वाराणसीको कथा

२ असार २०७८ ।
डा.गणेशराज अधिकारी ।
द्वापर युगको कुरा हो । श्री कृष्णले सुदर्शन चक्रबाट काशीलाई भस्म बनाए । कालान्तरमा गएर यस काशी नगरले वाराणसीको नाम पायो । पूर्वीय दर्शनअनुसार वाराणसीलाई शिक्षा, सभ्यता र संस्कृतिको केन्द्र मानिदै आइएको छ । आज पनि यो मर्यादा कायमै छ ।
प्राचीन मगध देशका राजा जरासिन्ध थिए । उनी शक्तिशाली र क्रूर शासक पनि थिए । उनका प्रशस्त सेना थिए । ती सेना पनि शस्त्रास्त्रले पूर्ण थिए । छिमेकी शासकहरु उनीप्रति मैत्रीभाव राख्थे । जरासिन्धको प्रभाव वरिपरिका राज्यमा कमजोर थिएन । ऊ शक्तिशाली शासकका दर्जामा दरिन्थ्यो ।
मगध नरेश जरासिन्धका दुई छोरी थिए । तिनको नाम अस्ति र प्रस्ति थियो । जरासिन्धले यिनको विवाह मथुरा नरेश कंसका साथमा गराएको थियो । मगधमा प्रजाहरु राजा कंसबाट निकै नै प्रताडित भएका थिए । अत्याचारले सीमा नाघिसकेको थियो । कंस पापिष्ट भएकोले यो सब भइरहेको हो भन्ने लख काटिएको थियो । श्री कृष्णले कंसको यस किसिमको अत्याचारको हदलाई उसको वध गरेर मथुरावासीलाई आनन्दित बनाएका थिए ।
श्री कृष्णले कंस वध गरेपछि यता जरासिन्ध आफ्नो ज्वाँइको मृत्युको खबरले आहत भयो । उसले मथुरामा पटकपटक आक्रमण गरेर मथुरावासीलाई दुः ख दियो । श्री कृष्णले पनि पटकपटक उसलाई हराएर नगरवासीलाई बचाएका थिए ।
जरासिन्धले कलिङ्गराज र काशीराजका साथ र सहयोगमा फेरि मथुरामा आक्रमण गरेर दुःख दियो । श्री कृष्णले यी दुवै उसका सहयोगीलाई सदाका लागि विदा दिए । जरासिन्ध भने भागेर बच्न सफल भयो । पुत्र काशीराज पिताको मृत्युपछि राजा भयो । उसले श्री कृष्णसँग बदला लिने विचारले शिवको आराधना गरेर वर माग्यो । शिवले पनि उसले मागेको वर दिए । साथसाथै वरको दुरुपयोग नगर्न भनेर शिव त्यहाँबाट अन्तध्र्यान भए ।
दुष्ट कालयवनको दमनलाई सदाका लागि निमिट्यान्न पार्न कृष्ण मथुरावासीका साथ द्वारिका आए । यता काशीराज भने श्री कृष्णलाई वध गर्न कृत्यालाई द्वारिकातर्फ पठाउँछ । श्री कृष्ण ब्राह्मण भक्त भएको भेद काशीराजले पाएको हुदैन । यही कारण कृत्याले श्री कृष्णलाई कुनै प्रभाव पार्न सक्ने कुरै भएन । काशीराजले पाएको वरले पनि काम गर्न सकेको हुदैन ।
श्री कृष्णको सुदर्शन चक्रको प्रहार कृत्यातर्फ लक्षित हुन्छ । यसको प्रहारले कृत्यालाई दपेट्छ । केही जोड बल नलागेपछि कृत्याका अगाडि भाग्नुको विकल्प रहँदैन । प्राण रक्षार्थ भाग्दै काशी पुगेपनि सुदर्शन चक्रको रापले छोड्दैन । कृत्यालाई काशीमा भस्मखरानी पारेर पनि यो शान्त हुदैन । यसको प्रभावले काशीलाई भस्म बनाउँछ । काशी भस्मखरानी भएपछि मात्र यसको रिस शान्त हुन्छ ।
लामो समयको अन्तरालपछि वारा र असि नामका दुई नदीका बिचमा अवस्थित यो नगर पुनः वस्तीयोग्य नगरका रुपमा विकसित हुन्छ । वारा नदी र असि नदीका बिचमा बसेको यो नगर वाराणसीका नामले चिनिन थाल्छ ।
मान्छेको अभिमान अथ्र्याउने यो कथा सामयिक छ । अभिमानलाई यसले आफ्नो शत्रु मान्छ । आफूलाई आफ्नो वसमा राख्न नसक्नेहरुलाई यसले भस्म गराउँछ । वैदिक कथा भएर पनि यो राजनीतिक, समसामयिक र सान्दर्भिक कथा बनेको छ । परस्परमा लड्दा भाइ फुटे गवार लुटे भन्ने उखान चरितार्थ गर्न सफल छ ।
लेखक डा.अधिकारी साहित्यकार तथा शिक्षाविद् हुनुहुन्छ ।