नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न नदिने कन्काईका मेयरको घोषणा

झापा, साउन ८ – झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न नदिने व्यवस्था गरिने बताएका छन् । झापामा आयोजित कार्यक्रममा बोल्दै मेयर पोखरेलले अव्यवस्थित जग्गा प्लटिङले समस्या उत्पन्न भएको भन्दै अब जग्गा प्लटिङको लागि नगरपालिकाको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

कन्काई नगरका सबै जनप्रतिनिधिले ऐलानी जग्गाको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । ऐलानी जग्गाको व्यवस्थापन, नदी नियन्त्रण, स्वच्छ खानेपानी सुविधा, विद्युतीकरण, शैक्षिक गुणस्तर वृद्धि, सडक, पर्यटन, कृषिको व्यवसायीकरणलाई नगरको कामको प्रमुख प्राथमिकतामा राख्दै ‘कनकाई कन्काई नगरपालिकालाई समृद्ध बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने मेयर पोखरेलले बताए ।

निर्वाचित भैसकेपछि कन्काइका जनप्रतिनिधिहरू तत्काल परिवर्तनको अनुभूति दिलाउन जनताको विभिन्न कामको सिफारिसका लागि खटिएका छन् । मजदुरका छोराछोरी स्याहारका लागि दुईवटा शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापनाको निर्णय गरिएको, खर्च अभावमा कसैले मृत्युवरण गर्नु नपरोस् भनी तत्कालका लागि पाँच लाख रुपैयाँको मजदुर हितकोष स्थापना गरिएको पनि मेयर पोखरेलले बताए ।