टोखा नगरपालिका जालपा चोक जोड्ने पुल निर्माणको मेयर अधिकारीद्धारा शिलान्यास

१९ चैत्र २०७९ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले जाल्पा चोक जोड्ने पुल निर्माणको बानियाँटारमा आज शिलान्यास गर्नुभएको छ ।
बानियाँटार चोकमा आज आयोजित विशेष समारोहका बीच नगर प्रमुख अधिकारीले पुल निर्माणको शिलान्यास गर्नुभएको थियो ।
टोखा नगरपालिका वडा नं.११ र वडा नं.८ जोड्ने पुल साघुरो भई यातायातमा असुबिधा भएकोले पुल निर्माण गर्न लागिएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
ठेकेदार कम्पनीलाई तोकिएको समय अगाडी नैं काम सम्पन्न गरी नमूना योग्य कार्य गर्न नगर प्रमुख अधिकारीले आग्रह गर्नुभएको छ ।
नगर प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपर्नुभएको छ ।
पहिलो कार्यकालमा बाँकी रहेका अधुरा कार्यहरु पुरा गरी नगरलाई समृद्ध बनाउने अभियानमा आफू लागिपरेको मेयर अधिकारीको भनाई छ ।
टोखा नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायत नगरबासीहरुको माग र चाहना बमोजिम कार्य गरिरहेको नगर प्रमुख अधिकारी बताउनुहुन्छ ।
टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाले पूर्वाधार विकासका कामहरुलाई गुणस्तरीय बनाउन नियमित रुपमा अनुगमन गर्ने गरेको बताउदै पुल निर्माण कार्यलाई पनि गुणस्तरीय बनाइने बताउनुभएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले पुल निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरिने बताउदै नगरपालिकाले पूर्वाधार विकासका कामहरु लगायत शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
टोखा नगरपालिका आर्थिक प्रशासन शाखाका प्रमुख ज्ञान बहादुर अधिकारीले पुल निर्माण कार्यलाई छिटो, छरितो र व्यवस्थित बनाउन आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताउदै नगरपालिकाले नगरबासीको चाहना बमोजिम कार्य गरिरहेको बताउनुभएको छ ।
टोखा नगरपालिका प्राविधिक शाखाका प्रमुख इन्जिनियर पूजा सिंह र इन्जिनियर अमृत रिजालले पुल निर्माण कार्यलाई गुणस्तरीय तथा छिटो, छरितो र प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि आफूहरु अहोरात्र लागिपर्ने बताउनुभएको छ ।
पुल निर्माणको ठेक्का पाएको कम्पनी पुष्पाञ्जली देवी जेभीका अध्यक्ष टासी लामाले नगर प्रमुखले भन्नुभएजस्तै पुल निर्माण कार्यलाई तोकिएको समय अगावै काम सम्पन्न गर्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको वडा नं.९ का वडा अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिनुभयो ।
मूल्य अभिबृद्धि कर बाहेक ४ करोड ११ लाख १४ हजार ९ सय ३ रुपैंयाँको लागतमा सो पुल निर्माण गर्न लागिएको टोखा नगरपालिकाले जनाएको छ ।