विरसिका भाग १ (अङ्क ४)

डा.गणेशराज अधिकारी
५ वैशाख २०७७ ।
विरसिकालाई भागराज त्यही वुद्दिशिलामा बसेर अब हिरानन्द बनियाँसंग बुझसत्वको सम्बन्ध जोडिएको कथा सुनाउँछ ।
हिरानन्द बनियाँ भन्छ, हे भाई बुझसत्व ! तिमी मन्त्री पुत्र रहेछौ । मन्त्रीको त विश्वास हुदैन । तैपनि भाई भयौ । धन दौलत सम्भार गरेर बसौला । मालिक झैं भएर नोकर चाकर खटाएर आनन्द गरी बसौला भन्छ । यसपछि बुझसत्व भन्छ, हे बनियाँ दाज्यै ! धर्म र विश्वास त बनियाँहरुसित छैन । पान सुपारी चाकरी गरी एक रुपयाँको माल तिस रुपयाँमा बेच्दछन् र पनि साँउमा टुट्टा पर्याे । साउँमात्र उठ्यो भन्छन् । हामीमा विश्वास छ तर बनियाँहरुमा विश्वास छ्रैन भनेर भन्छन् बनियाँ भन्छ, हे भाई ! मन्त्री पुत्र त्यस्तो हुँदा त हो । तैपनि परम्परामा चलेको एउटा कथा बताउँछु सुन ।
विद्यापुर भन्ने देसमा गुनाकर नाम गरेको मन्त्री थियो । उसको अनरङ्ग नाम गरेको छारो थियो । त्यो बहुत अनारी थियो । कसैका बारीका फलफूल बाँकी राख्दैन्थ्यो । चराबचेरा कसैका खेलौना केही छोड्दैन्थ्यो । सारालाई सताएको थियो । यस्तो सन्तान भएकोमा मन्त्री आफुलाई धिक्कार्छन् । मन्त्रीले अरुका गारा अप्ठ्यारामा साथ दिनपर्छ । सहयोग गर्नपर्छ अनिमात्र मक्सद फत्ते हुन्छ भन्छन् । मन्त्रीको कथा कस्तो रहेछ त ? बुझसत्व भनेर हिरानन्दले बतायो भनी भागराजले विरसिकालाई बताउँछ ।
बाबुले गाली गरेपछि अनरङ्ग अवाक् बन्छ । रामसिंह नोकर ठाकुरसंग नजिकिन्छ । के भयो ? किन रोयौ ? पिताले गाली गरेको घटना बताउँछ । दुवैजना अब घर छोडेर निस्कने निचोडमा छन् । भन्सारमा पसेर धनदौलत हात पारेपछि घर छोड्छन् । यात्रामा जङ्गलको वास पर्छ । त्यहाँको एउटा छाप्रोमा यी दुवै आश्रय लिन्छन् ।

त्यस पाटीमा केहीबेर ढिला गरेर एक जोगी पनि आएर वास बस्छन् । यात्राको थकानले रामसिंह भुस हुन्छ । अनरङ्गमा भने निद्रा छैन । ऊ जोगी महाराजलाई शास्त्रका विषय बताउन भन्छ तर जोगी भने आफ्ना गुरुको आदेश भएकाले एउटा उपदेशको एक लाख मोल पर्ने बताउँछ । उसले ज्ञान लिन चाहेकोले जोगी एउटा उपदेशको एकलाख रुपयाँ लिएर यस्तो उपदेश दिनछ ः हे दाता ! आफ्ना स्वामी सेवक आफ्नो देस छोडी विराना देसमा गएर वडा भई राजा, मन्त्री, ब्राह्मण,रानी भई रहेको छ भने त्यो कुरा यो हो भनी प्रकाश गर्न हुदैन । त्यसैसित मिली बस्न पर्छ अनिमात्र आफ्नो कार्य सफल हुन्छ ।
अर्काे उपदेशका लागि जोगीले फेरि एक लाख लिन्छ र यसरी बताउँछ ः हे बाबुु ! कस्तै हतपतको काम भएपनि नाच, किर्तन, दान, पुण्य, हरिकथा, पुराण लाग्न गएका ठाउँमा पुगियो भने केहीबेर भएपनि हेरीसुनी जानु ।

अब जोगी अर्काे एकलाख लिएर अर्काे उपदेश यसरी बताउँछ ः बाबु हुन वा आफ्ना भएपनि साक्षी नभएको कुरो नभन्नु, मनैमा राखिरहनु ।
अन्तमा जोगीले फेरि एक लाख रुपयाँ लिएर अन्तिम उपदेश यसरी बतायो ः कोही मानिसले हतपत आई चाँडो चाँडो गरेको कुरामा एक्कासी उत्तर नदिनु, विचार गरेरमात्र जवाफ दिनु ।
कथा थाहा पायौ त बुझसत्व भाई भनेर हिरानन्द बनियाँले भन्यो । रामसिंह उठ्छ । सारा रित्तो देखेर निलो बन्छ । अनरङ्ग वेलिविस्तार लगाउँछन् । रामसिंह अब उसका पछि लाग्नुको अर्थ ठान्दैन । बिहान भएपछि दुवै आफ्ना गन्तव्यतिर लाग्छन् ।
अनरङ्ग घुम्दै जाँदा विद्यमानपुर देसमा पुग्छ । थकानले बाटाको एउटा थोत्रो पाटीमा बस्दै गरेको समयमा त्यस देसका मन्त्रीले उसलाई सोध्छन्, हे महापुरुष ! तिमी कहाँबाट आयौ ? कसका छोरा हौ ? त्यसपछि उनी भन्छन्, मन्त्री साहेव ! म विद्यापुर देसको राजाको चिरुवादारको छोरो हुँ । मेरो नाम अनरङ्ग हो । यसपछि उसलाई मन्त्रीले तबेलामा राख्छन् । ऊ चिरुवादार भयो भनेर बनियाँ हिरानन्दले बुझसत्वलाई बतायो ।
रामसिंह कमारो पनि टहलिदै त्यसै देसमा पुग्छ । राजाका वगैँचामा पसेर अनेक सिसाफल खान थाल्यो । मालीहरु हैरान परे । आफ्नो खाजा समेत चोरिन थालेपछि महाराज समक्ष विन्ती विसाए । मन्त्रीसंग सल्लाह गरेर राजाले चोर पक्रने आश्वासन दिए । कसैगरी पनि चोर पक्राउ परेन ।
राजाका लागि सिसाफल लिन गएको मन्त्री रुखका फेदमा तिरकमान छोडेर सिसाफल टिप्न रुखमा चढ्यो । यता दाउ पर्खेर बसेको रामसिंह मन्त्रीले रुखका फेदमा राखेको तिरकमान बोकेर सिधै राजा नजिक सवार भयो । रङ्गमहलमा विश्राम गरिरहेका राजालाई सिधै छातीमा तिरकमान छाडी परमधामको बाटो लायो । त्यसपछि सिधै मन्त्री भएका ठाउँमा गयो । उसलाई देखेर मन्त्रीको सातो उड्यो । अब उसका अगाडि रामसिंहलाई राजा बनाएर आफू मन्त्री बनेर बस्ने भन्दा अर्काे विकल्प पनि थिएन । उसले प्रतिज्ञा गर्याे ।
मन्त्रीले रानीलाई पनि हरतरहले सम्झायो । आश्वस्त बनायो । घटना, परिस्थिति समयले रामसिंह नोकर त्यस देसको राजा भयो । पहिलाकी रानी उसकी महारानी भई । वुद्दिशिलामा बसेर भागराजले विरसिकालाई हिरानन्द बनियाँले बुझसत्वलाई यस्तो कथा भन्यो भनेर सुनायो ।

स्रोत ः विरसिका भाग १ क्रमश………..
लेखक डा. अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।