नेपाल नगरपालिका संघको सातौं साधारण सभा सम्पन्न

२६ मंसिर २०७७ ।
नेपालका २ सय ९३ वटै नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघ बि.सं. २०५० सालमा स्थापना गरिएको हो ।संघले स्थापना कालदेखि नैं नगरपालिकाहरुको साझा हक हितका लागि नितीगत वहस, पैरवी,संजालिकरणगर्दै क्षमता विकासको क्षेत्रमा समेत अनवरत सहयोग गर्दै आएको छ । बर्तमान संविधानमा स्थानीय सरकारका २२ वटा एकल अधिकारसुनिश्चित हुनुमा नेपाल नगरपालिका संघको विशेष भुमिका रहेको थियो भने प्राप्त अधिकारको रक्षा र अभ्यास गर्न नगरपालिकाहरुलाई हरसम्भव सहयोग गरिरहेको छ ।
लामो अन्तराल पछी २०७४ सालमा भएको स्थानीय निर्वाचन सँगै गठन भएको नेपाल नगरपालिका संघको वर्तमान कार्य समितिले आफ्नो ५ बर्षे रणनीतिक कार्य योजना अनुसार संघीयताको मर्म र भावना अनुरुप ६ वटा कार्यक्षेत्रमा रहि नगरपालिदकाहरुलाई सवल र सम्बृद्ध बनाउने अभियानमा लागको छ ।

यसै क्रममा यहि मिति २०७७ साल मंसिर २३ गते संघको सातौं राष्ट्रिय अधिवेशन संघीय अर्थ मन्त्री विष्णु पौडेलज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । संघका अध्यक्ष र सिमित सदस्यहरु संघको कार्यालयमा उपस्थित भई अन्य सदस्य नगर प्रमुख र उपप्रमुख लगायत अतिथिहरु भर्चुअल माध्यमबाट सहभागि भई अधिवेशन तथा साधारण सभा सम्पन्न भएको थियो ।

उद्घकाटन सत्रमा संघका महासचिव भिम प्रसाद ढुंगानाले सबैलाई स्वागत गर्दै नगरपालिकाका ज्वलन्त समस्या बारे प्रकाश पार्नुहुदै संघीय सरकारले स्थानीय सरकारहरुलाई प्राप्त अधिकारहरु कटौती गरेमा संघीयता कान्र्यान्वयन हुन नसक्ने बताउनु भएको थियो ।

यसैगरि कार्यक्रम संचालक संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले हाल नेपाल नगरपालिका संघको बढ्दो कार्यक्षेत्रलाई दृष्टिगत गर्दा नेपाल सरकारबाट अनुदान दिन अर्थ मन्त्री समक्ष अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संघीय अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आफ्नो शुभकामना मन्तब्यमा अर्थ मन्त्रालय नेपाल नगरपालिका संघसँग सहकार्य गर्न तयार रहेको र आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनु भएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफु लामो समय नेपाल नगरपालिका संघको अध्यक्षको रुपमा नेतृत्व गरेको र संघले महत्वपूर्ण उपलब्धी हासिल गरेर यहाँ सम्म आइपुगेकोमा खुशी व्यक्त गर्नुहुदै नगरपालिका संघ संग सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै नगरपालिका संघले नगरपालिकाहरुका निमित्त महत्वपूर्ण काम गर्न सक्ने बताउनु भएको थियो ।
अधिवेशनमा नेपाल नगरपालिका संघका अन्तरर्राष्ट्रिय साझेदार United Cities and Local Government Asia Pacific का महासचिव डा.बर्नाडीया चन्द्रादेवी र श्रीलङ्काका स्थानीय सरकार महासंघका प्रमुख कार्यकारी हेमन्ती गुनसेकराले समेत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारलाई बलियो र साधन स्रोत सम्पन्न बनाउनुपर्ने बताउदै उद्घाटन सत्रको समापन गर्नु भएको थियो ।
दोस्रो सत्रमा प्रगती प्रतिवेदन तथा मन्त्रीपरिषद्बाट पारित भएको संघको संशोधित विधान २०७७ संगै संघको कर्मचारी प्रशासन र आर्थिक प्रशासन नियमावलीको अनुमोदन पनि गरिएको थियो ।
अधिवेशनले नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रस्तुत गर्नुभएको शहरी निती, शुसासन तथा नेतृत्व विकास प्रतिष्ठानको अवधारणा समेत छलफल गरी पारित गरेको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभएको छ ।
छलफलको क्रममा सहभागी महाकाली नगरपालिका दार्चुलाका नगर प्रमुख हंशराज भट्ट र संघका महिला विभाग संयोजक राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले पनि आफ्नो जिज्ञासा र भनाई राख्नु भएको थियो ।
राष्ट्रिय अधिवेशनमा संघका सदस्य बाहेक प्रदेश तथा केन्द्रीय कार्यालयका कर्मचारीहरु, GIZ, USAID, THe ASIA FOUNDATION, UNDP, ENPHO, बिल एण्ड मेलिण्डा फाउण्डेशन लगायत साझेदार संस्था र मिडियाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अन्तमा २३ बुँदे काठमाडौं घाषणा पत्र जारी गर्दै संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले ले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
नेपाल नगरपालिका संघले संघीयताको कार्यान्वयन सँगै अझ त्रियाशिल रहेर प्रदेश कार्यालयहरु र प्रदेश अध्ययन केन्द्रहरु मार्फत् नमुना कानुन निर्माण, विविध प्राविधिक सेवा, सफल कार्यको अनुभव आदान—प्रदान जस्ता क्रियाकलापहरु गरिरहेको छ ।संघ, प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा सहकारिता र समन्वयका लागि अन्तर सरकार संवाद, शहरी नीति तथा नमूना परियोजनाहरु, शहरी सरसफाई परियोजना लगायत विविध परियोजनाहरु संचालन भैरहेका छन् ।
यसैगरी संघले नेपाल सरकारका मन्त्रालयहरु, राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोग एवम् प्रदेश सरकारहरुसंगको सहकार्यमा समेत शहरी पूर्वाधार विकास, अन्तर सरकार बित्त व्यवस्थापन र शहरी वातावरण लगायतका विविध क्षेत्रहरुमा महत्वपूर्ण कार्यहरु गर्दै आइरहेको छ । संघले संघीयताको सहि कार्यान्वयनका लागि सयौं बाझिएका ऐनहरुको संशोधन, खारेजी वा नयाँ निर्माणका लागि संसदीय समितिहरु लगायत सरोकारवालाहरुसंग आवश्यक समन्वय, पैरवी र संवाद गरिरहेको छ । आगामी दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्दै सम्पूर्ण सदस्य नगरपालिकाहरुको एक मात्र प्रतिनिधिमूलक संस्थाको रुपमा नगरपालिकाहरुको साझा आवाज मुखरित गर्न नगरपालिका संघ कटिबद्ध रहेको छ ।