नेपाल आर्य समाजको स्थापना दिवस सम्पन्न, आगामी २५ देखि २८ अक्टुवरमा भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय आर्य महासम्मेलन आयोजना गरिने

असार १६, काठमाडौं । नेपाल आर्य समाजको स्थापना दिवसको अवसरमा आज काठमाडौैंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । समाजको स्थापना दिवसको अवसरमा आज काठमाडौंमा “सामाजिक जागरण अभियान महायज्ञ ” विषयक कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको कमलपोखरीस्थित माहेश्वरी सदनमा भएको कार्यक्रममा भारतको राजस्थान सिकरका लोकसभा सांसद स्वामी सुमेदानन्द सरस्वतीले नेपाल आर्य समाज विश्वमा अमर शहीद शुक्रराज शास्त्रीले देश प्रति बलिदान गरेको संस्थाको रुपमा परिचित रहेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै सार्वदेशिक आर्य प्रतिनिधिसभाका(International Aryan League)का अध्यक्ष सुरेश आर्यले नेपालमा आर्य समाजको लामो इतिहास रहेको बताउँदै सार्वदेशिक आर्य प्रतिनिधिसभाको अध्यक्षको नाताले आगामी कार्तिक ८ देखि ११ गते (२५ देखि २८ अक्टोबरसम्म) भारतको राजधानी नयाँ दिल्लीको रोहिणी, सेक्टर १० मा हुन लागेको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन २०१८ मा नेपालबाट बढी भन्दा बढी सहभागिताको लागि अनुरोध गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै दिल्ली आर्य प्रतिनिधिसभाका महामन्त्री विनय आर्यले जीवनमा यज्ञको महिमा बारे प्रकाश पार्दै नेपाल आर्य समाजका संस्थापक पण्डित माधवराज जोशीले आफनो छोरा अमर शहीद शुक्रराज शास्त्रीलाई कुनै व्यापार व्यवसायमा नलगाई सामाजिक अभियन्ताको लागि अघि सारेको र नेपालमा एक सय ४ वर्षको निरंकुश जहाँनियाँ राणा शासनको अन्त्य गर्न अमीर शहीद शुक्रराज शास्त्रीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको थियो ।


कार्यक्रममा बागमती मोडर्न कलेजमा संस्थापक प्रिन्सिपल डा.सुरेन्द सिटौला र नेपाल आर्य समाजका उपाध्यक्ष रेनु उप्रेतीले नेपालमा आर्य समाजको योगदान र गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

नेपाल आर्य समाजका अध्यक्ष कमला कान्त आत्रेयको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन आर्य समाजका महासचिव डा.माधव प्रसाद उपाध्याय, र आर्य समाजका भजन कलाकार पवित्रा उप्रेती, राधा उप्रेती लगायतले आर्य भजन प्रस्तुत गरेका थिए । ।
नेपाल आर्य समाजको स्थापना वि.स. १९५३ असार १५ अमर शहिद शुक्रराज शास्त्रीका पिता पण्डित माधवराज जोशीले डम्बरजंग राणाको अध्यक्षमा पोखरामा समाजको स्थापना गर्नुभएको थियो ।

नेपाल आर्य समाजका संस्थापक पण्डित माधवराज जोशीका तिनै वीर सपुत शुक्रराज शास्त्रीलाई तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरको सरकारले राणा शासन विरुद्ध जनतामा जागरण फैलाएको तथा वेद र गीताको सन्देश जनमानसमा पुर्याएको आरोप लगाई वि. सं. १९९७ साल माघ १० गते काठमाडौंको टेकु पचलिस्थित खरीको बोटमा झुण्डाई मृत्युदण्ड दिएको थियो ।