सहकारी व्यवस्थापन सम्बन्धी २ दिने गोष्ठी टोखामा सम्पन्न

१३ चैत्र २०७९ ।
सहकारी व्यवस्थापन सम्बन्धी २ दिने गोष्ठी टोखा नगरपालिकामा सम्पन्न भएको छ ।
हिजोबाट टोखामा शुरु भएको सो गोष्ठी टोखा नगरपालिका सहकारी शाखाले आयोजना गरेको थियो ।
गोष्ठीलाई संबोधन गर्नुहुदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगर क्षेत्र भित्र भएका सहकारीहरुलाई व्यवस्थित र सुधार गर्न गोष्ठीले महत्वपूर्ण सहयोग पुर्याउने बताउदै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताउनुभएको थियो ।
गोष्ठीमा बागमती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङले सहकारी क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउन नगरपालिकाले गरेको प्रयासको प्रशंशा गर्नुभएको थियो ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताउदै गोष्ठीबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको थियो ।
गोष्ठीमा टोखा नगरपालिकाका पूर्व उपपमेयर ज्ञानमाया डंगोल, नेपाल सरकारका पूर्व सहसचिव एवम् समाजसेवी प्रेमराज जोशी लगायत सहकारीकर्मीहरुले सहकारी क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउन नगरपालिकाले आगामी दिनमा अझ बढि सक्रिय भएर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
सहकारी क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले सरोकारवालाहरुको सहभागितामा सो गोष्ठी आयोजना गरिएको टोखा नगरपालिकाले जनाएको छ ।
गेष्ठीमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।