टोखा नगरपालिका नगर अस्पताल सञ्चालन गर्दैै, अस्पताल सञ्चालनपछि नगरबासीलाई सरल र सहज रुपले स्वास्थ्य सेवा उपलब्ध हुने नगर प्रमुख प्रकाश अधिकारीको भनाई

 

१६ चैत्र काठमाडौं ।
काठमाडौं जिल्लाको टोखा नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नगर अस्पताल सञ्चालनका लागि निर्णय गरी भवन समेत निर्माण कार्य समेत सम्पन्न गरिसकेको छ । आगामी आर्थिक बर्षदेखि नगर अस्पताल सञ्चालन हुने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ । साथै उहाँले नगरबासीलाई सरल र सहज रुपले स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि नगरपालिका सक्रियतापूर्वक लागेको पनि बताउनुभएको छ ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशीले नगर अस्पताल भवनको निरिक्षण गरी अस्पताल सञ्चालनका बारेमा नगरपालिकाको स्वास्थ्य केन्द्रका डाक्टरहरुसंग छलफल गर्नुभएको छ ।

अस्पताल सञ्चालन गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउदै उपप्रमुख ज्ञानमाया डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिका स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाई नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य प्रदान गर्नका लागि लागिपरेको बताउनुभएको थियो ।


सो अवसरमा टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशीले वडाले पनि नगर अस्पताल सञ्चालनका लागि सक्दो पहल गरिरहेको बताउनुभएको थियो ।


टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशीले श्री चण्डेश्वरी आधारभूत विद्यालयको निर्माणाधिन भवनको पनि अनुगमन गर्नुभएको छ ।

सो अवसरमा उपप्रमुख ज्ञानमाया डंगोलले श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई यहि शैक्षिक शत्रदेखि माध्यमिक विद्यालय बनाउन लागिएको जानकारी दिनुभएको थियो ।