काठमाडौंको टोखा नगरपालिकामा विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न, नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि आवश्यक कार्य शुरु गरिसकेको नगर प्रमुख प्रकाश अधिकारीको भनाई

२८ चैत्र २०७५
काठमाडौं जिल्लाको टोखा नगरपालिकामा विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको २०७५ चैत्र २८ गते बिहिबारका दिन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको थियो ।सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नगर प्रमुख प्रकाश अधिकारीले विपद् जोखिम न्यूनिकरणका लागि नगरपालिकाले आवश्यक नीति नियम बनाएर कार्य शुरु गरिसकेको बताउनुभएको थियो ।


विपद्बाट हुने जोखिम न्यूनिकरणका लागि नगरपालिकाका सबै वडामा कार्य गरिसकिएको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि सरोकारवाला निकायहरुसंग समन्वय गरेर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले टोखा नगरपालिकाले विपद् जोखिम न्यूनिकरणका लागि गरिरहेका कामहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव ऋषि आचार्य, गृह मन्त्रालयका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका कार्यक्रम संयोजक कृष्ण कुमार केसी, विपद् विज्ञहरु सुरेश पण्डित र निलम पराजुलीले विपद् जोखिम न्यूनिकरणका लागि स्थानीय तहले गर्नुपर्ने कार्यहरु लगायत विपद् जोखिम न्यूनिकरण सम्बन्धी भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु लगायत जनप्रतिनिधिहरु, विज्ञहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।