म चाहन्छु

२० जेठ २०७८ ।

रेणु अधिकारी (मौनता)
म चाहन्छु

म प्रकृति हुँ
इन्द्रेणीको सातै रङ समेटेर
मानव मष्तिस्कमा
सदाचार, सद्भावना र स्नेहको रङ भर्न चाहन्छु

म सृष्टि हुँ
मेरो रगतको एक एक थोपाले
मेरो देशमा जन्माओस्
अनगिन्ती सत्यबादी
मानिसहरूको सागर

म सृजना हुँ
जगतमा कयौं सुन्दर प्राणीहरूमा
उमङ्ग, उत्साह र प्रेमको प्याला भर्दै
स्वतन्त्र, स्वच्छ अनि हर्षले पुलकित हुँदै
मुस्कुराएको हेर्न चाहन्छु

म सिपाही हुँ यो देशको
भगवान् बुद्धलाई साक्षी राखेर
अब क्रान्तिको होइन
शान्तिको बिगुल फुक्न चाहन्छु

म सम्हारकर्ता बिश्वरुपा हुँ
जसले मेरो आमाको छातीमा टेकेर
मेरा सन्तानमाथि
दमन र थिचिमिचो गर्छ
ती दैत्यहरूको नाश गर्न चाहन्छु

म प्रेरणा हुँ
समाजका कुसंस्कार कुरिती
र अन्धबिश्वासका आधारमा गरिने
जातीय वर्गीय र लिङ्गीय
भेदभाबलाई जरैदेखि उखालेर फाल्न चाहन्छु
न्यायको विगुल फुक्न चाहन्छु

म सरस्वती हुँ
मेरो देशमा विद्यमान
विसङ्गति र विकृतिको जालोलाई तोड्दै
शिक्षा अनि साक्षरताको शक्ति भर्दै
आत्मबिश्वासको
कुचाले बढार्न चाहन्छु

अनि म आमा हुँ
म जगतका सम्पूर्ण प्राणीलाई
बिना कुनै भेदभाव
मेरो काखको न्यानो स्पर्ष र स्नेहको धाराले
उनीहरूको दु:ख कष्ट पखाल्न चाहन्छु
अस्तु