कोरोना कहरमा अब्बल स्थानीय सरकार तर मुलुकमा नेतृत्वको खडेरी

२६ जेठ २०७८ ।
शिव रेग्मी ।
कोरोना भाइरस (कोभिड १९) ले नेपाल मात्र नभएर विश्वलाई नै पुनः एक पटक हल्लाएको छ । विश्व नैं प्रभावित भएको वर्तमान अवस्थामा नेपाल मात्र अछुतो रहन सक्ने अवस्था रहेन । नेपाल पनि कोभिडको दोस्रो भेरियन्टले प्रभावित बनेको छ । गत बर्ष भन्दा यस बर्ष दोस्रो भेरियन्टले नेपालमा बढि असर गरेको छ । संक्रमित हुने र निधन हुने कार्य दोस्रो भरियन्टले बढाएको छ ।
यस्तो अवस्थामा स्थानीय सरकारको भूमिका सबै नागरिकले थाहा पाउने गरी नेपालमा प्रभावकारी र नागरिकमैत्री देखिएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधिहरु अहोरात्र आफ्ना नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन र कोभिडको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत भएर लागेका छन् ।स्थानीय सरकारका जनप्रतिनिधिहरु कोभिडको रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा लागिपरेका छन् । स्थानीय तहहरुमा आवश्यक स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको एकदमै अभाव छ । स्थानीयस्तरमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको यथेष्ट व्यवस्था गरी कोरोनाको रोकथाम र नियन्त्रणका लागि अझ बढि प्रभावकारी रुपले कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ । यसका लगि संघीय सरकारले सक्रियतापूर्वक कार्य गर्नुपर्ने टढ्कारो आवश्यक्ता देखिएको छ ।
नागरिकले हाल सबैभन्दा पहिले चाहिने सरकार भनेको स्थानीय सरकार हो भनेर महशुस गरेका छन् ।

वर्तमान अवस्थामा संघीय सरकारले स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउने गरी कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ । राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म भएका सबै अस्पतालहरुलाई जुन अस्पताल जुन स्थानीय तहमा पर्छ त्यही स्थानीय तह प्रति जवाफदेही हुने गरी संघीय सरकारले व्यवस्था गर्नुपर्दछ ।आज अस्पताललाई संघीय सरकारप्रति जवाफदेहि नबनाएर स्थानीय जनता र स्थानीय सरकार प्रति जवाफदेही बनाउने उपयुक्त समय आएको छ ।वर्तमान संकटपूर्ण अवस्थामा स्थानीय तहहरुले जसरी आफ्ना जनताको हित र पक्षमा कार्य गरेका छन् त्यसको नेपाली जनताले उच्च मूल्यांकन गरेका छन् । स्थानीय सरकारप्रति आज जनताको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।राज्यले जनतालाई कोभिडबाट बचाउनका लागी सक्रियतापूर्वक पहल गर्न जरुरी भैसकेको छ ।
संघीय सरकारले वर्तमान संकटपुर्ण अवस्थामा अन्य साना र महत्वहिन तथा व्यक्ति केन्द्रीत काममा ध्यान नदिएर जनताको स्वास्थ्यलाई सर्बोपरी ठानेर कार्य गर्नुपर्दछ । सरकारले कुरा र भाषणमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी राखेको देखिदैन तर व्यवहारिक रुपमा त्यो प्रभावकारी रुपमा कार्यान्वयन भएको पाइएको छैन ।
आजको संकटपूर्ण अवस्थामा सानातिना, झिनामसिना कुरामा नअल्झेर जनतालाई प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्नका लागि सिंगो राज्य संयन्त्र लाग्न जरुरी छ । राज्यका निकायहरुलाई बढि भन्दा बढि परिचालन गर्न जरुरी छ । आफ्ना नागरिकलाई कसरी आवश्यक स्वास्थ्य सेवा दिने भन्नेमा सरकारको ध्यान जान जरुरी देखिन्छ ।
सरकारले कोभिड बिरुद्धको खोप ल्याउनका लागि पहल त गरिरहेको छ । तर त्यसले सार्थकता पाउन सकिरहेको छैन ।
हाल स्थानीय तहहरु नैं कोभिड बिरुद्धको खोप ल्याउनका लागि अग्रसर भएका छन् र संघीय सरकारसंग अनुमति मागिरहेका छन् । के स्थानीय सरकारहरुले खोप ल्याउन सक्छन् त ? यो सोचनीय बिषय भएको छ । संघीय सरकारले खोप ल्याउन सक्ने क्षमता भएका स्थानीय तहलाई खोप ल्याउनका लागि अनुमति दिन ढिलाई नगरी तत्काल अनुमति दिएर जनतालाई कोभिडबाट बचाउन लाग्नुपर्दछ ।
संघीय सरकारले पनि खोप ल्याउनका लागि पहल त गरिरहेको छ तर प्रक्रियागत विविध कारणले ढिलाई भएता पनि खोप ल्याउने कुरामा जनतालाई विश्वस्त पार्न सकिरहेको छैन । यदि स्थानीय सरकारले संघीय सरकार भन्दा छिटो खोप ल्याएर आफ्ना नागरिकहरुलाई बचाउन सक्छन् भने संघीय सरकारले स्थानीय सरकारलाई खोप ल्याउनका लगि सहजिकरणको साथ साथै सहयोग पनि गर्नुपर्ने देखिन्छ । हुन त केही स्थानीय सरकारहरुले आफ्नै बजेटबाट खोप किन्न सक्छौं तर सरकारले अनुमति दिनुपर्यो भनिरहेको अवस्था छ । यस्तो अवस्थामा सरकारले की आफूले तदारुकताका साथ खोप ल्याउनुपर्यो होइन भने स्थानीय सरकारलाई खोप ल्याउन दिनुपर्यो । यसतर्फ संघीय सरकारले गंभिर भएर सोच्नुपर्ने देखिन्छ ।
आज जसरी कोभिडले सम्पूर्ण नेपालीहरुलाई प्रभावित बनाएको छ । अक्सिजन नपाएर नागरिकहरु दिनानुदिन छट्पटिएर मृत्युवरण गर्न बाध्य छन् । यसतर्फ सरकारले गंभिर रुपले सोचे पनि सार्थकता पाइरहेको छैन । अक्सिजनको व्यवस्था गर्न सकिरहेको छैन ।देश विदेशबाट कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि भनेर सहयोगहरु प्राप्त भैरहेको छ तर नेपालीहरु प्रभावित भैरहेकै छन् । सरकारका मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरु आ आफ्नो जिल्लाको लागि स्वास्थ्य उपकरणहरु पठाउन मै व्यस्त छन् । सबै नागरिकलाई बचाउनुपर्छ भन्ने भावना उनिहरुमा देखिएको छैन । सत्ताका लागि आफ्नो व्यक्तिगत स्वार्थका लगि नेताहरु लडिरहेका छन् । विधि र बिधान बमोजिम नचलेर जनतालाई धोका दिइरहेका छन् । संविधान आफैले बनाए जस्तो गरी संविधान निर्माणमा भूमिका नैं नभएकाहरुले बढि व्याख्या गरिरहेका छन् । नागरिकहरु वाक्क दिक्क भएका छन् । सरकारका मन्त्रीहरु आफ्ना आसेपासे र चाकडीबाजलाई राज्यको सम्पति दोहन गर्न लागिपरेका छन् । ठेक्का पट्टा तिनै जनताको स्वास्थ्यमा खेलवाड गर्ने नैतिकहिनलाई दिने गरेका छन् । यस्तो अवस्थामा जनताप्रति सच्चा जवाफदेही र उत्तरदायी शासन व्यवस्था नागरिकले खोजेका छन् । जनतालाई व्यक्तिगत स्वार्थ र आसेपासे खुराफातीबाट मुक्ती चाहिएको छ ।एक दिनमा कैयौँ पटक कुरा परिवर्तन गर्ने, लाज र ईज्जत नभएका धोकेवाज, संस्कार र संस्कृति कहिल्यै नबुझेका तर संस्कार र सभ्यताको विषयमा भगवानलाई समेट ढाँटेर व्याख्या गर्न जानेकाहरुले जनतालाई झुक्याइरहेका छन् । तर झुट, गद्धारी, चाकडीवाज र छलकपट धेरै दिन नटिक्ने भएकोले यीनिहरुको अवशान नजिकिदै छ । भनिन्छ असत्य र झुटको खेती धेरै दिन टिक्दैन । ढिलो चाँडो विजय सत्यकै हुन्छ । केवल धैर्यता र सत्यता चाहिन्छ । जनताप्रति उत्तरदायी शासन व्यवस्थाको स्थापना, विधि र प्रक्रियाबाट हरेक नागरिकले राज्यबाट प्राप्त गर्ने लाभ लिन मिल्ने व्यवस्थाका लागि जनतालाई नभुक्याउने, छलकपट नगर्ने, साँचो कुरा बोल्ने, देश र जनतालाई धोका नदिने, व्यक्तिगत स्वार्थका लागि कार्य नगर्ने, देश र जनतालाई केन्द्रमा राखेर कार्य गर्ने राष्ट्रवादी नैतिकवान नेतृत्वको खाँचो आज नेपालमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *