कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा समूदाय प्रहरी साझेदारी कार्यक्रमको बैठक सम्पन्न, ७ नं. वडामा शान्ति सुरक्षा कायम गरी सुशासन कायम गर्न जनप्रतिनिधिहरु लागिपरेको अध्यक्ष जीवन थापाको भनाई

 

१८ साउन २०७६
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा समूदाय प्रहरी साझेदारी कार्यक्रमको पहिलो बैठक सम्पन्न भएको छ ।
बैठक २०७६ साउन १७ गते शुक्रबारका दिन वडा कार्यालयमा बसेको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का अध्यक्ष जीवन थापाले ७ नं. वडामा शान्ति सुरक्षा कायम गरी सुशासन कायम गर्न आफूहरु लागिपरेको बताउनुभएको थियो ।


बैठकमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का अध्यक्ष जीवन थापा, सदस्यहरु सहदेव कार्की, लक्ष्मण पुरी र शर्मिला कार्की थापाले वडालाई स्वच्छ, शान्त, समृद्ध र हराभरा बनाउन वडाका सम्पूर्ण जनप्रतिनिधिहरु सक्रिय भएर लागेको बताउदै वडामा हुने अवाच्छित गतिबिधि, मदिरा नियन्त्रण, चोरी, लुटपाट लगायतका कार्य हुन नदिन वडाले विशेष पहल गरिहेको बताउदै वडाबासीहरुलाई आवश्यक सल्लाह र सुझाव दिएर वडालाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
बैठकमा महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरिक्षक सुधिर राईले प्रहरी समाजमा शान्ति सुरक्षा कायम गरी समाजलाई सुरक्षित बनाउन लागिपरेको बताउदै समाजमा शान्ति सुरक्षा कायम गर्न समूदायको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोग गर्न वडाबासीहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा अधिवक्ता माधव थापा, पत्रकारहरु शिव रेग्मी र विनोद कार्की, समूदाय प्रहरी साझेदारी कार्यक्रमका सदस्यहरु हरिभक्त न्यौपाने, समाजसेवी राम न्यौपने लगायतले समूदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई वडालाई सुरक्षित, शान्त र नमूना वडा बनाउन वडाले विशेष पहल गर्नुपर्ने बताउदै यसका लागि वडालाई आफूहरु जस्तासुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको थियो ।
बैठकमा वडामा शान्ति सुरक्षा कायम गर्न घरदैलो कार्यक्रम सञ्चालन गर्ने, मदिरा लगायतका सामाग्री बेचबिखन गरी समाजमा अवाच्छित गतिबिधि गर्नेलाई कारवाही गर्ने, चोरी लुटपाटका घटना हुन नदिन विशेष कार्यक्रम सञ्चालन गर्ने, दोषीलाई कारवाही गर्ने, मुलपानीमा अस्थायी प्रहरी पोष्ट राख्नका लागि पहल गर्ने, जनचेतनामूलक र्याली गर्ने, महिला, बालबालिका, जेष्ठ नागरिक लगायतको संरक्षणका लागि पहल गर्ने लगायत सम्पूर्ण वडालाई शान्त, सुरक्षित र नमूना बडा बनाउन पहल गर्ने लगायतका विषयमा छलफल भएको वडा अध्यक्ष जीवन थापाले जानकारी दिनुभएको छ ।
वडा नं.७ का अध्यक्ष जीवन थापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा ७ नं. वडामा गठित समूदाय प्रहरी साझेदारी कार्यक्रमका सदस्यहरुको सहभागिता रहेको थियो ।