हजुरबाको लौरो ! (बालकथा)

२८ असार २०७८ ।
डा.गणेश राज अधिकारी ।
साँझको समय थियो । दोर्जे र विशाखा हजुरबासँग संवाद गरिरहेका थिए । हजुरबा पनि उनीहरुका कुरा सुनेर रमाइ रहनुभएको थियो । यत्तिकैमा एकोहोरिएका हजुरबा र यी दिदीभाइका बिचमा कुराकानी हुन थाल्यो ।
हजुरबा  ः ए तिमीहरु कति कुरा गर्न सकेका हँ ? एकछिन त शान्त होऊ ।
विशाखा ः हो त हजुरबा ! हेर्नु न यो दोर्जे कति बोल्न सकेको !
दोर्जे ः हेर न आफू चाहिँ हजुरबाको पियारो बन्न खोजेको ! कम्तिकी छ यो विशाखा !
हजुरबा ः लल तिमीहरु दुवै ठिक छौ । कुरा गर्नु त पर्छ त ! कुरा गर्नाले मनको खुल्दुली पनि मेटिन्छ र नयाँ ज्ञान पनि पाइन्छ । हाम्रो जमाना र आजको जमानामा यही त फरक छ । ऊ बेला बोल्ने मान्छे पाउन गाह्रो थियो । आज सुन्ने मान्छे पाउन गाह्रो छ । आकाश पातालको फरक भइसक्यो नि !
दोर्जे ः हजुरबा ! म त लौरो नबोकी पनि हिड्न सक्छु होई ? यो विशाखा त खै ?
विशाखा ः म पनि त सक्छु नि ! होई हजुरबा ? हेर्नु न हजुरबा यो दोर्जे कस्तो छ भने ।
हजुरबा ः हो हो । सक्छौ । तिमीहरु दुवै जना सक्छौ ।
यो लौरो साहारा हो । हामीलाई साथ दिन्छ । सहयोग गर्छ । बल दिन्छ । ताकत दिन्छ । आँट दिन्छ । यसको काम तिमीहरु अहिले मेसो पाउँदैनौ । पछि मजस्तै उमेरले पाको भएपछि मात्र जान्नेछौ ।
यो लौरो बुढौलीको साथी हो । उकालो ओरालोमा आड भरोसा दिन्छ । तेर्सोमा सहारा दिन्छ । आफ्नो सुरक्षा गर्छ । बाटामा सानातिना अवरोध आए रोकथाम गर्न साथ दिन्छ । साना मसिना किरा फट्याङ्ग्रा र सर्पले आक्रमण गर्न खोजे भने तिनलाई तह लगाउन साथ दिन्छ ।
यात्रामा थाकियो भने बल र ढाढस दिन्छ । कोही दुश्मन आइलागे भने यसले संरक्षण गर्छ । साना तिना खोला खोल्सी तर्न मेसो दिन्छ । पुलको झैँ काम पनि दिन सक्छ । कुनै जन्तु जनावरले आक्रमण गरे वा रोक्न वा टोक्न खोजे भने यही लौरोले तह लगाउँछ ।
यही लौरोसँग गफ गर्दै गर्दै लामो बाटो काट्न सकिन्छ । यो आफैँ भने चल्दैन । यसलाई हामीले चलाउनुपर्छ । हामी कसरी चल्छौँ ? कस्तो भावना राख्छौँ ? कस्तो सोचाइ बनाउँछौँ ? यो त्यस्तै बन्छ । भनौँ हाम्रो छायाँ जस्तै हो । न होचो न अग्लो । यसलाई जति सजिलोसँग चलायो यो त्यति नै सजिलो बन्छ ।
लौरो चलाउन जानिएन भने यो बहुतै भारी पनि पर्न सक्छ । नजान्नाले वा जथाभावी प्रयोगले यो हाम्रै गलपासो पनि बन्न सक्छ । हाम्रो दुश्मन बन्न पनि सक्छ । हाम्रा लागि अभिशाप बन्न सक्छ । यसलाई आफ्नो बनाउन आफू पनि उसको बन्न सक्नुपर्छ । हामीले यो रहस्य थाहा पाउनु जरुरी छ । समयलाई पढेर पनि यो जानकारी लिन सकिन्छ है बाबुनानीहरु !
डा.अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *