काठमाडौं जिल्लाको छैठौं जिल्ला सभा सम्पन्न

२६ फागुन २०७९ ।

काठमाडौं जिल्लाको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा आज सो जिल्ला सभा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो । जिल्ला सभामा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाको आर्थिक बर्ष २०७९।०८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला सभालाई संबोधन गर्नुहुदै जिसस प्रमुख बुढाथोकीले जिससले संविधान बमोजिम जिससलाई भएको अधिकार बमोजिम काठमाडौं जिल्लाको समग्र विकासका लागि काठमाडौंका सबै पालिकाहरुसंग आवश्यक सहकार्य र समन्वय गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।
काठमाडौं जिल्लाको समग्र विकास व्यवस्थापन, सेवा प्रवाह लगायत पालिकाका समग्र कामहरुलाई व्यवस्थित र जनता केन्द्रीत बनाउन जिससले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला सभामा जिसस प्रमुख बुढाथोकीले बताउनुभएको थियो ।
जिल्ला सभामा जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख शान्ति पाण्डेले काठमाडौं जिल्लामा सञ्चालित विकास कार्यक्रम लगायत पूर्वाधार विकास, सामाजिक विकास लगायतका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिससले संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुसंग आवश्यक समन्वय र सहकार्य गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राज कुमार नकर्मी, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी लगायतले काठमाडौं जिल्लाको एकीकृत विकासका लागि जिससले गरिरहेको समन्वय र सहजिकरणको प्रशंशा गर्नुहुदै आगामी दिनमा समन्वयको कार्यलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जिल्ला सभाले जिल्लाको समग्र विकासका लागि सबै पालिकाहरुसंग गरिरहेको समन्वयको अवस्था, जिससले गर्नुपर्ने कार्यहरु लगायत जिससका गतिबिधिहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
जिल्ला सभामा पूर्वाधार विकास, खानेपानी व्यवस्थापन लगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गर्नुपर्ने, गैर सरकारी संस्थाका कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने लगायत काठमाडौं जिल्लाको एकीकृत विकासका लागि गर्नुपर्ने कार्यहरु लगायतका विषयमा छलफल भएको जिसस प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्ला सभामा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती डंगोल तामाङ, तारकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, जिससका पदाधिकारी तथा सदस्यहरु, काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपाल पोखरेल लगायत जिससका कर्मचारीहरुको सहभागिता रहेको थियो ।