टोखा नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुको वडा कार्यालय तथ्यांक संकलन गर्दै

टोखा नगरपालिका वडा नं. ५ ले वडामा बसोबास गर्ने दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुको तथ्यांक संकलन गर्ने भएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को न्यूनिकरणका लागि गठित कोरोना संक्रमण रोकथाम समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको वडा अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिनुभएको छ ।
बैठकले कालोबजारी रोक्न अनुगमन गर्ने, कोही कसैले कालोबजारी गरेको भेटिएमा कडा कारवाही गर्ने, अत्यावश्यक खाद्य सामाग्री र ग्याँसको आपूर्ति तथा व्यवस्थापनको लागि खाद्य संस्थान र साल्टट्रेडिङ लगायतसंग समन्वय गर्ने निर्णय गरेको नगर कार्यपालिका सदस्य कल्पना घिमिरेले जानकारी दिनुभएको छ ।
साथै बैठकले केहि दिनको लागि आफ्नो घरको फोहोर आफ्नै घर कम्पाउण्ड भित्रै व्यवस्थापन गर्न वडाबासीहरुलाई आग्रह गर्दै वडाका टोल र बस्तीमा किट्नासक औषधी छर्ने निर्णय गरेको वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभएको छ ।

यसैबीच टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला मजदुरी गरी खाने कोही पनि व्यक्तिहरुलाई भोकै नराख्ने उद्देश्यले नगरपालिकाले उनिहरुको तथ्यांक संकलन गरी राहत दिन लागेको बताउनुभएको छ ।
यसका लागि नगर प्रमुख प्रकाश अधिकारीले आफु बसोबास गरिरहेको वडा कार्यालयमा गई वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य एवम् कार्यालयमा उपस्थित कर्मचारीलाई नाम टिपाउन अनुरोध गर्नुभएको छ ।

यसैबीच नगर प्रमुख प्रकाश अधिकारीको निर्देशन बमोजिम टोखा नगरपालिकाका सबै वडा कार्यालयहरुले आ आफ्नो वडामा भएका दैनिक ज्यालादारी र विपन्न व्यक्तिहरुको तथ्यांक संकलन गर्न शुरु गरेका छन् ।