शिवपुरी पर्वतमा झल्किएको सन्यास


१२ जेठ, काठमाडौं

निर्मल चैतन्य

आध्यात्मिक चेतनाको चैतन्यस्थली पूज्यपाद गोविन्दानन्द भारती (शिवपुरी बाबा) ज्यूको तपस्थली, आशुतोष चन्द्रमौलीश्वर भगवान पशुपतिनाथको नित्य लीलास्थली देवलोक नेपालको पवित्रतम् राजधानी काठमाडौं देखि नजिक भएर पनि राजधानीको समस्त कोलाहलबाट अत्यन्त टाढा शान्त, एकान्त र निष्पाप विपिन बीचका पक्षीहरुको अहर्निश अनहदरुपी संगीत झंकृत भइरहने आनन्दमय स्थल, भगवती वागमती सरिताको उद्गमस्थल तिर यो पथिक र आध्यात्मिक चेतनाका आनन्दमय स्वरुप गुरु कृपाका अधिकारी श्री निरञ्जन पाण्डेयज्यूसंग बुढानिलकण्ठको उकालो लाग्दै जब शिवपुरी पर्वततिर यी पाइलाहरु लम्किरहेका थिए ।

पानी मुहान नजिक पुगेर सुस्ताउदै गर्दा एउटा गहुँगोरो सात समुद्रपारीको पुण्यात्मासंग अलकापुरीभित्रको सांसारिक विषयासक्तिमा पूर्ण रुपेण डुबेको पुण्यात्मा तलबाट हाम्रो पछि पछि आइरहेको दृश्य माथिबाट देखियो ।

ए दाई ! यस्तो कपडा किन लगाएको ? संसारबाट दुखित भएर हो कि ? कसैबाट धोका खाएर हो कि ? यसरी किन विरक्त हुनुभएको ? यति सानो उमेरमा सांसारिक आनन्द किन छोड्नुभयो ? भन्नु त ? अलकापुरीको त्यो पुरुषको विना संबोधन मेरो बाह्य आवरणलाई चारैतर्फबाट नियाली अचानक उसको मुखबाट जिज्ञासासहितका प्रश्नका बर्षातहरु ओइरिन थाले ।

उनका यस्ता प्रश्नले मलाई आफैमा सन्त दर्शन गर्न श्रद्धा सहित जान लाग्दा परमपुज्य शिवपुरी बाबा आफै आएर म भित्रको त्याग, श्रद्धा र वैराग्यको परीक्षण गरे जस्तो अनुभव भयो । किनकी भगवान श्रीकृष्ण भन्नुहुन्छ
“श्रद्धावाँल्लभते ज्ञानं तत्परःसंयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तमचिरेण गच्छति ।। ४/३९” ।
वेद, शास्त्र, ईश्वर र महापुरुषहरुको वचन तथा परलोकमा जुन प्रत्यक्ष विश्वास छ, एवम ती सबैमा पूजनीय र उत्तम आदरको भाव छ त्यही श्रद्धा हो ।
जुन व्यक्तिमा यस्तो श्रद्धा छ त्यसैलाई श्रद्धावान भनिन्छ । जितेन्द्रिय साधन परायण र श्रद्धावान व्यक्तिलाई मात्र ज्ञानको प्राप्ति भएर आनन्दमय भावले भगवत प्राप्ति स्वरुप परम शान्तिको प्राप्ति हुन्छ ।

शिवपुरीको उकालो भित्र अपरिचित तर जन्म जन्मान्तरदेखिको परिचित निज आत्मस्वरुप बन्धुले साधेका प्रश्नहरुलाई सद्गुरुतुल्य पूज्यपाद शिवपुरी बाबाजीका चरणमा सबै प्रश्न अर्पण गरें ।
१) सन्यास के हो ?
२) के कर्मरहित सन्यास हुन सक्छ ?
३) कर्म सन्यास र मोक्ष सन्यासमा के भिन्नता छ ?
४) अग्नि त्याग गरी सांसारिक विषया शक्तिबाट ग्रसित भएर पनि सन्यास धर्म सफल हुन्छ त ?

सद्गुरुतुल्य भगवान शिवपुरी बाबाको समाधि नजिक बस्दै आफ्ना जिज्ञासाहरु राखिरहेको थिए । अचानक आफ्नै मनबाट उद्बोधन भयो ।
सम्ंनि उपसर्गपूर्व अस्धातुमा घञ् प्रत्यय गरेर सन्यास शब्द निष्पन्न हुन्छ । जसको अर्थ सम्झनुपूर्व हामीले न्यास शब्दको अर्थ बुझ्न आवश्यक छ । (निश्चयेन अस्ति (भवति) इति न्यासः) प्रतिज्ञापूर्वक वस्तुको त्याग गर्नु, स्थिर हुनु, जोडिनु, ध्यान जाग्नु, विचलित नहुनु, अच्युत हुनु आदि न्यास शब्दका अनेक अर्थ छन् ।त्यसैमा सम् उपसर्गले युक्त हुँदा सम्यक रुपेण न्यासः (त्यागः) इति सन्यासः । यस अर्थमा विधिवत रुपले ध्यान लाग्नु, सांसारिक विषयहरु तथा अनुरागबाट पूर्ण वैराग्य हुनु, विषय वासनाहरुको त्याग गर्नु नैं सन्यास हो ।

सन्यास धर्म ः ब्रह्मचारी, गृहस्थी वा वानप्रस्थीमा जब पूर्ण वैराग्य हुन्छ तव मन, वचन र शरीरद्धारा हुने सम्पूर्ण क्रियामा कर्तापनको अभिमान र धन सम्पति परिवार आदिमा रहेको ममतालाई त्याग गर्ने वृति वा धर्मलाई सन्यास धर्म भनिन्छ ।

काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः ।
सर्वकर्मफल त्यागं, प्राहुस्त्यागं विचक्षणाः । अध्याय १८/२ ।

स्त्री, पुत्र, धन र स्वर्गादी प्रियवस्तुको प्राप्तिका लागि अप्रिय वस्तुको निवृतिका लागि यज्ञ तप दान र उपासना आदि जतिपनि शुभकाम्यकर्मको त्यागलाई कुनैले सन्यास सम्झिन्छन् त कुनैले ईश्वरको भक्ति देवपूजा मातापिता, गुरुजनहरुको सेवा, यज्ञदानतप तथा वर्णाश्रम अनुसार जतिपनि शास्त्रविहित कर्म छन् तिनिहरुको अनुष्ठानबाट प्राप्त हुने स्त्री, पुत्र, धन, मान, प्रतिष्ठा र स्वर्ग सुख आदि जतिपनि
यस लोक र परलोकका भोगहरु छन् ती सबको सर्बथा त्याग गर्नु नैं समस्त कर्मफलको त्याग गर्नु सम्झिन्छन् ।

तर अवश्यमेव भोक्तव्यम् कृतम् कर्म शुभाशुभम् । यस उक्ति अनुसार कर्मको फल त भोग्नै पर्दछ र विना कर्म गरी कोहिपनि रहन सक्दैन । किनकी
न हि कश्चिद्क्षणमपि जातु तिष्ठत्य कर्मकृत् ।।
कार्येते ह्यवशः कर्म सर्व प्रकृतिजैगुणैः ।। अध्याय ३/५ ।
कुनैपनि मनुष्य कुनै समयमा पनि एकक्षण मात्र पनि विना कर्म नगरी रहन सक्दैन किनकी सम्पूर्ण मनुष्य समुदाय प्रकृति जनित गुणद्धारा परवश भएर कर्म गर्न बाध्य छ । योग शब्द ध्यान योगको वाचक हो । जुन सम्पूर्ण दुःख हरुलाई आत्यान्तिक नाश गरेर परमानन्द र परम शान्तिका समुद्ध परमेश्वरको प्राप्ति गराउने वाला हुन्छ ।
ज्ञेयः स नित्य सन्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निद्र्वन्द्वो हि महाबाहो, सुखम् बन्धात् प्रमुच्येते । ।। भ.गी. अध्याय ५/३ ।

जो पुरुष न त कसैसंग द्वेष गर्छ न त कसैसंग कुनै प्रकारको इच्छा आकांक्षा नैं गर्छ । त्यस्तो कर्मयोगी सदैव सन्यासी नैं सम्झिन योग्य छ । किनकी रागद्वेषादि द्वन्द्वहरुबाट रहित पुरुष सुखपूर्वक संसार बन्धनबाट मुक्त हुन्छ ।
किनकी अनाश्रितः कर्मफलं, कार्यं कर्म करोति यः ।
स सन्यासी च योगी च न निरग्निर्न चा क्रियः । भ.गी. अध्याय ६/१ ।
जुन व्यक्तिले कर्मफलको आश्रय नलिएर गर्न योग्य कर्म गर्छ त्यहि व्यक्ति सन्यासी तथा योगी हो । केवल अग्निको त्याग गर्नेवाला सन्यासी हुदैन । तथा केवल क्रियाको त्याग गर्ने वाला पनि योगी हुन सक्दैन ।

१) भगवान श्रीकृष्णको उक्त उपदेशमा स्त्री, पुत्र, धन, मान र यश आदि यस लोकका र स्वर्ग सुखादि परलोकका जतिपनि भोगहरु छन् ती सबैको समावेश कर्मफलमा गर्नुपर्दछ । साधारण मनुष्य जे जति कर्म गर्छ उ कुनै न कुनै कर्म फलको आश्रय लिएर गर्दछ । त्यसैले उसका कर्मले उसलाई बारम्बार जन्ममरणको चक्रमा घुमाइरहेका हुन्छन् ।अतः यस लोक र परलोकका सम्पूर्ण भोगहरुलाई अनित्य क्षणभंगुर र दुःखका कारण सम्झेर समस्त कर्महरुबाट ममता आशक्ति र फलको इच्छाको सर्वथा त्याग गर्नु नैं कर्मफलको आश्रयको त्याग गर्नु हो ।

२) आफ्नो आफ्नो वर्णाश्रमका अनुसार जतिपनि शास्त्रविहित नित्यनैमित्तिक यज्ञ, दान, तप, शरीर निर्वाह सम्बन्धी तथा लोककल्याण आदिका लागि गरिने कर्महरु शुभ कर्म हुन् । ती सबैलाई आलस्यरहित भएर आफ्नो शक्ति अनुसार कर्तव्य बुद्धिले उत्साहपूर्वक गर्नु नैं सत्कर्म गर्नु हो । यस्तो कर्मयोगी पुरुष समस्त संकल्पहरुको त्यागी हुन्छ र यथार्थ ज्ञानलाई प्राप्त गर्दछ जुन सांख्ययोग (सन्यास) र कर्मयोग दुबै निष्ठाहरुको चरम् फल हो । त्यसैले उ सन्यासित्व र यागित्व दुबै गुणले युक्त मानिन्छ ।

३) जसले अग्निको त्याग गरेर सन्यास आश्रम ग्रहण गर्यो परन्तु उ सांख्ययोगको लक्षणले युक्त छैन भने सन्यासी हुन सक्दैन । किनकी उसले केवल अग्निको त्याग गर्यो समस्त क्रियाहरुमा कर्तापनको, अभिमानको तथा ममता, आशक्ति र देहाभिमानको त्याग गरेन ।
जसले समस्त क्रियाहरुको त्याग गरी ध्यान लगाएर त बस्यो तर जसको अन्तःकरणमा ममता, अहमता, राग, द्वेष, कामना आदि दोषहरु विद्यमान छन् भने त्यो पनी वास्तवमा योगी होइन किनकी उसले केवल बाहिरी क्रियाहरुको त्याग गर्यो । ममता, आशक्ति, कामना, क्रोध, अभिमान आदि विद्यमान हुने योगी हुन सक्दैन ।

योगः सन्नहनोपाय, ध्यानं संगतियुक्तिषु (इत्यमरः) अमरकोष अनुसार योग नैं ध्यान हो । ध्यानं आत्मस्वरुपम् चिन्तनम् (गीता शांकरभाष्य) ।
यस अर्थमा प्रशान्तात्मा विगभीर्ब्रह्मचारी ब्रतेस्थितः ।
मनःसंयम्य मच्चित्तो युक्त आसीत मत्परः । भ.गी. अध्याय ६ स्लोक १४ ।

ब्रह्मचारीको ब्रतमा स्थित भयरहित तथा शान्त अन्तःकरण भएको सावधानी योगी परमात्मामा चित्त लगाई ईश्वर परायण होस् । त्यस्ता योगीले परम् शान्तिको प्राप्ति गर्दछन् । योग न त धेरै भोजन गर्नेवालालाई सिद्ध हुन्छ नत खादै नखानेलाई सिद्ध हुन्छ नत धेरै सुत्नेको नैं न त धेरै जागरण बस्नेवालाको नैं सिद्ध हुन्छ ।

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा । भ.गी. अध्याय ६/१७
दुःखको नाश गर्न योग्य योग त वर्ण र आश्रम धर्म अनुसार सत्य र न्यायद्वारा प्राप्त शास्त्रानुकुल सात्विक आहार विहार गर्ने व्यक्तिले वर्ण, आश्रम, अवस्था, स्थिति र वातावरण आदि अनुसार जसका लागि शास्त्रमा जो कर्तव्य कर्म भनिएका छन् त्यस्ता सत्कर्म गर्ने वाला र दिनमा जाग्रित रहने रातमा शयन गर्ने अथवा यथायोग्य शयन र जागरण गर्ने व्यक्तिको नैं योग सिद्ध हुन्छ ।
मत्स्य पुराण अन्तर्गत कर्मयोगको बारेमा सुतजी भन्नुहुन्छ ः

कर्म योगम् विना ज्ञानम् कस्यचिन्नेह दृश्यते ।
श्रुतिस्मृत्युदितम् धर्ममुपतिष्ठेत् प्रयत्नतः । १२ ।

कर्मयोग नैं ज्ञान योगको साधन हो । जगत्मा कर्मयोग विना कसैलाई ज्ञान (सन्यास) को प्राप्ति भएको देखिदैन । त्यसैले श्रुतिहरु र स्मृतिहरुद्वारा वर्णन गरिएको धर्मलाई प्रयत्नपूर्वक पालन गर्नुपर्दछ ।
कर्म योगको अभ्यासमा संलग्न मनुष्य अविनाशी तत्वलाई प्राप्त गर्दछ । सम्पूर्ण वेद र वेदज्ञहरुको आचार विचार नैं धर्मको मूल हो । त्यसमा आठ प्रकारका आत्मगुण प्रधानरुपले विद्यमान छन् । जस्तै, समस्त प्राणीहरुमा दया, क्षमा, दुःखबाट पिडित प्राणीलाई आश्वासन दिनु र त्यसको रक्षागर्नु जगत्मा कसैसंग इष्र्या, द्वेष नगर्नु । बाह्य एवम् आन्तरिक पवित्रता, आफूद्वारा आर्जित धनद्वारा दीनदुःखीहरुको सेवा गर्ने समयमा लोभीपन नदेखाउनु । अरुको धन र परस्त्री माथि सदैव निस्पृह रहनु नैं मुक्तिका परम् साधनहरु हुन् ।

यं सन्यास मिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्त संकल्पो योगी भवति कश्चन ।।भ.गी.अध्याय ६/२ ।

शरीर इन्द्रिय र मनद्वारा हुने सम्पूर्ण क्रियाहरुमा कर्तापनको भाव मेटाएर केवल परमात्मामा मात्र अभिन्न भागले हुनु सन्यास हो । यहि सांख्ययोगको पराकाष्ठा हो । ममता, आशक्ति र कामनाको त्यागद्वारा हुने कर्मयोगको पराकाष्ठा रुप सिद्धि नैं योग हो । सन्यासी र कर्मयोगी एउटै परमात्मालाई प्राप्त गर्दछन् । दुबैमा संकल्पको सर्वथा अभाव हुन्छ जसले संकल्पको त्याग गर्न सक्दैन । त्यो सन्यासी वा कर्मयोगी केहि बन्न सक्दैन ।
सन्यासी ः सन्यास धर्म लिएर सन्यास आश्रममा बस्ने पुरुष ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ पछि मोक्षको इच्छाले ज्ञानी वा वैरागी पुरुष आदिले ग्रहण गरेका व्यक्तिलाई सन्यासी भनिन्छ । अथवा प्राणान्तको समयमा भएको व्यक्तिलाई दिने सन्यासलाई आतुर सन्यास भनिन्छ ।
मनुस्मृतिमा सन्यासीहरुका लक्षण वर्णन गर्दै महाराज मनु भन्नुहुन्छ ः

क्रुद्ध्यान्तम् न प्रतिक्रुध्येदाक्रुष्टः कुशलम् वदेत् ।
सप्तद्वारावकीर्णां च न वाचं अनृतां वदेत् । ६।४८

यदि कोही व्यक्ति सन्यासी माथि क्रोध गर्छ भनेपनि सन्यासीले त्यस व्यक्तिमाथि क्रोधगर्नु हुँदैन । यदि कसैले सन्यासीको निन्दा गर्छ भने पनि सन्यासीले आफ्ना उत्तम शब्दहरुद्वारा त्यो व्यक्तिलाई प्रसन्न गर्नुपर्दछ । पञ्च ज्ञानेन्द्रिय र मन तथा बुद्धि यी सातले जुन बस्तु ग्रहण गरिएको छ त्यसकै विषयमा वाणीले वर्णन गर्नुपर्दछ । अरु इन्द्रिय सम्बन्धी बस्तुको विषयमा चुप रहनु पर्दछ । वार्तालाभ गर्नुपरे पनि ब्रह्मवाणीमा वार्तालाभ गर्नुपर्दछ । अपमानजनक वचनहरुलाई सहन गरेर कहिलेपनि कसैकोपनि अपमान गर्नु हुँदैन । यो शरीररुपी आश्रम लिएर आफ्नो मन, वाणी र कर्मले कसैप्रति वैरभाव राख्नु हुँदैन ।

मनु भन्नुहुन्छ सन्यासी अर्थात् मुक्त भाव भएको मुनिको लक्षण के हो भने भिक्षार्थ माटोको भाडो राखोस् बृक्षको फेदमा निवास गरोस् यस्तो बस्त्र लगाओस् कसैको कार्यमा यज्ञ नहोस् कसैको सहायताको इच्छा नराखोस् तथा सम्पूर्ण जीवहरुमा एउटै परमात्माको स्वरुप दर्शन गरोस् । पुनःसन्यासीको बारेमा महाराज मनु भन्नुहुन्छ आफ्नो आत्मा र परमात्मामा स्थिर, अपेक्षारहित, मद्यमांसादिवर्जित भएर आत्माको नैं सहायताले सुखार्थी भएर यो संसारमा धर्म र विद्यालाई बृद्धि गर्नका लागि सदैव विचरण गर्नुपर्दछ । साना ठूला प्राणी अप्राणीहरुमा जुन अशुद्ध आत्माहरुले दर्शन गर्न योग्य छैनन् त्यस्ता अन्तर्यामी परमात्माको गति अर्थात् प्राप्तिलाई ध्यान योगले सन्यासीहरुले निरन्तर हेर्ने प्रयास गर्नुपर्दछ ।
धर्मसिन्धु र निर्णयसिन्धुमा ४ प्रकारका सन्यासीहरुको वर्णन गरिएको पाइन्छ । ती हुन् ।

१) कुटीचक्र (कुटीचर)
२) बहूदक
३) हंस
४) परमहंस

१) कुटीचक्र (कुटीचर) ः ४ थरी सन्यासी मध्ये एक, बाहिर कुटी बनाई वा घरैमा गेरुवा बस्त्र पहिरेर त्रिदण्डलिई शिखा जनै राखेर नातागोतामा वा घरैमा भोजन गरेर आत्मामा चित्त लगाएर बस्ने सन्यासी अथवा ज्यादै अशक्त अवस्थामा छोराहरुबाट कुटी बनाउन लगाएर कुटीमा वा घरैमा गेरुवा वस्त्र पहिरिई शिखा, जनै र त्रिदण्ड राखी आत्मचिन्तन गर्ने सन्यासीलाई कुटीचक्र सन्यासी भनिन्छ ।
बहिःकट्यां गृहे वा वसन्काषायवासास्त्रिदण्डी शिखा यज्ञोपवीतवान् बन्धुषु गृहेषु वा भुञ्जान आत्मनिष्ठो भवेत्सः कुटीचक्रः । पुत्रादिना कटीं कारयित्वा तत्र गृहे वा वसन् काषायवासाः शिखोपवीत त्रिदण्डान् धृत्वा बन्धुषु स्वगृहे वा भुञ्जान आत्मज्ञो भवेत एतदत्यन्ताशक्तपरम् । (धर्मसिन्धु) ।
२) बहूदक ः घरपरिवार छोडी सात घरमा भिक्षा मागी गेरुवाबस्त्र पहिरेर शिखा जनै राखी त्रिदण्ड धारण गरी आत्म चिन्तन गर्ने सन्यासीलाई बहूदक सन्यासी भनिन्छ । द्वितीयस्तु बन्धुन हित्वा सप्तगाराणी भैक्षं चरन् पूर्वोक्त वेषः स्यात् (धर्मसिन्धु)
३) हंस ः गेरुवा वस्त्र पहिरी शिखा जनै, एकदण्ड र किरा धपाउने रुमाल मात्र लिई बहूदक सन्यासीले झैं बस्ने सन्यासीलाई बहूदक सन्यासी भनिन्छ ।
हंसस्तु पूर्वोक्तवेषोऽप्येकदण्डः (धर्मसिन्धु)
यज्ञापवीतं दण्डं च वस्त्रं जन्तु निवारणम् ।
तावान्परिग्रहः प्रोक्तो नान्यो हंसपरिग्रहः (निर्णयसिन्धु)
४) परमहंस ः ज्ञानको पराकाष्ठामा पुगेको अर्थात पूर्णज्ञान प्राप्त हुनाले सबैभन्दा उच्च अवस्थामा रहेको दण्डी सन्यासी जसले शिखा, जनै त्यागेर एकदण्ड मात्र लिने गर्दछन् वा दण्ड, शिखा र वस्त्र पनि त्यागेर भ्रमण गर्दछन् तिनलाई परंहंस सन्यासी भनिन्छ । हंस र परंहंसका शिखा र जनै राख्ने वा नराख्ने दुई भेद छन् ।
परंहंसस्तु त शिखा यज्ञोपवीतहीन एकदण्डी स्यात् ।
नदण्डं न शिखां नाच्छादनं चरती परंहंसः ।
हंस परमहंसयोः शिखा सत्वाभ्यां भेदः । (धर्मसिन्धु)

शास्त्रमा तुरीयातीत र अवधूत सन्यासीहरुको वर्णन यसप्रकार गरियको छ।।

५. तुरियातीत —
शिखा-सूत्र,दण्ड , कमण्डलु ,कौपीन , कंथा , वल्कल सबै वस्तुको त्याग गरेर , गोमुखी अर्थात् गाईलाई जे खुवाइन्छ त्यही खाने , केवल तीन घरबाट भिक्षा माँगी , कैवल्यमोक्षको कामना गर्ने सन्यासीलाई तुरीयातीत सन्यासी भनिन्छ।

६ . अवधूत —
अवधूत र तुरियातीतमा कुनै भेद हुदैन दुबै दिगम्बर संन्यासी हुन , अवधूत सन्यासी गोमुखी नभएर अजिंगरवृत्तिलाई अपनाउँछन, दैवयोग जे प्राप्त हुन्छ सन्तुष्ट भई त्यसलाई ग्रहण गर्दछन ।

संन्यासीलाई सर्व सामर्थ्यवान हुदाहुदै पनि सदैव नपुंसक ,अजिह्व , षण्डक ,पंगु ,बधिर र मुग्ध हुने प्रयास गर्नु पर्दछ ।

नपुंसक –
जसले नवजात कन्या , षोडशी युवती र शत वर्षीय वृद्धामा समान बुद्धि राखी ,कुनै पनि प्रकारको राग उत्पन्न गर्दैन , त्यसलाई नपुंसक भनिन्छ ।

अजिह्व –
जसले स्वाद-अस्वादलाई न हेरी सन्तुष्ट भई भोजन ग्रहण गर्छ , त्यसलाई अजिह्व भनिन्छ ।

पंगु –
जसले केवल भिक्षार्थ अथवा मल मूत्र त्याग गर्नकालागि मात्र भ्रमण गर्दछ तथा एक दिनमा एक योजन भन्दा धेरै हिड्दैन त्यसलाई पंगु भनिन्छ ।

अंध –
जसले हिड्दा या उभिदा दश हात भूमिभन्दा धेरै दृष्टिपात गर्दैन त्यसलाई नै अंध भनिन्छ ।

बधिर –
स्तुति निंदा सुनेर पनि जो समान रहेर विचलित हुदैन त्यसलाई बधिर भनिन्छ ।

मुग्ध –
विषयहरुको समीपता भएर , शरीरमा सामर्थ्य र इन्द्रियहरु स्वस्थ हुदाहुदै पनि ती विषयहरुप्रति आकृष्ट नहुने पुरुषलाई मुग्ध भनिन्छ ।

परिव्राजकलाई आफ्नो शिखा-सूत्र,दण्ड , कमण्डल , कंथा आदि समस्त वस्तुहरुलाई जलमा विसर्जित गर्नुपर्दछ। वृक्षको फेद नै संन्यासीको घर हो , कौपीन नै वस्त्र हो , ब्रह्मज्ञान नै शिखा-सूत्र हो , सन्यासीले वर्षा ऋतूका चार महिना छोडी अन्य आठ महिना सम्म कहिले पनि एक स्थानमा रूक़्नु हुदैन , गोदोहनको समय जति मात्र कुनै गाऊंमा रहनु पर्दछ । गृहस्थको भान्साको अग्नि निभेर सबैले भोजन गरिसकेको समयमा मात्र केवल एक चोटी भिक्षा माग्नु पर्दछ।जुन घरबाट अर्को संन्यासीले भिक्षा लिएको भये त्यो घरमा पुनः भिक्षा माग्नु हुदैन । संन्यासीलाई शीत-उष्ण को भीषण यातना आफ्नो खुला शरीर माथि नै सहन गर्नु पर्दछ , उसले कुनै घर या वस्त्रको आश्रय लिनुहुदैन । संन्यासीका लागि मञ्च (कुर्सी आदि) , स्वेतवस्त्र , स्त्रीचर्चा , इन्द्रियलोलुपता , दिनमा शयन र सवारीमाथि यात्रा यी छः दोष पातक रूप हुन, यिनीहरुबाट सदैव अलग रहने प्रयत्न गर्नु पर्दछ , सर्वत्र एक्लै पैदल नै विचरण गर्नु पर्दछ । संन्यासीका लागि घिउ कुकुरेको मूत्र समान , मह मदिरा समान , तेल सुंगुरको मूत्र समान , लसुन -मासको दाल -मालपुआ गोमांस समान , दूध मूत्र समान भनिएको छ। त्यसैले यी सब न खाई केवल मधुकरी भोजन ग्रहण गर्नु पर्दछ । चन्द्रायण व्रत द्वारा तपस्या गर्दै निरन्तर ब्रह्मको नै चिंतन गर्नु पर्दछ ।

यस भीषण कलिकालमा ज्ञान संन्यासको पालन गर्नु असम्भव जस्तै प्रतीत हुन्छ ।

मूलं तरोः केवलमाश्रयन्त: पाणिद्वये भोक्तुममत्रयन्तः ।
कन्थामपि स्त्रीमिव कुत्सयन्तः कौपीनवन्त: खलु भाग्यवन्त: !!

अलकापुरीको सानो यात्राको सहयात्रीले मुनेरेकान्तजीविनःको सद्भावलाई शिवपुरी पर्वतको यात्रामा सांसारिक समस्त सम्बन्धहरुको त्याग गरेर सद्गुरुको उपदेशबाट दिक्षित भई आजबाट भू(सन्यस्तं मया, भूवः सन्यस्तं मया, स्वः सन्यस्तं मया भनि ग्रहण गरेको सन्यासलार्ई कर्मयोग र सांख्ययोगको सम्यक् समन्वय गर्दा सन्यासी हुन अझै परीक्षणकालमै भएको अनुभूत भयो र यस यात्राका सहयात्री निरञ्जन पाण्डेय प्रश्नकर्ता निज आत्मस्वरुप अलकापुरबासी बन्धु र मनभित्र सन्यास धर्मको मूल मर्मलाई प्रकाशित गर्ने पूज्यपाद गोविन्दानन्द भारती (शिवपुरी बाबा) ज्यूका श्रीचरणमा वन्दन गर्दै अविद्या, अस्मिता, रागद्वेष आदिबाट मुक्त भई निज आत्ममा सदैव रमण गर्न सकुँ र लोकाः समस्ता सुखिनो भवन्तुको सद्भाव जागृत होस् भन्दै सबै सन्यस्त होउन् यहि कामना ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *