गोकर्णेश्वर नगरपालिकालाई धार्मिक पर्यटकीय नगर बनाउन पहल शुरु ः गोकर्णेश्वर न.पा.प्रमुख चालिसे

२२ अशोज काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक पर्यटकीय नगर बनाउनका लागि नगरपालिकाले पहल शुरु गरेको बताउनुभएको छ ।
यसका लागि नगरपालिकाले आवश्यक कार्य शुरु गरिसकेको उल्लेख गर्दै उहाँले नगरभित्र भएका साँस्कृतिक तथा धार्मिक सम्पदाहरुको संरक्षणमा पनि नगरपालिकाले विशेष प्राथमिकता दिएर कार्य गरिरहेको पनि बताउनुभयो ।
आधुनिक आवास, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको उहाँको भनाई छ ।
सडकबाटो निर्माण, सुशासन, पूर्वाधार विकास लगायतका कामहरुलाई पनि प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको प्रमुख चालिसेको भनाई रहेको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम.९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा नगरपालिका लागिपरेको उल्लेख गर्दै नगर प्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिकालाई साँस्कृतिक शहर बनाउनका लागि आवश्यक कार्य भइरहेको पनि बताउनुभयो ।
गत बर्ष नगरपालिकाले नगर सभाबाट पारित ९७ प्रतिशत योजनाहरु सम्पन्न भएको जानकारी दिनुहुँदै नगर प्रमुख चालिसेले चालु आर्थिक बर्षमा पनि नगरपालिकाले नगरको विकासका लागि छनोट भएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
कौशी खेतिको प्रवद्र्धनमा पनि नगरपालिकाले बजेट विनियोजन गरेर कार्य गरिरहेको उल्लेख गर्दै उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकहरुको हक हितका लागि नगरपालिकाले कार्य गरिरहेको बताउनुभयो ।
नगरबासीको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले स्थानीय तहको समग्र विकासका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन छिटो भन्दो छिटो कर्मचारीको व्यवस्थापन गर्नुपर्ने गर्नुपर्नेमा जोड दिदै प्रमुख चालिसेले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले शुरु गरेको नगर नगर साँझेदारी कार्यक्रमले काठमाडौं जिल्लाको समग्र विकासमा महत्वपूर्ण सहयोग पुर्याउने बताउदै गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसेले नगरपालिकाभित्र हुने कामहरुलाई एकरुपता दिनका लागि समन्वय भैरहेको पनि बताउनुभयो ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज प्रत्येक हप्ताको सोमवार र विहिवार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित रुपमा प्रशारण हुँदै आएको छ । कार्यक्रम स्थानीय आवाजमा काठमाडौं महानगरपालिकाले गरिरहेका कामहरु, स्थानीय तह सम्बन्धी भएका गतिविधिहरु लगायत काठमाडौंको एकीकृत विकास, शहरीकरण व्यवस्थापन, वातावरण संरक्षण, सेवा प्रवाह र स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धनका क्षेत्रमा भैरहेका कामहरुको सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुसंग कुराकानी गर्ने गरिन्छ ।