शरण भित्रको समर्पण

<शरण कसलाई भनिन्छ ?

शृ हिन्सायाम् धातुबाट करणमा ल्युट् प्रत्यय गर्नाले शरण शब्दको निष्पत्ति हुन्छ ।।
“शृणाति हिनस्त्यविद्यादीन्क्लेशादीन् शरणमाश्रयः परायणमिति,अर्थात् अविद्या आदि(अविद्या अस्मिता राग द्वेष र अभिनिवेश)क्लेशहरुलाई जसले नष्ट गर्दछ,त्यसलाई शरण भनिन्छ ।अथवा यस्तो पनि भन्न सक्छौं कि”शृणोति हिनस्तिदुखमनेनेति शरणम् “या यस्तो “शीर्यते दुखमस्मिन्निति शरणम्”अर्थात जसद्वारा दुख नष्ट हुन्छन् त्यसलाई शरण भनिन्छ वा जसमा दुख शीर्ण हुन्छ त्यो शरण हो।
“शरणम् गृहरक्षित्रोः ले शरणको अर्थ आश्रय र रक्षिता पनि हो।
यस दृष्टिकोणले विचार गर्ने हो भने वस्तुत:परब्रम्ह परमात्मा नै शरण हुनुहुन्छ ।जसरी तरङ्गको आश्रय महासमुद्र हुन्छ त्यसरी जीवको आश्रय पनि परमात्मा नै हुनुहुन्छ ।परमात्मा नै रक्षिता पनि हुनुहुन्छ।।
किनकि
“स एनमविदितो न भुनक्ति
(बृहदारण्यक १/४/१५)
इत्यादि श्रुतिहरु यहि घोष गर्दछन् कि जबसम्म आत्मतत्वको साक्षात्कार हुदैन तबसम्म त्यो पालक बन्न सक्दैन अर्थात् रक्षा गर्न सक्दैन ।।
जसरी रज्जुको ज्ञानले त्यसभित्र कल्पित सर्प या तज्जन्य भयको निवृति हुन्छ,त्यसरी नै ब्रम्हात्म तत्व ज्ञानले त्यसमा कल्पित संसार एवं तज्जन्य भयको निवृति हुन्छ।
जसरी विज्ञात रज्जुतत्व भय निवर्तक रक्षक हुन्छ,त्यसरी नै ब्रम्हतत्व संसार निवर्तक या रक्षक हुन्छ ।।
जसरी घटाकाश को आश्रय महाकाश हुन्छ,तरंगको आश्रय जलाशय हुन्छ,त्यस्तै प्रकारले नै उपाधिपरिच्छिन्न चैतन्यस्वरूप जीवको आश्रय अनवच्छिन्न चैतन्यरूप ब्रह्म हो।
त्यसैले” शरणं प्रपद्ये”यस्तो भनियो भने यसको अभिप्राय सर्वाधिष्ठान स्वयंप्रकाश ब्रह्मस्वरूप नित्य अपरोक्ष भगवानलाई म आफ्नो भय निवर्तक रक्षकरूपले एवं आश्रयरूपले निश्चय गर्दछु।।

शरण तीन प्रकारका छन।
१.तस्यैवाहम्(म उनको नै हूँ)
२.ममैवासौ(उनी मेरा नै हुन)
३.स एवाहम्(म त्यही हूँ)

यी तीन प्रकारका शरणहरुको विस्तृत वर्णन अस्मदाचार्य श्री मधुसूदन सरस्वतीज्युले श्रीभगवद्भक्तिरसायन द्वितीय उल्लासको ६०देखि ७२सम्मको कारिकामा गर्नु भएको छ।विशेष जिज्ञासुहरुलाई यसको अवलोकन गर्न आवश्यक छ।
भगवान भन्नुहुन्छ’जो व्यक्ति एक चोटी मात्र शरणमा आएर “म तिम्रो हूँ” यस्तो भनेर प्रार्थना गर्दछ भने उसलाई म सम्पूर्ण प्राणीहरुबाट अभय गर्दछु।यो मेरो सधैको ब्रत अनुष्ठान पनि हो।

सकृदेव प्रपन्नाय तवास्मीति च याचते।
अभयं सर्वभूतेभ्यो ददाम्येतद् व्रतं मम।।
(वाल्मीकि रामायण यु.का.१८/३३)

यस्ता परम करुणामय अशरणाशरण,शरणागतवत्सल, शरणागतभयहारी,सर्वबिधमंगलकारी,सर्ववतार परमोत्स श्री भगवान नारायणका अतिरिक्त अन्य कुन यस्तो जीव शरण लिन योग्य हुन सक्छ र?अर्थात कोई हुन सक्दैन।।
त्यसैले

भवन्तं सर्वभूतानां शरण्यं शरणं गतः।।
(वाल्मीकि रामायण यू.का.१९/५)

ॐ नमो नारायणाय
निर्मल चैतन्य

बौद्ध ६ काठमांडौ