टोखा नगरपालिकामा शैक्षिक गुणस्तर बढाउन नगरपालिका सक्रिय भएर लागेको छ ः नगर प्रमुख अधिकारी

१ भदौ २०७६ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकामा शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिका सक्रिय भएर लागेको बताउनुभएको छ ।
टोखा नगरपालिका वडा नं. १० मा रहेको मनोहर उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज टोखामा उद्घाटन गर्नुहुँदै प्रमुख अधिकारीले सो कुरा बताउनुभएको हो ।


टोखा नगरपालिकाले प्राविधिक शिक्षाको विकासलाई विशेष महत्व दिएको बताउदै नगर प्रमुख अधिकारीले मनोहर विद्यालयलाई नमूना विद्यालय बनाउन नगरपालिकाले पहल गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण लगायत नगरको समग्र विकास गरी नगरलाई नमूना नगरपालिका बनाउने अभियानमा लागेको बताउदै नगरको सो अभियानमा सहयोग गर्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा मनोहर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार उप्रेति, प्रधानाध्यापक बासुदेव अधिकारी, सहायक प्रधानाध्यापक कमला पौडेल लगायतले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरी विद्यालयको सर्बागिण विकासका लागि आफूहरु लागिपरेको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयको विकास र व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण सहयोग गरे बापत टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र टोखा नगरपालिकालाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विद्यालयको विकासमा सहयोग गरे बापत टोखा नगरपालिकाको शिक्षा शाखाका प्रमुख बाबुराम गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मनोहर उच्च माध्यमिक विद्यालयको सो भवन टोखा नगरपालिका, शिक्षा कार्यालय, वडा कार्यालय लगायतको सहयोगमा निर्माण गरिएको टोखा नगरपालिकाको शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा मनोहर उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जेपी नेपाल र जगन्नाथ ढकाल, नगर कार्यपालिका सदस्य कल्पना घिमिरे, नगर सदस्यहरु रामभक्त घिमिरे, शोभा तामाङ लगायत मनोहर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।