राष्ट्र राष्ट्रीयता र सर्वधर्मसमभाव का प्रतीक भगवान पशुपतिनाथ

राष्ट्र, राष्ट्रियता र सर्वधर्मसमभावका प्रतीक भगवान् श्रीपशुपतिनाथ।

– प्राज्ञ डा. जगमान गुरुङ।

१. शैवमतको ऐतिहासिक पृष्ठभूमि

शैवमतको विषयमा विस्तृत अध्ययन गर्नुभएका भारतीय विद्वान् डा. यदुवंशीका अनुसार ऋग्वेदको रचनाकाल पछि यजुर्वेदको रचना हुनुभन्दा अघिको अन्तरालमा वैदिक रुद्रसंग हिमालयको उपत्यका र निम्न पर्वतश्रेणीमा बसोबास गर्ने जनजातिहरूद्वारा पूजित एउटा आर्येतर देवताको आत्मसात् भई त्यसको परवर्ति विकासको रूपमा शैवमतको विकास भएको हो (यदुवंशी, १९८८:१५) । नेपाली विद्वान प्रा.डा. जगदीशचन्द्र रेग्मीका अनुसार हिमालयको उक्त उपत्यका काठमाडौँ उपत्यका हो र ती जनजातिहरू यहाँका किरातहरू हुन् (रेग्मी, २०३०: १–३) । यसरी आर्य तथा आर्येतर धर्म र संस्कृतिको समन्वयबाट शैवमतको विकास भएको पाइन्छ । नेपालको पौराणिक इतिहास र अहिलेसम्म नेपालमा विद्यमान सांस्कृतिक परम्परा तथा प्रचलनले पनि यही कुराको पुष्टि गर्दछ।

सवितृ, सवितु अथवा सविता आदिदेव तथा सृष्टिका मूल स्रोत हुन् (स्वामी, २०२४:१७०)। वास्तवमा भर्गोदेव अर्थात् त्यो भर्भराउँदो सौर्यशक्ति नै सविता हुन्, किनभने सौर्यशक्तिबाट सृष्टि प्रारम्भ हुन्छ र सौर्यशक्तिबाट नै सृष्टिले उर्जा प्राप्त गर्दछ । हिमालय पर्वत शिवालय हो। विश्वको सर्वोच्च हिमशिखर सगरमाथा नेपालमा अवस्थित छ। अत: विश्वमा घामको पहिलो झुल्को नेपालमा लाग्दछ र नेपालबाट नै सृष्टिको शुभारम्भ हुन्छ। नेपालको गौरीशङ्कर हिमाल शिवपार्वतीका प्रतीक हुन् भने माछापुच्छ्रे हिमाल चाहिँ नरनारायणका प्रतीकभूत हुन्। यसैगरी नीलगिरि हिमाल काकभुशुण्डिका निवास हुन्। पं.काशीराम सूरिले गण्डकी माहात्म्यमा माछापुच्छ्रे हिमालको यसरी वर्णन गरेका छन्–

नगो मत्स्यगिरिर्नाम हिमवान् मत्स्यश्रृङ्गक ।
तस्य शीर्षे स्थितौ देवौ नरनारायणाभिधौ ।।
– (अधिकारी, २०५५: १२३) ।
(माछाको पुच्छरजस्तो आकारको टाकुरा भएको माछापुच्छ्रे नाम गरेको हिमालयपर्वत छ, त्यस (पर्वत)को शिरमा भगवान नर र नारायण (तपस्याका लागि) बस्नु भएको थियो।)

यसरी हिमालय पर्वतको गरिमा र महत्त्व भएको हुदाँ संस्कृतका महाकवि कालिदासले आफ्नो सुप्रसिद्ध कृति कुमारसम्भवमा प्राचीन भारतवर्षको उत्तर दिशामा देवतास्वरूपले रहेका हिमालयहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन्–
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराज : ।
(उत्तरको दिशामा देवता स्वरूप हिमालय नामक पर्वतराज अवस्थित छन्।)

कुमारसम्भव सृष्टिको शुभारम्भको सङ्केत हो र कुमारसम्भवको थलो नेपाल हो। काठमाडौँको कङ्केश्वरी र नघलमा ईस्वी पाँचौ–छैटौं शताब्दी ताका उत्कीर्ण गरिएका कुमारसम्भव फलकहरू पाइएका छन्। यस्ता अनुपम प्राचीन कलाकृतिहरू विश्वमा अन्त पाइएका छैनन्। अत: नेपाल पार्वतीले रचना गरेको शिवको देश, बुद्धको जन्मभूमि र ऋषि मुनिहरूको साधना स्थल हो। त्यसकारण हिमवत्खण्डपुराणमा नेपालभूमिको माहात्म्य यसरी वर्णन गरिएको छ–
कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती ।
द्वापरे मुक्तिसोपाना कलौ नैपालिकापुरी ।।
– (योगी, २०१३: सं: ने:) ।
(सत्ययुगमा सत्यवती, त्रेतायुगमा चाहिँ तपोवती, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपालिकापुरी (नेपाल) जान्नू।)

…क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *