विरसिका भाग १ (अङ्क ६)

७ वैशाख २०७७ ।
डा.गणेशराज अधिकारी
विरसिका गुरु भागराजलाई अब के हुन्छ ? त्यसपछि के होला भनेर सोध्छ । गुरु भागराज बुझसत्व र हिरानन्द बनियाँको कथा वार्ता सुन्न आग्रह गर्छन् ।
हे बनियाँ दाजु ! तिमीले भनेको कुरा ठिकै हो । बनियाँ खेल र मन्त्री खेल के हो ? ल अब म परापूर्व कालमा भएको एउटा घटना बताउँछु । बनियाँ बुझसत्वलाई उक्त घटना भन्न आग्रह गर्छ ।
एक देसमा शिवदत्त नामको बनियाँ थियो । उसको छोराको नाम हरिदत्त थियो । ऊ बहुतै अनारी थियो । बनियाँ भएर पनि ऊ व्यापारमा अञ्जान थियो । व्यापारीले ग्राहकसंग नरम र नम्र भएर बोली आफूलाई नाफा रहने गरी व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा थिएन । व्यापारको सिलसिलामा ऊ चुन बोकेर घिउसंग सराबरी साट्ने गरी हिड्यो । चुन र घिउको व्यापारमा ऊ सफल भएन । बाटामा उसको भेट शिबदत्तको साथी धनदत्तसंग भयो । तँ मेरो साथीको छोरो रहेछस् । यसरी व्यापार गरेर बनियाँ भइदैन । मसंग हिड म व्यापार सिकाउँछु । धनदत्तले हरिदत्तलाई आफ्नो भान्से बनाएर लग्छन् । हेर त दाजु बनियाँको खेल भनेर बुझसत्वले हिरानन्दलाई भने ।

धनदत्तको समूहमा रहेको एउटा हजाम विरामी भई बाटामै छोडिन्छ । त्यहाँ एउटा तलाउको छेउमा चौर पनि थियो । त्यस तलाउको छेउमा भंगितापुरकी राजकुमारी सखिहरुका साथमा सयर गर्न आएकी थिइन् । त्यही बेला एउटा राक्षसले राजकुमारीलाई तलाउको छेउमा ल्याएर खान लाग्यो । त्यतिबेला भित्रभित्र डराए पनि हजामले कठोर भएर राक्षसलाई छोड भन्यो । अरु केही राक्षसलाई मैले भर्खरमात्र पाता कसेर लडाएको अब तेरो पालो आएजस्तो छ । रुखबाट अ‍ोर्लदै खल्तीबाट ऐना झिकेर देखायो । डरलाग्दो अर्को राक्षस देखेपछि डरायो । हे मनुवा ! मलाई नमार,भनेको मानौंला । तँलाई भन्दै उसले राक्षसलाई छुरी धसेर मारिदियो ।
तिमी को हौ ? यो पापिष्ट राक्षसको फेला परिछौ । राजकुमारी भन्छे मलाई आपतमा बचाउने तिमी नै मेरा लागि स्वामीका लायक छौ । म संग हिड । मेरो दरबारमा लिएर जान्छु । यति भनेपछि हजाम उनको पछि लाग्यो । यिनीहरु भंगितापुर पुग्छन् । राजकुमारीले सारा वृतान्त बताएपछि राजाले उनको विवाह हजामसंग गरिदिए । राज्याभिषेकसमेत गरियो । ऊ त्यस देसको राजा भएर बस्यो भनी बुझसत्वले हिरानन्द बनियाँलाई बतायो ।

हे बनियाँ दाजु ! धनदत्तले त्यसपछि हरिदत्तलाई चार लाख रुपयाँ दिएर पठायो । ऊ आफ्नो घरतिर लाग्यो । हरिदत्त भने अरु केही वर्ष कमाएरमात्र फर्कने सोचले तलाउको बाटो हुँदै भंगितापुरतिर लाग्यो । ऊ त्यहाँ गएर दोकान थापेर बस्यो । राजा सयल गर्न निस्केका थिए । त्यही समयमा उसले राजालाई देख्यो । हेर्छ त हजाम पो छ । राजाले पनि उसलाई चिन्छन् । ऊ दरवारमा डाकियो । दर्शन भेट भयो । राजाले मान गरेर उसलाई व्यापारीबाट चौधरीमा नियुक्त गरिदिए । अब ऊ शक्तिमा आयो । बनियाँ ऊ अब राजालाई कसरी हल्लाउने भन्ने आन्तरिक खेलमा लाग्न थाल्यो ।
शास्त्रको ज्ञान अब चौधरीका लागि झनै चाहिने भयो । खोजी नीति गर्न थाल्यो । मानिस बिगार्ने विभिन्न मदहरुमध्ये उसले त्यहाँ बेश्या मद उपयोग गर्ने सोच बनायो । उसले एउटी राम्री युवती राजासमक्ष उभ्यायो । राजा त्यसमा लठ्ठ परी अयसमा लागे । ऊ भने दिनानुुदिन निरन्तर काममा लागि रह्यो । आफ्नो मक्सदका लागि । आफ्नो उद्देश्यका लागि ।
राजाबाट उसले बकसमा एउटा राम्रो घर पाउँछ । त्यसलाई सजाउँछ । परेका बेला सायद् उसका अपेक्षा पुरा गर्दो हो । घरमा गतिला सिकारी कुकुर पनि पालेको थियो । रानीलाई राजाले बाटो विराउँदै छन् भन्ने सूूचना पनि दिन बिर्सेको थिएन । रानीकी सुसारे रङ्गबेलीलाई चियो गर्न पठाउँछ । राजा र त्यस स्त्रीका बिच भएका सारा कुरा रानीलाई थाहा हुन्छ । यता रानीलाई सबै समस्या समाधान भइहाल्छ भन्ने सान्त्वना पनि दिएकै छ । यही बिचमा घर देखाउन भनेर लगेको मन्त्री घर फर्कदैन । केही दिनपछि राजालाई पनि सोही रितले आफ्नो घर देखाउन लग्छ । सबै कोठाचोटा देखाएर अन्तमा अर्को चोकबाट भित्र पठाई बाहिरबाट ढोका थुनेर सदाका लागि समाप्त गरेर दरबार फर्कन्छ र राज्यको थिति बिगारेर मन्त्री तथा राजा दुवै भागे भन्छ । अब राजा तथा मन्त्री आवश्यक भएकोले मन्त्रीको छोरालाई मन्त्री बनाउँछ । राजा आफै बन्छ र रानीलाई चित्त बुझाउन भन्छ ।
हरिदत्त राजा बन्छ । राज्यको थिति बमोजिम राज्य चलाउँछ । हेर बनियाँ दाजु, बनियाँको खेल कस्तो रहेछ भनेर बुझसत्व हिरानन्दलाई भन्छ । हरिदत्तले राजा मन्त्री सबै समाप्त गरेर कसरी राज्यको बागडोर आफ्नो हातमा लिन सफल भयो भन्ने कथा भागराजले विरसिकालाई बतायो । ।।
विरसिका फेरि भन्छ, गुरुवर ! यसपछि के भो त ? सुघा भन्छ, यी दुवैका खेल केही कम छैनन् । मौका पर्नासाथ आफ्ना खेल खेलिहाल्छन् । यिनका खेलमा लोक साक्षी छ । बताइरहन पर्छ र ? हिरानन्द बनियाँले आफ्नो सम्पतिको आधा हिस्सेदारीको भागिदार बनाई उसलाई सबै काम जिम्मा लगाउँछ । यसपछि यी दुवै एउटा हात्तीमा चढेर रत्नपुर देसतिर लाग्छन् भनी भागराज विरसिकालाई बताउँछ ।
क्रमशः
डा. अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।