चन्द्रागिरि नगरपालिका ३ को वडा कार्यालय भवनको नगर प्रमुख गिरीद्धारा उद्घाटन

९ अशोज २०७८ ।
चन्द्रागिरि नगरपालिका वडा नं.३ को वडा कार्यालय भवनको नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभएको छ ।
आज चन्द्रागिरि नगरपालिका वडा नं.३ को वडा कार्यालय परिसर थानकोटमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख गिरीले वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख गिरीले भव्य र सुन्दर वडा कार्यालय भवन तोकिएकै समयमा सम्पन्न गरेकोमा सरोकारवालाहरुलाई धन्यवाद दिनुहुदै नगरपालिकाले सबै वडाका भवनहरु निर्माण गर्नका लागि आवश्यक प्रयास गरिरहेको बताउनुभएको थियो ।
नगरपालिकाको आफ्नो प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउदै नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनको साथ साथै पूर्वाधार विकास, सामाजिक विकास, कृषि, खेलकूद, खानेपानी, सडक बत्ती जडान, सिसी क्यामेरा जडान लगायतका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
निर्वाचनमा गरेका प्रतिबद्धता बमोजिम नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर आफूहरुले कार्य गरिरहेको नगर प्रमुख गिरीले बताउनुभएको छ ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले नगरपालिकाले नगरबासीहरुको माग र चाहना बमोजिम कार्य गरिरहेको बताउदै समग्र नगरको विकास र समृद्धिका लागि आफूहरु लागिपरेको बताउनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख लिशा नकर्मीले वडा कार्यालय भवनको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरेकोमा सरोकारवाला सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष दुर्गालाल महर्जन, वडा सदस्यहरु सीता सत्याल र अमिर बहादुर लामाले वडा कार्यालय भवन निर्माणका लागि भएका प्रयासहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा निर्माण व्यवसायी सिद्धिलाल महर्जनले २ करोड ९ लाख ९० हजार रुपैयाँको लागतमा वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरु र स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *