धुलिखेल र वनेपा नगरपालिका बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल

काठमाडौं २५ माघ (स्थानीय सरोकार)
काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल नगरपालिका र वनेपा नगरपालिका बालमैत्री बन्न सक्रिय भएर लागेका छन् । दुबै नगरपालिकाले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक कार्य शुरु गरिसकेको पनि जनाएका छन् ।

धुलिखेल नगरपालिका र वनेपा दुबै नगरपालिकाले आफूलाई नेपालकै नमूना नगरपालिका बनाउने उद्येश्यका साथ नगरलाई बालमैत्री बनाउने अभियान शुरु गरेको बताएका छन् ।

धुलिखेल नगरपालिका र वनेपा नगरपालिकाले बालबालिकाले बालभेलाबाट छनोट गरेका योजनाहरुलाई नगर सभाबाट पारीत गरी कार्यान्वयन गर्न शुरु गरेको जनाएका छन् ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु टोल, बस्ति, वडा र नगरस्तरमा बालक्लव गठन गरी नगरलाई बालमैत्री बनाउनन नगरपालिका लागि परेको उल्लेख गर्दै नगरलाई बालमैत्री बनाउन शिक्षक, अविभावक, बालक्लव, सञ्जाल, सामाजिक संघ, संस्था लगायत सरोकारवालाहरुसंग सहकार्य गरेर नगरपालिकाले कार्य गरिरहेको बताउनुहुन्छ । बालबालिकाको हक अधिकार सुनिश्चित गरी आगामी एक बर्ष भित्रमा नगरलाई बालमैत्री बनाइने नगर प्रमुख अशोक ब्याञ्जुको भनाई छ ।

धुलिखेल नगरपालिकाका कार्यक्रम अधिकृत एवम् बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति विदुर गौतम टोल, बस्ति र वडास्तरदेखि नैं बालबालिकाका समस्याहरु समाधान गर्न नगरपालिकाले पहल गरिरहेको बताउदै बालभेलाबाट बालबालिकाहरुले छनोट गरेका योजनाहरुलाई प्राथमीकतापूर्वक कार्यान्वयन गर्न शुरु गरिएको र नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक कार्य शुरु गरिसकिएको बताउनुहुन्छ ।

वनेपा नगरपालिकाका जनप्रतिनिधिहरु पनि नगरलाई बालमैत्री बनाउन सक्रियतापूर्वक लाग्नुभएको छ ।

वनेपा नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ र नगर कार्यपालिकाका सदस्य ज्योति बोगटीले वडा र नगरलाई बालमैत्री बनाउन पहल गरिरहनु भएको छ ।

धुलिखेल नगरपालिका र वनेपा नगरपालिकालाई बालमैत्री बनाउन नगरमा क्रियाशिल बाल क्लव र सञ्जालका पदाधिकारीहरु पनि सक्रिय भएर लागेका छन् ।

धुलिखेल नगरपालिका र वनेपा नगरपालिकाले बालमैत्री घोषणाका लागि शुरु गरेको अभियानले चाँडै सार्थकता पाओस् र दुबै नगरपालिका चाँडैं बालमैत्री बनुन् । यहि छ हाम्रो धुलिखेल र वनेपा नगरपालिकालाई शुभकामना ।