कागेश्वरी मनोहरा नगरपालिका करिब २ अर्ब ४ करोडको बजेट ल्याउँदै

५ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि करिब २ अर्ब ४ करोड बराबरको बजेट ल्याउने भएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको कागेश्वरी मनोहरा नगरपालिकाको ७२ औं नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि चालु तर्फ ४७ करोड ५२ लाख ५९ हजार र पूँजिगत तर्फ १ अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँको बजेट पारितका लागि यहि असार ७ देखि १० गतेसम्म हुने नगर सभामा पेश गरिने नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगर कार्यपालिका बैठकले विभिन्न विषयगत शाखाहरुबाट पेश हुन आएका कार्यक्रम र बिगतका बर्षहरुमा नगर सभाबाट पारित भई कार्यान्वयनमा रहेका कार्यक्रमलाई समेटी विनियोजन बजेटका आधारमा नीति तथा कार्यक्रम अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगर प्रमुख थापाका अनुसार कार्यपालिका बैठकले लेखा समिति, न्यायिक समिति र विधायन समितिमा छलफल भई नगर कार्यपालिकामा पेश भएका प्रतिवेदनहरु अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरी यहि असार ७ देखि १० गते सम्म ५ औं नगर सभा सम्पन्न गर्ने निर्णय गरेको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ ।
नगर कार्यपालिका बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *