कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा आजबाट शुरु

७ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा आजबाट शुरु भएको छ ।
बागमती प्रदेशका प्रदेश सभा सदस्य मणिराम फुयाँलको प्रमुख आतिथ्यतामा भएको सो नगर सभामा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद लगायत नगरबासीलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभयो ।
नगर सभामा नगर प्रमुख कृष्णहरि थापाले स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने मूल नाराका साथ समग्र नगरको विकास र समृद्धिका लागि कार्य गरिरहेको बताउनुभएको थियो ।
नगर सभामा नगर प्रमुख थापाले आगामी आ.ब.२०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको प्रस्तावित बजेट पेश गर्नुभएको थियो ।
यसअघि नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि चालु तर्फ ४७ करोड ५२ लाख ५९ हजार र पूँजिगत तर्फ १ अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ रुपैयाँ गरी जम्मा २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको थियो ।
नगर सभामा विभिन्न विषयगत शाखाहरुबाट पेश हुने कार्यक्रम र बिगतका बर्षहरुमा नगर सभाबाट पारित भई कार्यान्वयनमा रहेका कार्यक्रमलाई समेटी विनियोजन बजेटका आधारमा नीति तथा कार्यक्रम अनुमोदनका पेश गरिने छ ।
नगर प्रमुख थापाका अनुसार लेखा समिति, न्यायिक समिति र विधायन समितिका नगर कार्यपालिकामा पेश भएका प्रतिवेदनहरु अनुमोदनका लागि नगर सभामा पेश गरिने छ । नगर सभा आगामी आ.ब.२०७८।०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गदर्लै यहि असार १० गते सम्पन्न हुने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
नगर सभामा बागमती प्रदेशकका प्रदेशसभा सदस्य मणिराम फुयाँल, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, सल्लाहकार भरत फुयाँल, कानुनी सल्लाहकार बिदुर ढुंगाना, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा अध्यक्षहरु मुकुन्द प्रसाद गजुरेल, सुदर्शन धिमाल, राममणी पुडासैनी, भाइकाजी अधिकारी, प्रकाश फुयाँ, जीवन थापा, श्रीकृष्ण प्रसाद चापागाई र कुन्दन खड्का, नगर कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *