काठमाडौं जिल्ला साक्षर जिल्ला घोषणा

४ अशोज २०७८ ।
काठमाडौं जिल्ला साक्षर जिल्ला घोषणा भएको छ ।
साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले बागमती प्रदेश भित्र शिक्षा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले पहल गरिरहेको बताउदै समग्र बागमती प्रदेशलाई यहि अशोज ११ गते नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिने बताउनुभएको थियो ।
शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन प्रदेश सरकार लागिपरेको बताउदै प्रदेश मन्त्री विजय सुवेदीले शिक्षा क्षेत्रको समग्र सुधार र व्यवस्थापनका लागि प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरिरहेको पनि बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले शिक्षा क्षेत्रको सुधार र सही व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको बताउदै समग्र नेपाललाई नैं साक्षर राष्ट्र घोषणाका लागि कार्य भैरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले साक्षर जिल्ला घोषणाका लागि भएका सबै सूचकहरु पुरा गरी काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणाका लागि आवश्यक सहयोग गरेकोमा काठमाडौंका पालिकाहरुलाई धन्यवाद दिनुहुदै साक्षर जिल्ला घोषणालाई आगामी दिनमा पूर्ण साक्षर जिल्ला घोषणा गर्नका लागि आवश्यक कार्य गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमम कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन र तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धितालले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणाका लागि काठमाडौंका सबै पालिकाहरुले समन्वय र सहकार्य गरेर कार्य गरेको बताउदै समग्र शैक्षिक क्षेत्रको सुधार र व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुबीच बढि भन्दा बढि समन्वय र सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुइटेल र शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणाका लागि भएका प्रयासहरुको बारेमा जानकारी गराउदै साक्षर जिल्ला घोषणा संग संगै यसको दिगोपनाका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहरा, बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खेरल, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जन, जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिंम्खडा, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, नगार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल, लगायत जिससका सदस्यहरु उद्धव प्रसाद भण्डारी, तेजिला थापा, सुशिला ढकाल, शिला चम्राकार, सान्नानी लामा लगायतको सहभागिता रहेको जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र अर्यालले जानकारी दिनुथियो ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, काठमाडौंका पालिकाहरुमा कार्यरत शिक्षा शाखाका प्रमुखहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा धन्यवाद दिनुहुदै जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

साक्षर नेपाल ः समृद्ध नेपाल र सुखी नेपाली, साक्षर काठमाडौंबासी, हामी गौरवशाली भन्ने मूल नाराका साथ काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणाका लागि सहयोग गर्ने काठमाडौंका पालिकाहरु र सिकाई केन्द्रहरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *