भने २६ औं पोका ३६७ मा सबै ग्रन्थहरूको विस्तृत सूचिपत्र रहेको छ । ४२४ ग्रन्थहरू रहेको यो पूर्वी तिब्बतको देर्गेमा छापिएको पाइन्छ ।
्यहाँ हस्तलिखित न्यीङ्मा ग्युवुमका ३६ पोकाहरुमा ५६१ ग्रन्थहरू समाविष्ट छन् । पोका संख्या ६८७ देखि ७२२ रहेका यी ग्रन्थ मालाका केही पुस्तकहरू कीरा लागेर नष्ट हुन लागेका छन् । १३७ थप ग्रन्थहरू यो संग्रहमा छन् ।
सुङ्वुम ग्रन्थमाला
राष्ट्रिय अभिलेखालयमालामा लोङ्छेन्पा, तारानाथ, ङुल्छु धर्मभद्र र याङ्चेन डुव्पे दोर्जेका सम्पूर्ण रचनाहरू समाविष्ट छापा ग्रन्थहरू छन् । लोङ्छेन्पाका सात ठेली जोदुन् (सप्त कोश) ग्रन्थहरु छन् । तारानाथ का देखि चा सम्म अंकित १७, आत्मजीवनी र विषयसूची गरी १९ पोथी ग्रन्थहरू छन् भने धर्मभद्रका का देखि धा सम्मका ६ पोथी ग्रन्थहरू छन् । त्यस्तै याङचेन डुव्पे दोर्जेका ३ पोथी ग्रन्थहरू छन् ।
फुटकर ग्रन्थहरु
संस्कृत भाषाबाट उल्था भएका र तिब्बती लेखकहरुले आफ्नै भाषामा लेखेका ४६०० भन्दा बढी हस्तलिखित ग्रन्थहरु यहाँ रहेको पाइन्छ । यी मध्ये ४५०० ग्रन्थहरुको विस्तृत सूचीपत्र पाँच भागमा राष्ट्रिय अभिलेखालयबाट प्रकाशित भईसकेका छन् । नयाँ थपिएका ग्रन्थहरु धेरै जसो हस्तलिखित रुपमा पाइएका छन् ।
सुझावहरू
राष्ट्रिय अभिलेखालयमा तिब्बती भाषाका निश्चित ग्रन्थमाला र फुटकर रचनाहरूको ठूलो भण्डार रहेको छ । यसलाई अझ व्यवस्थित बनाउन निम्न कार्यहरू तत्काल गर्नुपर्ने देखिन्छ ।
१) एकै ग्रन्थमालाका ग्रन्थहरूलाई एकै दराजमा क्रमवद्ध राखेर नामसहित अंकित गर्नुपर्ने । सकेसम्म एकै रङ्गको खोल प्रयोग गर्ने ।
२) फुटकर रचनाहरू संकलित पोकाहरूका छापा र हस्तलिखित ग्रन्थ छुट्याएर अलग पोकामा राख्ने । पोका नम्बरमा क, ख, ग आदि अंकित गर्न सकिन्छ ।
३) नयाँ ग्रन्थहरूमा खोल राखेर पोका नम्बर अंकित गर्ने ।