एकीकृत काँडाघारी सेवा समाजद्धारा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

२३ जेष्ठ २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ काँडाघारीमा रहेको एकीकृत काँडाघारी सेवा समाजले विश्व वातावरण दिवसको अवसरमा आज काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष डोलनाथ पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहत बितरणमा सक्रिय भएर कार्य गरिरहेको बताउदै नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने गरी कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, वडा सदस्यहरु डोलनाथ पोखरेल र रामहरी गौतम, नगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मी कोइराला, ९ नं. वडा महिला सञ्जालका अध्यक्ष भागिरथी पन्त सेडाई लगायत जनप्रतिनिधिहरु, समाजका सदस्यहरु र टोलबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
एकीकृत काँडाघारी सेवा समाजले बिगत ४ बर्षदेखि स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने नारालाई साकार पार्न विश्व वातावरणको दिवसको दिनमा नगर प्रमुख, वडा अध्यक्ष, विभिन्न टोल सुधार समाजका सदस्यहरु र टोलवासीहरुको उपस्थितिमा बृक्षारोपण कार्यक्रम गर्दै आएको एकीकृत काँडाघारी सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेलले जानकारी दिनुभएको छ ।