प्रधानमन्त्री दाहालसँग चीनका रक्षामन्त्रीको भेटवार्ता

श्रोतः इकान्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले भेटवार्ता गरेका छन् ।

नेपालको तीनदिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीले बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताए । प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवानविरोधी गतिविधिको सधैं नेपालले विरोध गर्ने प्रस्ट पारेको उनको सचिवालयले जनाएको छ । चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्री दाहालले बताएका थिए ।

नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति सन्तोष व्यक्त गरे । रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको बिहीबार रातिदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरे । उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद व्यक्त गरे ।