काठमाडौँ महानगरपालिकाको नगर सभाको बैठक सुरु

काठमाडौं महानगरपालिकाको प्रथम नगरसभा बैठक सुरु भएको छ । नगर सभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । नगर सभामा काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक वर्ष २०७४÷०७५ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई संबोधन गर्दै पूर्व प्रधानमन्त्री ओलिले पाँच वर्षमा महानगर बनाउने जिम्मा पाउनु भएको छ,’ भन्दै ‘निर्वाचनका बेला गरेको घच्चपच्चलाई अब विर्सिएर काम गर्नु जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

सहमति र समझदारीका साथ अघि बढ्न ओलिले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले नमूना महानगर बनाउन छिमेकी महानगर र नगरसँग पनि सहकार्य गर्न सुझाव दिनुभयो । उहाँले अहिले ऐन–कानुन प्रष्ट भइ नसकेकाले काम गर्न केही समस्या हुने भन्दै हतारमा गरेका कामको केही महिनापछि ‘रिभ्यू’ गर्न पनि सुभाव दिनुभयो । ‘हाम्रो देशलाई माया गर्ने र राष्ट्रवादी जनप्रतिनिधि बन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्र, लोकतन्त्र, सामाजिक न्याय र समानतालाई केन्द्रमा राखेर काम गर्नुहोला ।उहाँले अर्थहीन जातका कुरा गरेर इतिहास, सभ्यता र संस्कृतिको विकास नहुने भन्दै जनप्रतिनिधिलाई जनहितमा काम गर्न सुझाव दिनुभयो । ‘तपाईँहरु नगरको एकीकृत विकासमा लाग्नुहोला,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुसँग विकास गरौँ भन्ने रुचि छ । तपाईँहरुमा धन कमाउने मनसाय देखेको छैन । त्यसैले तपाईँहरुले जनप्रतिनिधि भएर जनताको हितमा काम गर्नुहुन्छ भन्नेमा म ढुक्क छु पूर्व प्रधानमन्त्री ओलिको भनाई थियो ।

कार्यक्रममा ओलिले महानगरपालिकासँग जनताले धेरै आशा गरेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि ध्यान दिन पनि जनप्रतिनिधिलाई सुझाव दिनुभयो । ‘अब कसैले पनि उपचार नपाएर मर्नुहुँदैन, बालबालिका शिक्षाबाट बञ्चित हुनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘अपाङ्गमैत्री कार्यालय र शौचालय निर्माणमा ध्यान दिनुहोला ।उहाँले भूकम्पवाट क्षतविक्षत भएका भौतिक संरचना, पुरातात्तिक महत्तवका संरचना निर्माणमा पनि महानगरको महत्वपूर्ण भूमिका रहेको भन्दै विकास निर्माणमा पनि ध्यान दिन सुझाव दिनुभयो । उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिका आफैँ सरकारको तह भएको भन्दै सरकारकै रुपमा काम गर्न सुझाव दिनुभयो ।

नगरसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘समृद्ध, सुरक्षित र जीवन्त शहर स्वच्छ र सुन्दर, काठमाडौं महानगर’ को अवधारण लिएर आफू अघि बढेको बताउनुभयो । ‘काठमाडौं शहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरुले समुन्नत बनाउनु सबैको दायित्व भएको भन्दै गर्ब गर्न लायकको उत्कृष्ट एवं बस्नयोग्य शहर बनाउने परिकल्पनामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँका बासिन्दाहरुका लागि एक आपसमा हातेमालो गर्दै आ—आफनो समुदायलाई सशक्तीकरण गरेर व्यवसाय र बसोबास सँगसँगै गर्ने स्वच्छ, सुन्दर, समृद्ध, सुरक्षित र जीवन्त सहर बनाउने लक्ष्य हासिल गर्न योजनावद्ध विकासको आवश्यक्ता रहेको छ,’ उहाँले भन्नुभयो, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना प्रयासहरुद्धारा यो शहरलाई स्मार्ट सिटीका सबै पक्षहरु जस्तो खानेपानी, फोहोरमैला व्यवस्थापन, उर्जा आपूर्ति, सूचना प्रविधि सञ्जाल, सार्वजनिक यातायात, संस्कृति र सम्पदा संरक्षण र विद्युत्तीय सरकारको अवधारणालाई सम्बोधन गरी अगाडि बढ्नु पर्नेछ ।’

उहाँले त्यसका लागि यही आर्थिक बर्षको पहिलो सत्रमा महानगरपालिकाको बीस बर्षे दीर्घकालिन योजना तयार पारिने पनि बाताउनुभयो ।उहाँले त्यही अन्र्तरगत मध्यकालीन र बार्षिक योजनाहरु बनाएर अघि बढ्ने बताउनुभयो । ‘काठमाडौंं महानगरपालिकाका गतिबिधिहरु आफ्ना जनताका हीतमा लोककल्याणकारी अवधारणा र बिकासको क्रममा सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि परेका समुदायहरुलाई प्राथमिकतामा राखी तयार पारिनेछ,’ उहाँले भन्नुभयो, ‘सुशासन लोकतन्त्रको आधारस्तम्भ भएकोले महानगरपालिकाका कार्यहरुमा पारदर्शिता, आर्थिक सुशासन तथा सामाजिक न्यायलाई अंगिकार गरिनेछ । त्यसैगरी प्रमुख शाक्यले स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने नीति अवलम्बन गरिने पनि जानकारी दिनुभयो ।राष्ट्रको सांस्कृतिक धरोहर मानिने सम्पदा र संस्कृतीलाई सम्बर्धन एवं प्रबर्धन गर्ने नीति मार्पmत महानगरपालिकाका कार्यक्रमहरु प्रेरित हुनेछन,’ उहाँले भन्नुभयो ‘महानगरपालिकाका कार्यक्रमहरु तर्जुमा गर्दा संयुक्त राष्ट्र संघद्धारा पारित दिगो बिकास लक्ष्यअनुरुप हुनेगरी तर्जुमा गरिने उल्लेख गर्दै दिगो शहर र समुदायलाई योगदान पुर्याउने नीति लिइनेछ ।

उहाँले महानगरका भौतिक तथा सामाजिक उत्थानका योजनाहरु बनाउँदा बातावरणीय पक्षलाई ध्यान दिइने पनि बताउनुभयो । ‘महानगर निर्माणको कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र जस्ता साझेदार संघसंस्थाहरुको साथ आवश्यक हुने हुनाले सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कार्यहरुलाई प्राथमिकता दिइनेछ,’ उहाँले भन्नुभयो । उहाँले सरकारले जेष्ठ नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराईने व्यवस्था मिलाइने कुरालाई पन जोड दिनुभयो । ‘जेष्ठ नागरिकलाई सम्मानस्वरुप महानगरपालिकाबाट सञ्चालन र व्यवस्थापन गरिएका पार्कहरुमा निशुल्क प्रवेशको सेवा उपलब्ध गराइनेछ,’ उहाँले भन्नुभयो, ‘जेष्ठ नागरिक, अपागंता भएका व्यक्तिहरु, पाँचबर्ष मुनिका बालबालिकाहरु, गरिबीको परिचयपत्र प्राप्त गरेका व्यक्तिहरुलाई साझा बसमा र भविष्यमा क्रमशः महानगरबाट सञ्चालित हुने अन्य यातायातमा समेत निःशुल्क सेवाको सुबिधा विस्तार गरिनेछ ।

त्यसैगरी समाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरुका लागि सामुदायिक आवास कार्यक्रम निर्माण गर्न बिस्तृत योजना तयार गर्ने, महानगर क्षेत्रमा यस बर्ष प्रत्येक वडामा कम्तिमा एक–एक वटा जेष्ठ नागरिक मनोरन्जन तथा सेवा केन्द्र संचालनमा गर्ने, अपांगता भएका व्यक्तिको हक, हित, सुरक्षा, सम्मान र क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ । रातो परिचयपत्र प्राप्त पूर्ण अपांगता भएका व्यक्तिलाई महानगरपालिकाबाट विशेष भत्ताको व्यवस्था गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिने बताउनुभयो । उहाँले ‘सक्षम युवा, उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी हाम्रो जिम्मेवारी’ अभियान, जनउपयोगी शिक्षा, सक्षम नागरिक अभियानलाई अघि बढाउने पनि जानकारी दिनुभयो ।

स्वस्थ नागरिक, स्वस्थ महानगर।, स्थानीय सरकार, पूर्वाधार विकासको आधार, हाम्रो आवास, मौलिक र सुरक्षित आवास, हाम्रो काठमाडौं, उज्यालो काठमाडौं, सहज, सुलभ, सुरक्षित र व्यवस्थित शहरी यातायातलाई प्राथमिकता दिने पनि बताउनुभयो । ‘निजी तथा साना सवारी साधनहरुको प्रयोगलाई निरुत्साहित गरी महानगरबासीलाई सार्वजानिक यातायातको अधिकतम उपयोग गर्न हाल बिश्वव्यापी रुपमा चलनचल्तीमा आएका सुविधायुक्त ठूला बसहरुको प्रयोग, बस र्यापिड टान्जिट, मोनो रेल, सिटी केवल कार, ट्राम, र मेट्रो जस्ता बिभिन्न प्रकारका बिकल्पहरुको अध्ययन गरी उपयुक्त र बृहत्तर शहरी यातायात योजना बनाई लागू गरिनेछ,’ उहाँले भन्नुभयो, ‘वातावरण संरक्षणमा जोड दिंदै महानगर क्षेत्रमा विद्युतीय यातायातका साधनलाई प्रवद्र्धन गरिनेछ । साइकल सिटीको सोच अनुरुप काठमाडौंलाई साइकल मैत्री शहर बनाउन साइकल सिटी गुरुयोजना तयार पारिनेछ । यस कार्यक्रमले महानगर भित्र साइकल संजालको योजना बनाउनुको साथै छिमेकी नगरपालिकाहरुसंग समन्वय गरी बृहत्तर साइकल संजाल प्रस्ताव तयार पारी आबस्यक ठाउँमा स्मार्ट साइकल पार्किङ स्टेशन निर्माण गरिनेछ ।

उहाँले स्थानीय भाषाको संरक्षण, प्रवद्र्घन र विकास गर्ने नीति अवलम्वन गरिने पनि जानकारी दिनुभयो । ‘काठमाडौंका आदिवासी नेवार समुदायको भाषा संस्कृतिमा टेवा पुगोस भन्ने हेतुले मंका दबु छें ंनिर्माण गरिनेछ,’ उहाँले भन्नुभयो, ‘स्थानीय नेपाल भाषाको प्रवद्र्धनका लागि यस क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने श्रष्टा सम्मान महानगर साहित्य पुरस्कार कोष स्थापना गरी बार्षिक रुपमा पुरस्कार दिईने व्यवस्था गरिनेछ ।’ उहाँले भूकम्पमा भत्केका सम्पदाहरुको लगत तयार गरी पुर्ननिर्माणको कार्य योजना तत्काल तयार गरिने पनि जानकारी दिनुभयो । ‘काष्ठमण्डपको निर्माणमा महानगरपालिकाको आफ्नै श्रोत साधन र नेपाली जनताको सहयोग परिचालन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘महानगरस्तरीय सांस्कृतिक संग्रहालयको निर्माण गरिनेछ ।
उहाँले लगानीमैत्री कर नीति ल्याउने, करदातालाई प्रोत्साहन गर्ने गरी स्वैच्छिक कर बुझाउने परिपाटीको विकास गरिने पनि जानकारी दिनुभयो । उहाँले महानगर क्षेत्रलाई आर्थिक समृद्धि र अवसरका केन्द्रको रुपमा विकास गर्न वित्तीय, शैक्षिक, वाणिज्य, पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि लगानी मैत्री वातावरण बनाइने पनि जानकारी दिनुभयो । ‘विपन्न र वेरोजगारी अन्त्य गर्ने स्थानीय आर्थिक सम्वृद्धिका नीति तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘महानगरका विपन्न र सिमान्त परिवारको पहिचान गरी गरिवी परिचयपत्र जारी गरिनेछ । गरिवी निवारणका लागि विपन्न लक्षित क्षमता विकास कार्यक्रम सन्चालन गर्ने नीति लिइनेछ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरको समग्र विकासका लागि सबै जनप्रतिनिधिहरु एकजुट भएर लाग्ने बताउनुभएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर राज पौडेलले महानगरलाई सभ्य, सुन्दर र नमूना महानगर बनाउन सबैको साझा प्रयास आवश्यक भएकाले महानगरको समग्र विकासका लागि सरोकारवाला पक्षहरुसंग सहकार्य र समन्वय गरेर महानगरपालिकाले काम गर्ने बताउनुभएको थियो ।