मनोविज्ञानपरक धारणा

२४ जेठ २०७८ ।
डा.गणेशरज अधिकारी ।

लाग्छ, मान्छे सामाजिक प्राणी हो । समाजलाई ऊ आफ्नो घर सम्झन्छ । हाम्रो घर भन्नु नै हाम्रो समाज हो भन्ने धारणा मान्छेले बनाएको छ । हाम्रो चेतना र विवेकले पनि यही भन्छ । हाम्रो सोच र दृष्टिकोणमा पनि समाज यही हो जुन हाम्रो वासस्थलको केन्द्र हो । हाम्रो जीवन, हाम्रो जीवनशैली तर यी सब पक्षमा हामी कहाँनेर छौँ ? सोच वा चेतनाका दृष्टिले हाम्रो सामाजिक धरातल कस्तो छ ? के यी सामान्य तर गहन तमाम पक्षमा हामीले सोचेका छौँ ? सामाजिक ठानिएका हामीहरुको मनोविज्ञान के सामाजिक र सकारात्मक छ ? अनि हाम्रो धारणा पनि के त्यस्तै नै छ त ? हामी गुण र दोषका आधारमा भेद पर्गेल्छौँ कि आँधो भएर लाग्छौँ । यो आजको हाम्रो सरोकारको टड्कारो अहम् सवाल हो ।
हामी सामाजिक प्राणी हौँ ? अँ हौँ । हामीमा सामाजिक चेत छ ? अँ छ । हो, हामी सामाजिक प्राणी हौँ । हामीमा जरुर सामाजिकता छ । सामाजिक सोच छ । सोचसँगै धारणा पनि छ । अझ भनौँ सबैको आआफ्नो धारणा छ । धारणा के कस्तो छ ? त्यो अध्ययन अनुसन्धानको पृथक् विषय छँदै छ । समय र सन्दर्भले त्यसलाई व्याख्या गद्रै जाला । मनोचेतनासँग तादात्म्यता गराउँदा त्यसले आफ्नो अर्थ लगाउला नै । सन्दर्भगत प्रयोग फरक होला त्यो भने फरक पाटो भो ।
एउटा साधारण मान्छेको सामान्य मनोविज्ञानमा के होला ? सकारात्मक भएर सामाजिक रुपमा समाजमा प्रस्तुत हुने सकारात्मक सोच उसमा आउला ? सामाजिक व्यवहार प्रदर्शन गर्दै असल व्यक्तिका रुपमा आफूलाई उभ्याउन सक्ला ? सामान्यत ः एउटा व्यक्तिको मनोविज्ञानले सोच्ने र परिकल्पना गर्ने विषय यही हो भन्ने लाग्छ । तर असाधारण योग्यता र क्षमता भएको व्यक्ति हो भने उसमा नितान्त फरक चेतना सल्बलाइ रहेको वा प्रवाहित भइरहेको हुन सक्छ । अत ः त्यस अवस्थामा उसको बुझाइ र धारणा पनि फरक पर्न सक्छ । समय, परिवेश, स्थान वा अवस्था फरक पर्नासाथ उसको मनोचेतनाको अवस्था, तह र स्तरसमेत फरक पर्न सक्छ । अत ः उसका बुझाइको वैयक्तिक धारणा पनि त्यस्तै रहन्छ । अझ उसलाई त्यस्तै सामाजिक परिवेश वा सामाजिक मनोविज्ञानको जगमा लगेर खडा गरिदिन्छ ।
एउटा किसानका नजरमा उसको मनोविज्ञानपरक चेतना के वा कस्तो होला ? उत्तर वैषयिक भनेर प्राकृतिक किसिमले आउला । समय, वातावरण, मौसमजस्ता विषय सहज रुपमा उठ्लान् । बाली लगाउने र उठाउने बेला वा समयको सन्दर्भ उठ्ला । जात विशेषको बाली आदिआदि । कसरी लगाउने प्रश्नमा सायद अल्मल नहोला । अधिकतम उत्पादन गर्ने लक्ष्य त छँदै छ । परिवारलाई कसरी आत्मनिर्भर गराउने ? आफ्नो स्थिति कसरी मजबुत बनाउने ? समाजका अरु सदस्यलाई कसरी अधिकतम सहयोग गर्ने ? कर्तव्यनिष्ठ एउटा किसानले यही चेतनालाई आफ्नो पहिचान बनाएको हुन्छ । परिश्रम गरेर आफु बाँच्ने र अरुलाई पनि बचाउने दिव्य सपना हुन्छ । यसको मनोविज्ञानपरक चेतनाले यही बाँच्ने र बचाउने विषयलाई आफ्नो धर्म ठानेको हुन्छ । उसका लागि यही धर्म हो र उसको मनोविज्ञानपरक धारणा पनि हो ।

एउटा पेसाकर्मीको चेत के होला ? अझ पेसालाई आधार बनाएर हेर्दा उसमा कस्तो मनोविज्ञानपरक धारणा रहला ? निश्चय नै ऊ आफ्नो पेसाबाट आनन्द र सन्तुष्टि मिलोस् भन्ने चाहाना राख्छ । सायद हामी पनि त्यही ठान्थ्यौँ कि ? पेसाबाट सन्तुष्टि लिने भनेको सेवाग्राहीको चित्त बुझाउने भनेको हुनुपर्छ । एउटा पे्साकर्मीको अभीष्ट भनेको पनि यही नै हो । यो कुरा गफ वा मजाक मात्र होइन , यथार्थसमेत हो । हरेक जो कोही पेसाकर्मीको सोच, चिन्तन र दृष्टिकोण तत्तत् सेवामा समर्पित रहने नै हो । यसमै ऊ चरम आनन्दको अनुभूति पनि गर्दछ । पेसाकर्मीको मनोविज्ञानपरक चेतना पेसाबमोजिमको कार्यमा निवृत्त रहनु नै हो । यही नै यसको धर्म हो र सेवारुपी यही धर्म नै उसले बनाउने धारणा हो ।
एउटा स्वास्थ्यकर्मीको मनोविज्ञानपरक चेतना के होला ? उत्तर हुन सक्छ, स्वास्थ्य सेवा दिएर कसरी विरामी ठिक पार्ने ? आदर्श मानव सेवाको उदाहरण कसरी बन्ने ?अझ भनौँ स्वास्थ्य सेवाको प्रतिमूर्ति फ्लोरेन्स बन्ने वा यस्तै यस्तै सोचहरु रहन सक्लान् । अझ अहिले त झन् महामारीको चपेटामा परेका नागरिकहरुको स्वास्थ्यमा ध्यान दिन र निगरानी राख्नमा त अझ झन् बढी भूमिका रहेको ठान्दछ । यही मानवीय कर्तव्य निर्वाह गर्नु नै उसको धर्म हो । यही धर्म गर्ने सोच नै उसमा धारणा भएर आएको हुन्छ । मानव सेवाको उत्तम परोपकारी यही सोचलाई नै उसले तत्कालीन अवस्थाको मनोविज्ञानपरक धारणा बनाएको हुन्छ । अत ः स्वास्थ्यकर्मीका नजरमा मानवलाई अप्ठेरो परेका बेलामा स्वास्थ्य सेवा दिने काम गर्नुपर्छ भन्ने चेत आउनु नै उसमा निहित मनोविज्ञानले सही अर्थमा काम गरेको छ भन्ने बुझिन्छ ।
एउटा अध्यापक वा सिकाइ गतिविधिमा सहभागी हुने गुरुका लागि आफ्नो कर्तव्य के हो ? सायद् ऊ यसमै केन्द्रित रहेको हुन्छ । उसका नजरमा सिकाइलाई कसरी सहजीकरण गर्ने ? भन्ने पक्ष अर्को अहम् जिज्ञासाको विषय बन्छ । समय, श्रम, स्रोत र साधनको उपयोग गरेर कसरी अधिकतम ज्ञान, सिप र धारणा विद्यार्थीमा विकास गराउने भन्ने मूल मनोविज्ञानपरक चेत नै उसको अभीष्ट हुन्छ । अत ः एउटा शिक्षकको आँखाबाट हेर्दा यसको मनोविज्ञानपरक चेत वा धारणा भनेको विद्यार्थीले सजिलोसँग ज्ञान, सिप र धारणा हासिल गर्ने परिवेश तयार पार्ने हो । अत ः शिक्षकका नजरमा यही नै उसको धर्म वा धारणा हो ।
एउटा सज्जन मानिसले बनाउने धारणा र दुर्जनले बनाउने धारणा पक्कै भिन्न रहन्छ । उनीहरुले जेजस्तो धारणा बनाउँछन् त्यो उनीहरुका नजरमा धर्म हो । यसरी बनाइने धारणा नै धर्म हो । अत ः धर्म भनेको धारणा हो । चोर वा अपराधीले चोर्ने वा अपराध गर्ने धारणा बनायो भने उसका नजरमा त्यही नै धर्म हो । उसले आफ्नो हितका लागि बनाएकोले त्यो उसका लागि धर्म हो । तर त्यही विषय एउटा सज्जन मानिसका लागि अधर्म वा पाप हो । विषयको प्रकृति, क्षेत्र र प्रयोजनका विविधताले कुनै काम फरक फरक अर्थमा व्यवहृत हुन सक्दछ ।
मनोविज्ञानपरक धारणालाई कसरी बुझ्ने त त्यसो भए, भन्ने सवाल पनि टड्कारो रुपमा देखा पर्दछ । चोरका लागि चोरी गर्ने कुरा धर्म हो भने हामी अरुका लागि त्यो अधर्म वा पाप हो । यो धारणा भन्ने विषय कति परस्पर विरोधाभाषी छ, तर त्यो सन्दर्भजनित हुन्छ । निश्चय नै यो निकै जटिल र पेचिलो छ । व्यक्ति वा पात्रमा भएको पहिचान यही उसमा रहेको वा भएको धारणाबाट निक्र्योल हुने हो । अत ः खासमा मनोविज्ञानपरक धारणालाई विषयगत पक्षका रुपमा अथ्र्याइन्छ । व्यसनमा बसेर पुराण आदि विषय वाचन गर्नु व्यसन कर्ताको धर्म हो भने श्रोता गणको धर्म ध्यानमग्न श्रवण गर्नु र व्यवहारमा लागु गर्ने परिवेश तयार गर्नु हो ।

साधारण मान्छे असल सोच राख्छ । सकारात्मक चेत बनाउँछ । किसान यथेष्ट श्रम गरेर आफू बाँच्छ र अरुलाई समेत बचाउने सपना देख्छ । जोकोही पेसाकर्मी आफ्नो पेसामा इमानका साथ लागेर नाम कमाउने र सके दामसमेत कमाउने सोच राख्दछ । स्वास्थ्यकर्मी स्वास्थ्य सेवा दिएर सन्तुष्टि लिइरहेको हुन्छ । अध्यापक सिकाइ सहजीकरण गर्न सकेकोमा गर्वबोध गरिरहेको हुन्छ । यी सब आआफ्ना कर्तव्य र कर्ममा रमाउनमा गर्व गर्दछन् । व्यक्तिमा रहने यही मनोविज्ञानपरक चेतना नै उसमा रहेको मनोविज्ञानपरक धारणा हो ।
एउटा विद्यार्थी यत्नपूर्वक श्रम गर्दै सम्बन्धित विषयमा ज्ञान, सिप र धारणा प्राप्त गर्ने अभियानमा लागेको हुन्छ । वास्तवमा विद्यार्थीको धर्म भनेको पनि यही नै हो । ऊ मन, वचन र कर्मले कार्यक्षेत्रमा अहोरात्र खट्दछ । उसमा रहेको यही सकारात्मक चेतले ऊ सफल बन्ने हो । अत ः उसका लागि यही चेतना नै मनोविज्ञानपरक चेतना वा धारणा बन्न पुग्दछ । एउटा असल विद्यार्थीको धर्म पनि यही हो ।
एउटा राजनीतिक व्यक्तिको चेत के हो ? असल राजनीतिक संस्कार र सुझबुझ कायम गर्नु सायद एउटा असल र आदर्श राजनीतिज्ञको मनोविज्ञानपरक चेतना हो । सबैको सहभागितामा विधि, विधान, नियम, कानुन र कार्यविधिहरु बनाइ कार्यान्वयन गर्ने हो । राजनीतिक सुझबुझ र राजनीतिक संस्कार यही नै हो ।अन्ध समर्थन वा अन्धविरोध दुवै घातक हुन् । तथ्य र तर्कका आधारमा एजेण्डागत समर्थन वा विरोध सायद वास्तविक राजनीति हो । तर के हाम्रा राजनीतिक दलहरु, राजनीतिक व्यक्तिहरु यस किसिमको विधानगत वा वैधानिक अभ्यासमा छन ? अनि राजनीतिक दलका वा पार्टीका सदस्य,जिम्मेवारीको कुर्सीमा आसिन भएकाहरु के यस किसिमको विधानको पालना गरिरहेका छन् ? हामी के सिकाउँदै छौँ, हाम्रा नवागत सन्ततिहरुलाई ? स्वयम् तपाईँ हामी के सिकिरहेका छौँ ? के यही हो त राजनीतिक संस्कार ? राज्यको वागडोर लिने र त्यस वरिपरि रहनेहरुको वा नेत्तृत्वमा बस्नेहरुको मनोविज्ञान यही हो त ? यही हो त हाम्रो नैेतिकता ? हाम्रा पार्टीहरुको डिसिप्लेन र हाम्रो स्कुलिङ यही थियो त ? यो अव्यवस्था सिर्जना गर्ने अभीष्ट नै बोकेर हामी आएका थियौँ त ? भूपिले भनेझैँ धर्ती, आकाश र इतिहासले हामीलाई धिक्कार्नेछ । हाम्रो मनोविज्ञानले सकारात्मक मनोचेतनालाई जगाओस् । कि हामी नागरिकहरु दिग्भ्रमित भइरहेछौँ ?
कागेश्वरी मनोहरा ९ निवासी डा.अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *