तिलोत्तमा नगरपालिकाद्धारा १ अर्ब ९८ करोड ७६ लाख २८ हजारको बजेट पारित

८ असार २०७८ ।
तिलोत्तमा नगरपालिकाको आर्थिक बर्ष २०७८।०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै नगर सभा आज सम्पन्न भएको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाको यहि असार २ गते भएको नगर सभाको पहिलो बैठकमा आर्थिक बर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
नगर प्रमुख घिमिरेले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।
समुन्नत, सुरक्षित र वातवरणमैत्री सुन्दर शहर ः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर भन्ने मुल नाराका साथ तिलोत्तमा नगरपालिका समग्र नगरको विकास र समृद्धिका लागि लागिपरेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ ।
नगर सभामा आज उपप्रमुख जागेश्वरी देवी चौधरीले आर्थिक बर्ष २०७८।०७९ को लागि १ अर्ब ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।
चालु तर्फ ९० करोड २० लाख ४३ हजार र पूजीगततर्फ ८६ करोड ५५ लाख ८५ हजर ५ सय ७४ रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेटमा सामाजिक सुरक्षातर्फको २२ करोड रुपैयाँ समावेश नगरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना लगायतका कृषिको आधुनिकीकरण, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।
कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रबृतिको व्यवस्था, अति बिपन्न ५० परिवारलाई घर बनाउन प्रति परिवार दुई लाख रुपैंयाँ अनुदान दिने नगर प्रमुख घिमिरेले घोषणा गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा ग बर्गका अपांगहरुलाई बार्षिक ६ हजार रुपैंयाँ सामाजिक सुरक्षाभत्ता दिने उल्लेख छ ।
नगरपालिकाभित्रका जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकता राखिएको छ ।
चालु आर्थिक बर्षमा कायम रहेको करको दररेटलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिइएको छ ।
आगामी अशोज महिनाभित्र कर तिर्दा ३ महिनाको छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ ।
तिलोत्तमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाई ७० बर्ष माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपांगहरुलाई आधारभूत स्वास्थ्य सेवा घर घरमै प्रदान गर्ने व्यवस्था मिलाउने, कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा बिपन्न नगरबासीहरुको स्वास्थ्य उपचारको लागि नगर प्रमुख बिपन्न नागरिक सहायता कोष स्थापना गर्ने, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार निर्माण गर्ने, सबै सामूदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने, सामूदायिक विद्यालयमा खानेपानी र ईन्टरनेट सेवाको व्यवस्था मिलाउने, अपांगता भएका व्यक्तिले संचालन गरेका उद्योग व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने लगायतका कुराहरु नगर सभाले पारित गरेको नगर प्रमुख घिमिरेले बताउनुभएको छ ।
समृद्ध नगर ः खुशी नगरबासी भन्ने मूल नारा र लक्ष्यका नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम पारित भएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभएको छ ।
बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण ः युवा अवस्थामा सीप, उद्धमशिलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण र महिलालाई समतामूलक अवसर सिर्जना गर्ने लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभयो ।
युवा तथा महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसायसंग जोडी सहलियतपूर्ण कर्जा दिने, एकल महिलाले सञ्चालन गरेका उद्योग व्यवसायमा लाग्ने करमा ५० प्रतिशत छुट दिने, कृषिको व्यवसायिकरण गर्ने, कृषिमा आवश्यक अनुदान दिने, सुकुम्बासी समस्या समाधान आयोगसंग समन्वय गरी सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने लगायतका कुराहरु नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नगर प्रमुख घिमिरेले मेयर नगर आवास कार्यक्रम सञ्चालन गरी अति बिपन्न समूदायका ५० परिवारलाई घर बनाउन प्रतिघर २ लाख रुपैंयाँ अनुदान उपलब्ध गराउने लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

तिलोत्तमा नगरपालिकाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकालाई राहत स्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभयो ।
यहि असार १ गते आएको बाढिले मेलम्चीमा ठूलो मात्रामा धनजनको क्षति भएकोले विपद्को समयमा राहत स्वरुप केही ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
लुम्बिनी प्रदेशबाट बाढि प्रभावित मेलम्ची नगरपालिकालाई सहयोग गर्ने तिलोत्तमा नगरपालिका पहिलो नगरपालिका बनेको छ ।
हरेक बर्ष असार १० गतेसम्म स्थानीय तहहरुले नगर सभा गर्नुपर्ने व्यवस्था रहेको छ ।
तिलोत्तमा नगरपालिकाले भने आफूलाई अग्रणी नगरको रुपम स्थापित गर्दै असार ८ गते नैं नगर सभा सम्पन्न गरी आगामी बर्षको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
नगर सभा सम्पन्न गरी आगामी बर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेश र नेपालकै पहिलो नगरपालिका बनेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *