जिसस काठमाडौंका प्रमुख बुढाथोकी लगायत पदाधिकारीहरुद्धारा पदबहाली

३० जेठ २०७९ ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले आज पदबहाली गर्नुभएको छ ।
जिसस भवन बबरमहलमा बुढाथोकीले पदबहाली गर्नुभएको थियो ।
सो अवसरमा जिससका उपप्रमुख शान्ती पाण्डेले पनि पदबहाली गर्नुभएको थियो ।
त्यसैगरी जिससका सदस्यहरु राज कुमार बिडारी, सुदिप घिमिरे, नरेन्द्र श्रेष्ठ, यशोदा कार्की, शोभा मगर, सुन्तली वाइवा र सपना परियारले पनि पदबहाली गर्नुभएको छ ।
सो अवसरमा जिल्ला समन्वय समिति काठमाडौंका नवनिर्वाचित प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि सबै पालिकाहरुसंग सहकार्य र समन्वय गरेर कार्य गर्ने बताउनुभएको थियो ।
पदबहालीपछी बसेको जिससका नवनिर्वाचित प्रमुख सन्तोष बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय समितिको मौज्जाद कोष र सम्बन्धित स्थानीय तहको लागत साझेदारीमा निर्माणाधिन कार्यक्रमहरु सम्बन्धित स्थानीय तहहरुमार्फत् छिटो सम्पन्न गर्न समन्वय र सहजिकरण गर्ने, जिल्ला भित्र संघ, प्रदेश र स्थानीय तह तथा गैसरकारी संस्थाहरुबाट हुने कामहरुलाई छिटो, छरितो, प्रभावकारी र नतिजामुखी बनाई जिल्लाभित्र विकास निर्माणका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजिकरण गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी भई सहयोग गर्ने सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिने पनि बैठकले निर्णय गरेको जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जानकारी दिनुभएको छ ।
पदबहाली अघि जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, उपप्रमुख शान्ती पाण्डे लगायत सदस्यहरुले पद तथा गोपनीयताको शपथ खानुभएको थियो ।
सो अवसरमा जिसस प्रमुख बुढाथोकीलाई काठमाडौं जिल्लाका मुख्य जिल्ला न्यायाधिश राजु कुमार खतिवडाले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।
त्यसैगरी जिसस प्रमुख बुढाथोकीले उपप्रमुख शान्ती पाण्डे र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।

कार्यक्रममा काठमाडौं जिल्लाका मुख्य जिल्ला न्यायाधिश राजु कुमार खतिवडाले जिसस प्रमुख सन्तोष बुढाथोकी, उपप्रमुख शान्ती पाण्डे लगायत सदस्यहरुलाई प्रमाणपत्र पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जिससमा नवनिर्वाचित प्रमुख सन्तोष बुढाथोकी लगायत सबै पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै निर्वाचनमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा निवर्तमान जिसस प्रमुख शिवसुन्दर राजवैद्यले जिससमा निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुहुदै काठमाडौंको समग्र विकास र समृद्धिका लागि आफ्नो तर्फबाट सदैब सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जिससका नयाँ निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नुहुदै आगामी दिनमा जिससको भूमिकालाई प्रभावकारी बनाउनका लागि नयाँ पदाधिकारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

जिल्ला समन्वय समिति काठमाडौंमा प्रमुख लगायत सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित हुनुभएको छ ।
जिससमा प्रमुख, उपप्रमुख र ५ जना सदस्यहरु नेपाली कांग्रेसका हुनुहुन्छ भने १ जना नेकपा माओवादी केन्द्र र १ जना नेकपा एकीकृत समाजवादीबाट निर्बिरोध निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक उमेश स्थापितले काठमाडौंको विकासका लागि जिससले प्रभावकारी रुपमा समन्वय गर्नुपर्ने बताउदै नयाँ पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा जिससका निवर्तमान उपप्रमुख सरिता दाहाल, सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, निर्वाचन कार्यालयका कर्मचारीहरु र जिससका कर्मचारीहरुको सहभागिता रहेको थियो ।