नगरपालिका संघको बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहराका मेयर कार्की निर्वाचित

९ साउन २०७९ ।
नेपाल नगरपालिका संघको बागमती प्रदेश संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ ।
त्यसैगरी संघको बागमती प्रदेश सहसंयोजकमा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी निर्वाचित हुनुभएको छ ।
संघले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशका नगरपालिकाहरुका मेयर र उपमेयरहरुको भेलाले सर्वसम्मत रुपमा संयोजकमा मेयर कार्की र सहसंयोजकमा मेयर रेग्मीलाई चयन गरेको हो ।
नेपाल नगरपालिका संघको बागमती प्रदेश सदस्यहरुमा नागार्जुन नगरपालिकाका उपपमेयर सुशिला अधिकारी, कमलामाई नगरपालिकाका उपपमेयर मञ्जु देवकोटा, चाँगुनारायण नगरपालिकाका मेयर रमेश बुढाथोकी, बनेपा नगरपालिकाका उपपमेयर बिमला सापकोटा, बिदुर नगरपालिकाका उपपमेयर प्रभा बोगटी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, कमलामाई नगरपालिकाका, मेयर उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, बाह्रबिशे नगरपालिकाका उपमेयर मञ्जु तामाङ, दक्षिणकाली नगरपालिकाका उपपमेयर बसन्ती तामाङ डंगोल र गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको संघले जनाएको छ ।

प्रदेश संयोजकमा निर्वाचित भएपछी कार्यक्रमलाई संबोधन गर्नुहुदै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउन आफूले सक्दो पहल गर्ने बताउदै राजनीतिक दल भन्दा माथी उठेर नगरपालिकाको हक अधिकार स्थापित गर्नका लागि आफूले कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सबै नगरपालिकाका समस्याहरुलाई साझा समस्याको रुपमा लिएर समस्या समाधान गर्न पहल गर्ने पनि संयोजक कार्कीले प्रतिबद्धता जनाउनुभएको थियो ।
नेपाल सरकार र प्रदेश सरकारसंग सहकार्य र समन्वय गरी नगरपालिकासंग सम्बन्धित ऐन कानूनहरु निर्माणका लागि कार्य गर्ने बताउदै नगरपालिकाहरुले गरेका कार्यहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि आफूले सरोकारवाला निकायहरुसंग समन्वय गर्ने पनि प्रदेश संयोजक उपेन्द्र कार्कीले बताउनुभएको छ ।
नगरपालिका संघको बिधान अनुसार बहुमत स्थानीय तहमा विजयी नेपाली कांग्रेस र दोस्रो ठूलो पाटी नेकपा एमालेबाट संयोजक र सहंयोजक चयन गरिएको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले पार्टी भन्दा माथी उठेर स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउने गरी जनप्रतिनिधिहरुले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव भिम ढुंगाना लगायत पदाधिकारीहर र बागमती प्रदेशमा भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।