काठमाडौं महानगरलाई धुलोमुक्त शहर बनाइदै, काठमाडौं शहरलाई सफा, सुन्दर र धुलोमुक्त शहर बनाउन महानगरपालिका लागिपरेको महानगर प्रमुख शाक्यको भनाई

 

१२ चैत्र २०७५ ।
काठमाडौं महानगरपालिकालाई धुलोमुक्त शहर बनाउन काठमाडौं महानगरपालिकाले ब्रुमर प्रयोगमा ल्याएको छ । महानगरपालिकाले आज ब्रुमरको औपचारिक रुपमा उद्घाटन गरी प्रयोगमा ल्याएको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै महानगर प्रमुख शाक्यले काठमाडौं शहरलाई सफा, सुन्दर र धुलोमुक्त शहर बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो ।
सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुसंग सहकार्य र समन्वय गरेर काठमाडौं महानगरपालिकाले कार्य गरिरहेको बताउदै महानगर प्रमुख शाक्यले महानगरलाई धुलो मुक्तका साथै हिलो मुक्त बनाउन पनि महानगर लागिरहेको बताउनुभयो ।
महानगरपालिकाले ब्रुमर ल्याउनका लागि दुई बर्ष पहिले नैं योजना बनाएपनि विविध कारणले ढिलाई भएको बताउदै काठमाडौंलाई धुलो मुक्त बनाउन ब्रुमर कम भएमा दुई वटा सम्म थप गर्न सकिने पनि बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइराला, पूर्व प्रमुख प्रशासकीय अधिकृत ईश्वर राज पौडेल र महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठले महानगरलाई सफा, सुन्दर र धुलोमुक्त शहर बनाउन ब्रुमरले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।
काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने ८ मिटर भन्दा कम चौडाई भएका सडकहरु सफा गरिनेछ ।
पुतलिसडक, सिंहदरबार, बानेश्वर, हात्तिसार, लैनचौर, तिनकुने, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिंनामंगल, सुन्धारा, टुँडिखेल, दरबारमार्ग, कालिमाटी, बल्खु, कलंकी लगायतका स्थानमा ब्रुमर सञ्चालन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, विभागीय प्रमुखहरु लगायत महानगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।