सिंनामंगलस्थित शारदा मा.वि. मा सञ्चालित आइसोलेसन सेन्टर बिस्तार

१ जेठ २०७८ ।
काठमाडौं महानगरपालिक सिंनामंगलस्थित शारदा माध्यमिक विद्यालयमा कोभिड–१९ बाट प्रभावित बिरामीहरुका लागि गत जेठ १० देखि संचालनमा आएको १५ शैयाको अक्सिजन सहितको आइसोलेसन सेन्टर गत आइतबारबाट २५ शैया थप गरी ४० शैयाको बनाइएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को प्रभाव बढेसंगै काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग, मात्रिका आइ सेन्टरको व्यवस्थापन तथा स्थानीय सामाजिक संस्थाहरु विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन, नव न्यानो फाउण्डेशनका युुवाहरुको सक्रियतामा अक्सिजन सहितको आइसोलेसन सेन्टर बिस्तार गरिएको हो ।
कोरोना संक्रमण देखिएका तथा चिकित्सकबाट होम आइसोलेशन बसी उपचार गर्न सुझाइएका बिरामीहरुका लागि निःशुल्क रुपमा सेवा दिने उद्देश्यले उक्त आइसोलेसन सेन्टर संचालनमा ल्याइएको छ ।
हाल ४० शैयाबाट सेवा दिइरहेको सेन्टरले बिरामीको चाप बढेसँगै यसको क्षमता बिस्तार गरी ९० शैयासम्म बनाउने योजना रहेको माट्रिका आइ सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले बताए ।
सो सेन्टरमा रहेका बिरामीहरु २४ सै घण्टा २ जना डाक्टर र ३ जना नर्सको निगरानीमा रहने व्यवस्था मिलाइएको छ । सेन्टरमा ५ थान अक्सिजन कन्सन्टे«टर मेसिनका साथै १८ वटा अक्सिजन सिलिन्डर व्यवस्था गरिएको छ ।
सेवा प्राप्त गर्नको लागि बिरामीहरुले सिधै सेन्टरमा आएर वा टेलिफोन नं. ९८६१२३०००९ मार्फत् सम्पर्क गर्न सकिने आइसोेलेसन केन्द्रका संयोजक सन्तोष नेपालले जानकारी दिनुभयो ।
सेन्टरले बिरामीहरुको दैनिक स्वास्थ्य जाँच, स्वास्थ्यकर्मीको परामर्श अनुसारको औषधी, पोषणयुक्त खाना–खाजा, फलफुल, योग अभ्यास लगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउँदै आइरहेको उहाँले जानकारी दिनुभयो ।
सेन्टरको परिचालन र व्यवस्थापनको लागि दैनिक १० जना स्वयम् सेवक खटिएका छन् । यो समूहले खाना पकाउने, सरसफाइ, दैनिक प्रशासकीय लगायत कार्य गर्दै आएका छन् ।
सेन्टरमा विभिन्न संघ–संस्था स्थानीय व्यक्तिहरुबाट समेत सहयोग प्राप्त भइरहेको आइसोेलेसन केन्द्रका संयोजक सन्तोष नेपालले बताए । हालसम्म २५ जना पुरुष र ३ महिला गरी २९ जनाले सेवा लिइसकेका छन् । ती मध्ये १८ जना बिरामी उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । साथै सेन्टरले ३ जना बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको छ । हाल ७ जना पुरुष र १ महिला गरी ८ जना बिरामी उपचाररत छन् ।