बाबा हजूर, लभ यु टु मच !

२४ जेठ २०७८ ।

घनबहादुर थापा ।

बाबा हजूर आज कुशे औंशी भन्छन् हजुरको मुख हेर्ने दिन रे !

म बबुरो के गर्न सक्छु र ? फेसबुक पेजमा मीठा

शब्द खोक्दै बसेको छु, ख्वाक्क !

लेख्छु, ‘बाबा हजुर लभ यू टु मच, मिस यू टु मच !’

फेसबुक, ट्वीटर वालमा हजुरकै तस्बिर पोस्टेर

खोक्छु, ख्वाक्क लेख्छु,

‘बाबा हजुर लभ यू टु मच, मिस यू टु मच !’

अनि लाइक र कमेन्ट पर्खन्छु

‘जीउँदो हुँदा नहेर्ने अब के स्वाङ्’

यस्तै कमेन्ट आए झ्वाँक्क झर्कन्छु !

संस्कृति पच्दैन अब हजुरको

त्यो आर्शिवाद अझै कताकता विझाउँछ

त्यो थोत्रो भइसक्यो,

सडेर गइसक्यो अहिलेसम्म बिझ्छ,

चिलाउँछ सरस, सहज र सितल त मेरै प्रविधि छ

ख्वाक्क खोक्छु म तैमार्फत् !

मभित्रको ध्वाँस फोस्रो आडम्बर, ख्वाक्क !

लेख्छु, ‘बाबा हजूर लभ यू टु मच, मिस यू टु मच !’

राष्ट्रिय गौरवप्रति हजुरको माया सकियो अब हजुरको

इहलीलासँगै यी सब इतिहास भए कसियो ममताको तुनो,

गाँठो परेझैँ यी सब तिरस्कार भए

अब त केवल बाँकी छ फेसबुके

माया केवल खोक्छु, ‘बाबा हजूर,

लभ यू टु मच, मिस यू टु मच !’

अहँ छुँदैन मलाई हजुरको माया, ममता र तृष्णाले

मेरो त कर्तव्य नै सुषुप्त छ

अरुलाई देखाउन मात्रै खोक्छु ख्वाक्क,

अलि जोडले ख्वाक्क ! लेख्छु,

‘बाबा हजूर लभ यू टु मच, मिस यू टु मच !’

बाबा हजुर, हजुर यो संसारमै हुँदा

वचनले पिटेँ प्याट्ट व्यवहारले

घोचेँ घ्याच्च घृणाले पोलेँ च्वास्स क्रोध ओकलेँ

प्वाक्क पारेँ हुँला वाक्क दिक्क अनि

अहिले फेसबुक, ट्वीटर, इन्स्टाग्राममा

खुट्टै ढोगेको फोटो पोष्टिन्छु

चेपारे घस्दै भावुक बन्छु हिरिक्कै मायामा तड्पिन्छु

अनि स्टाटसमा खोक्छु, ख्वाक्क !

‘बाबा हजूर लभ यू टु मच, मिस यू टु मच !’