स्व. सेढाईको तेस्रो स्मृति सभा सम्पन्न

१४ श्रावण २०७९ ।
स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व.स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा काठमाडौंमा हिजो सो कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष गंगा देवी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वदेश फाउण्डेशन नेपालका उपाध्यक्ष तथा नेपाल फिल्म क्याम्पसका प्रिन्सीपल शिशीर उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा किशोर सेढाई तथा रेडियो नेपालका बरिष्ठ तबला बादक राजु अग्रवाल र सङ्गीतकार जीवन राईले गायत्री मन्त्रको नेपालीमा सार गायन गर्नुभएको थियो ।
कार्यक्रममा फाउण्डेशनको निर्माणमा स्वर्गीय स्वदेश सेढाईका बुवा किशोर सेढाईको कथा र निर्देशन रहेको जीवनीमा आधारित बृत्तचित्र नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा स्व.स्वदेश सेढाईको सम्झनामा अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानको प्रस्तुतिमा सामुहिक तबला सोलो बादनपनि प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठाना कुलपति गंगा प्रसाद उप्रेतीले कृष्ण भजनको बिमोचन गर्नुभएको थियो ।
भजनको शब्द तथा सङ्गीत किशोर सेढाईको रहेको छ ।
कार्यक्रममा ९४ वर्षीय जेष्ठ समाजसेवी नागरिक कीर्तन कृष्ण भट्ट, बरिष्ठ तबलाबादक पण्डित अच्युतराम भण्डारी, मणि पाण्डे लगायतलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठाना कुलपति गंगा प्रसाद उप्रेतीले स्वर्गीय स्वदेश सेढाइको नाममा खोलिएको संस्थाले आगामी दिनमा भावी युवा पुस्तालाई मानसिक रोगबाट कसरी मुक्त रही स्वच्छ जीवन जिउने सम्बन्धमा मार्ग दर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गंगा देवी उप्रतीले देशका भावी पुस्तालाई उच्च शिक्षा अध्ययन गर्न विदेश जानु अघि नेपाल सरकारले पनि राम्रो निगरानी गरेर मात्रै विदेश पठाउनुपर्नेमा जोड दिनु भएको थियो ।