विरसिका भाग १ (अङ्क ५)

डा.गणेशराज अधिकारी ।

६ वैशाख २०७७ ।
मन्त्रीहरुको खेल त विचित्र विचित्रको पो छ त बुझसत्व भनी हिरानन्द बनियाँले भनेको प्रसङ्ग कथा बुद्दिशिलामा बसेर भागराज विरसिकालाई सुनाउँछ । त्यसपछि के भो त गुरुवर ? विरसिका प्रश्न गर्छ । मन्त्री र राजाको कथा प्रसङ्ग बनियाँले बुझसत्वलाई सुनाई रहेका छन् अब उनैबाट सुन भनेर भागराज विरसिकालार्इृ भन्छ ।
मन्त्रीले राजालाई अब महाराजले राज्यको भ्रमण गर्नपर्छ भन्छ । राज्यको अवस्था जान्न यो वास्तविक समय हो । रामसिंह राजालाई यो मनासिव लाग्छ । सवारी चल्न तयार छ । मन्त्री सवारीका लागि चिरुवदारलाई तयारी हालतमा राख्छ । हात्तीका हौदामा सवार भएका राजालाई देखेर अनरङग् आश्चर्य चकित बन्छ । यो मेरो कमारो कसरी राजा भयो ? हौदामा राजालाई देखेर रैतीहरु पनि छक्क पर्दै मुखामुख गर्छन् । लोक राजाको रुप फेरिएको हो कि भन्ने भ्रममा पर्छ । बल्ल यतिबेला राजा अनरङ्गलाई देख्छन् । जोगीको उपदेश बमोजिम ऊ भेद खोल्दैन । कर्मको खेलले मान्छेको भाग्य बदलिने कथा यथार्थ लाग्छ । हिरानन्द बनियाँ बुझसत्वलाई कर्म र भाग्यको खेल देख्यौ भाई भनेर मन्त्री राजाका चित्रहरु देखाउँछन् ।
सवारी फर्केपछि राजा मन्त्रीलाई चिरुवादार मलाई देऊ । त्यो ज्ञानी जस्तो छ । तबेलाको मालिक बनाउँला भनेपछि मन्त्री उसलाई राजासमक्ष हाजिर गराउँछन् । उसको पदोन्नति भएर कोठामोचे हुन्छ । यसै क्रममा एकदिन राजलाई सिकारमा जाने मनसुवा हुन्छ । लावा लस्कर सिकारमा निस्कन्छन् । राजा आफ्नो कटारी छुटेकोले कोठामोचेलाई लिन पठाउँछन् । कटारी लिन आएको बेला उसले रानी र कोतवाला क्रिडाभोग गर्दै गरेको देख्छ । यसको साक्षी प्रमाण कोही नभएकोले नदेखेझैं गरी निस्कन्छ । उता रानीमा भने खटपट बढ्छ । साँझ राजा फर्कदा रानी अँध्यारो मुख लगाएर बसेको देखेपछि राजा जिज्ञासा राख्छन् । हजुरले राख्नु भएको चाकर असल छैन ।। मान भाउ केही गर्दैन । जतासुकै सिधै पस्छ । यस्तो चाकर राख्न हुदैन । राजा मैले पठाएर आएको हो भन्छन् तर रानीको मनमा भने अब यसलाई कसरी मार्ने र बाटाको काँढा पन्छाउने भन्ने चिन्ता छ ।

राजा रानीको चुक्लीका अगाडि अडिन नसकेपछि कोठामोचेलाई मार्ने योजना सफल बनाउनतिर लाग्छिन् । यो चिठी बोकेर आउने मान्छेलाई काटिदिनु भन्ने व्यहोरा हुन्छ । यो चिठी लिएर जाने र सुब्बाबाट उत्तर लिएर आउने भनी उसलाई पठाइन्छ । चिठी बोकेर जाँदै गर्दा बाटामा एक व्यक्तिले आफ्नो सम्पतिको रक्षा गरिदिन बिन्ती बिसाउँछ र चिठी लिएर ऊ जान्छ । चिठीको भाका बमोजिम पत्रबाहक काटिन्छ । जोगीको उपदेशले आफू बचेको र रानीको षडयन्त्र हो भन्ने हेक्का रहे पनि प्रमाण नभएकोले बोल्दैन । यता ऊ बचेपछि रानी विषाद्मा पर्छिन् । आपत्मा परेको मानिसलाई सहयोग गर्न लाग्दा म ढिला भएँ तर महाराज सुब्बाको कुरा के हो ? राजाले म के रहेछ बुझौंला भने । रानीका मनमा थप तनाव मडारियो । असफल भएकोमा चिन्ता पनि ।
अनरङ्लाई मार्न उनले भण्डारखालमा बडेमाका कराईमा तेलपाक तयार गर्न लगाइन् । जो पहिला यहाँ तेल तयार भयो भएन ? मसला के भो भनेर आउँछ त्यसलाई यही तेलमा पकाउनु भनेर उर्दी लगाउने योजना बमोजिम उसलाई बोलाएर सोध्न पठाइन् । अनरङ्ग निस्कन लाग्दा सहरमा पुराण लागेको देखेपछि जोगीको उपदेश बमोजिम केहीबेर पुराणतिर लाग्यो । यता रानी अब त मोरो पाक्यो होला तेलमा भन्दै आफै भण्डारखालमा पसेर हे सेवक हो ! तेल कस्तो भयो ? मसला के भो ? भनेर सोध्न लागेपछि जवानहरुले उनैलाई समातेर तेलका पाकमा हाले । केही बेरपछि अनरङ्ग आइपुगे । रानी आफ्नो कुकर्मको सिकार भएको दृश्य देखेपछि राजालाई विन्ती गर्नुपर्छ भन्दै राजकक्षतर्फ लागे ।

अनरङ्ग फर्केर राजा भएका ठाउँमा जान्छन् । सारा दरवारमा उनको खोजी गरिन्छ । कतै नभेटेपछि उपद्रो खेलको पर्दा अनरङ्ग यसरी खोल्छन् महाराज हजुर सिकारमा जान लाग्दा कटारी बिर्सेपछि म लिन आउँदा रानी र कोतवाला शयनकक्षमा क्रिडाभोगमा थिए । मसंग प्रमाण नभएकोले बताइनँ । त्यही कारण नरहे बाँस नबजे मुरली भनेर मलाई मार्न सबै रानीको खेल थियो । तर विडम्वना सिकार आफै भइन् । त्यसपछि कोतवाला पक्रियो । कर्मको फल उसले मृत्युु पायो । अर्की रानी विवाह गरेर राजाले पनि चरम सुखको भोग गरे । दुनियाँ कस्तो रहेछ त बुझसत्व भनेर हिरानन्दले भने भनी भागराज विरसिकालाई बताउँछन् ।
राजा रामसिंह र अनरङ्ग यसपछि निकट पारिवारिक बन्छन् । उनका मन्त्री प्रचण्डकी छोरी विद्यालक्ष्मीसंग उनको विवाह गराउँछन् । प्रशस्त धन दौलत दिएर हात्ती घोडा र पाल्की सहित उनलाई विद्यमानपुरसम्म पुग्ने व्यवस्था मिलाइन्छ । विवाह पश्चात् अनरङङ्ग पनि आफ्नो देश र घर फर्कन्छन् । ज्ञान, वुद्दि र अनुभवले अनरङ्ग पनि पिताको बिंडो थाम्ने र मन्त्रीको मर्यादा थेग्न सक्ने भएका हुन्छन् । चतुर्याईले मान्छे कसरी सफल बन्दो रहेछ भनी बुझसत्वलाई बनियाँ हिरानन्दले विस्तार गरेको कथा भागराज विरसिकालाई बताउँछ ।
स्रोत ः विरसिका भाग १ क्रमश ः
डा. अधिकारी शिक्षाविद् एवम् साहित्कार हुनुहुन्छ ।