टोखा नगरपालिकाका मेयर अधिकारी र उपपमेयर तामाङद्धारा पदबहाली

०६ जेठ २०७९ ।
टोखा नगरपालिकाका नवनिर्वाचित मेयर प्रकाश अधिकारी र उपपमेयर मुरारी तामाङले आज पदबहाली गर्नुभएको छ ।
पदबहाली गर्नुअघि टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश अधिकारीलाई काठमाडौंका जिल्ला न्यायाधिशले पद तथा गोपनियताको शपथ खुवानुभएको थियो भने नवनिर्वाचित नगर प्रमुख प्रकाश अधिकारीले उपप्रमुख मुरारी तामाङ, वडा अध्यक्षहरु र नगर सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।
नगरपालिका कार्यालयमा पदबहाली गर्नुहूदै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकालाई समद्ध बनाउनका लागि पहिलो कार्यकालमा शुरु भएका कार्यक्रमहरुलाई निरन्तरता दिने र नगरबासीहरुको भावना अनुसार नयाँ कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने बताउनुभएको थियो ।
पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, सुशासन र सेवा प्रवाहका कामहरुलाई नयाँ कार्यकालमा प्राथमिकता दिएर कार्य गर्ने पनि नगर प्रमुख प्रकाश अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ ।
नवनिर्वाचित नगर प्रमुख अधिकारी यसअधि २०७४ सालको निर्वाचनमा पनि मेयरमा निर्वाचित हुनुभएको थियो ।
पदबहालीका अवसरमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सुशासन, सेवा प्रवाह र नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले जनप्रतिनिधिहरु र कर्मचारीहरु मिलेर आफ्नो भूमिका र जिम्मेवारी अनुसार नगरको समग्र विकास र समृद्धिका लागि कार्य गरेमा नगरको विकास र समृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।

पदबहाली कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङलाई टोखा नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।