धर्ममा चाणक्य सूत्रको प्रभाव

२४ असार २०७७ ।
डा.गणेशराज अधिकारी ।
सामाजिक धार्मिक मान्यताहरुले हाम्रो सामाजिक व्यवहार चल्छ । यसरी प्रयोग हुने हाम्रा सामाजिक मान्यता हाम्रा सनातन परम्परा हुन् । सनातन यी परम्परालाई हामीले हाम्रा मान्यता हुन् भनेर स्वीकार गर्दै आएका छौँ । यसरी स्वीकार गरिएका यी मान्यता हामीले मान्दै आएका धर्म हुन् । धर्मलाई धारणाका रुपमा पनि लिन सकिन्छ । हामी जस्तो धारणा बनाउँछौँ त्यो नै धर्म हो ।
हामीले बनाउने धारणा नै धर्म हो । हाम्रा व्यवहारमा धर्म र परम्परासँग सम्बन्धित आफ्ना पृथक् पहिचानहरु जोडिएका छन् । शिक्षा, दर्शन, राजनीति, अर्थनीति, न्याय, कानुन, सदाचारजस्ता विषयमा चाणक्यको विशेष सन्दर्भ जोडिन्छ । यिनी आचार्य चणकका छोरा भएकाले आफ्नो खास नाम विष्णुगुप्तबाट भन्दा पनि चाणक्यको नामबाट चिनिन्छन् । विचारक चाणक्य आजभन्दा लगभग २४०० वर्ष अगाडि भारतका टुक्रे राज्यलाई यवन सम्राट् सिकन्दरले आफ्नो कब्जामा ल्याउँदै गर्दा देखा परेका हुन् । भारतको पाटलीपुत्रमा उनको जन्म भएको मानिन्छ । त्यस ठाउँलाई हाल पटना भनेर चिनिन्छ ।
धर्म भनेको धारणा हो । चाणक्यका विचारलाई धर्मका विषयमा जोडेर हेरिन्छ । उनी धर्मको पालना गर्नु सुखको मूल मर्म मान्दछन् । मानवको कर्तव्य नै धर्म गर्ने हो । धर्मनीतिले संसारलाई वास्तविक अवस्थामा ल्याउँछ । एक हिसाबले हेर्दा चराचर जगत्को पालना नै धर्म हो । हाम्रो समाज, हाम्रो भूगोल, हाम्रो स्थानीय तहजस्ता निकायमा हामी के यो धर्म पालन गरिरहेका छौँ ?
धर्म अवलम्बन गरे समाज वा देशले उन्नति गर्छ भन्ने मत चाणक्यको रहेको छ । यसको अर्थ त्यहाँका नागरिक राज्यको नीति मान्ने सदाचारी छन् भन्ने हो । नीतिले कहिल्यै देश, समाज वा अहिलेका हाम्रा स्थानीय तहको निष्ठापूर्ण बाटोमा अवरोध गर्दैनन् । नीति नियम मान्दा कुनै शैक्षिक संस्था धराशयी हुदैन । कोही शिक्षकले नीति मान्दा अपमानित हुनुपर्दैन । कुनै विद्यालय वा व्यवस्थापनले आत्मग्लानि गर्न पर्दैन । नीति वा विधि मान्नु हाम्रो नैतिक दायित्व नै हो । सामाजिक सवालका कसीमा घोट्दा नीतिले धर्म बोध गराउँछ । धर्म मान्नु हाम्रो नैसर्गिक दायित्व बन्न जान्छ । मान्छे, व्यक्ति वा संस्था जो सुकै भएपनि आफैँ वा स्वयम्बाट पनि त अलिकति कर्तव्यको , मर्यादाको, जिम्मेवारीको र अनुशासनको डर हुन पर्ने होइन ? हामी राक्षस त होइनौँ होला नि ? अध्यक्ष हुनेले, विद्यालयको हेड हुनेले , समाजको सचेत नागरिकले यति पनि भेद गर्दैनौँ भने के भन्ने ? के हाम्रो समाज वा हाम्रा स्थानीय तह, सेना , प्रहरी स्वास्थ्य, शिक्षाजस्ता अति संवेदनशील निकायहरु जिम्मेवारी बोधको धर्म निर्वाह गरिरहका छन् त ?
सिकार धार्मिक दृष्टिले ठिक छैन । यसले मनुष्य वृत्ति नास्छ । जनावर , जन्तु, पंक्षीहरुलाई खाद्यका लागि प्रेम गर्नु धर्म होइन । अरुलाई तनाव दिएर आफू कसरी त्यस ठाउँमा बस्न सक्न्छि ? आवेग, उत्तेजना र पुरानो धङधङे छोडेर कर्तव्यको पथमा आउन जति अबेला गर्छौँ उति नै नोक्सानी व्यहोर्ने निश्चित छ । हाम्रो सनातन धर्म भनेको सके अरुलाई सहयोग गर्ने नसके असहयोग चाहिँ नगर्ने नै हो । के हामी यो धर्म अवलम्बन गरिरहेका छौँ ? यस किसिमको भूमिका निर्वाह भइरहेको छ त ?

समाजको विकासमा पनि धर्मको भूमिका रहेको छ । विकासका लागि धन आवश्यक पर्छ । धनको प्राप्तिका लागि अनुष्ठान जरुरी छ । यो साधना हो । यसले मानिसमा धार्मिक भाव जगाउँछ । विकासका लागि स्रोत परिचालन गराउँछ । मान्छे अजम्वरी छैन । अतः उसले आर्जन गरेको धन राज्यका लागि समर्पण गर्छ । यसले देशको विकासका लागि योगदान गर्दछ । यही कारण ऊ मर्न पनि डराउँदैन । धर्मको रक्षा गर्दा मृत्यु नै हुन्छ भनेपनि ऊ तयार रहन्छ । त्यसबाट विमुख बन्दैन । के संस्थाको विकास र उन्नतिका लागि हामी नीति मान्न तयार छैनौँ ? के हामी समाजमा यसो गर्न सकिरहेका छौँ ? समाज र सनातन धर्मले के हामीलाई यही सिकाएको हो ?
हाम्रो धर्मले दानलाई अनिवार्य भनेको छैन । दान दिनु धर्म हो भनेको छ । फरक यति छ, हामी विवेकले दान दिन्छौँ कि बाध्य भएर दिन्छौँ । देखाउनका लागि दान दिनु धर्म होइन । आडम्वर हो । अभिमान र दम्भ हो । दान धर्म भएपनि यसको प्रकृति कस्तो छ भन्ने चाहिँ अहम् सवाल हो । दान गरेर नाम किन्ने घिन लाग्दो परम्परा आज पनि हाम्रो समाजमा विद्यमान रहेको छ । स्वार्थ प्रेरित दान तुच्छ मानिन्छ । यस किसिमका मान्छे पनि हाम्रै समाजमा हामीले भेटेकै छौँ । के हामी मन वचन र कर्मले बद्ध भएर धर्मका लागि दान गरिरहेका छौँ ?
लोक धर्मलाई आज पनि हामी मानिरहेका छौँ । यो हाम्रो सनातन परम्परा हो । धर्मले लोकको संरक्षण गर्छ भन्ने प्राचीन मान्यता रहेको छ । धर्मले धारणाको काम गर्ने भएकोले सकारात्मक धारणा राखेर लोकको हितलाई महत्व दिइन्छ । मान्छेलाई श्रेष्ठ कर्म गर्न धर्मले नै प्रेरित गर्ने हो । यसले मानिसलाई खराब कर्म गर्नबाट बचाउँछ । यसले कर्तव्य पालन गराउँछ । व्यक्तिले गरेको यही कर्मले ऊ अनन्य उच्चता, ओज र अग्लाइ प्राप्त गर्दछ । के हामीले यस किसिमको उच्चता प्राप्त गरेका छौँ ? हामीले गर्ने धर्म के लोकाचारका लागि मात्र हो त ?
धर्म दयाको अर्को नाम हो । दयाका कारण नै हामी धर्म निर्वाह गछौँ । कर्मवृत्तिले धर्म गराउँछ । सत्य र दान दुवैमा धर्मको अंश रहेको हुन्छ । धर्म रक्षाले हाम्रो पहिचान जोगाउँछ । परम्पराको अध्ययन र खोजले सत्यवादीहरु कहिल्यै नहारेको प्रमाणित गर्दछ । सूर्यको प्रकाशलाई बादलले केही क्षणमात्र निस्तेज गर्ने हो । यसले सधैँ अन्धकार बनाउन सक्दैन । रश्मिले बादल हटाएर आकाश छ्याङ्ग पारेजस्तै मानव धर्मले मानवलाई लोकको विजेता बनाउँछ । धर्मनिष्ठ व्यक्तिबाट मृत्यु पनि डराउँछ । ऊ कदापि कर्मबाट विमुख बन्दैन । के हामी यस्तो कर्म गरिरहेका छौँ ? आफ्नो पदीय जिम्मेवारी कति समयका लागि हो ? विधि पद्धति बमोजिम नवीकरण वा पुनर्नियुक्ति चाहिँदैन ? त्यही हो विधि मानेको ? त्यही हो पदीय धर्म ? अनि हाम्रा व्यवस्थापन समितिहरु म्याद गुज्रेका सिटामोल बोकेर ज्वरो कम भएन भन्दै छन् । औषधिको मिति सकिएको हेर्नु परेन महोदय ? यही धर्म हो तपाईँको ?
धर्म मानवीय धारणा हो । मानवीय धारणा क्षति भयो भने सङ्कट आइपर्छ । त्यहाँ धर्मको अपमान हुन्छ । दुर्जनको सङ्गत त्याज्य छ । यही सात्विक विचार परम्परादेखि नै चल्दै आएको छ । श्रीखण्डमा बसे पनि सर्प निर्विष कहाँ हुन्छ र ? हाम्रो समाजका हामीले हिजो असल भनेका मानिसहरु पनि खराब मानिसको संसर्गले आज यहाँ सत्ताको दलदलमा फसेका यथेष्ट दृष्टान्तहरु हाम्रै अगाडि छरपस्ट छन् । हामी ठिक गरिरहेका छौँ त ? के हाम्रो सनातन परम्पराले हामीलाई यही सिकाएको हो त ?
दान दिनु वा धर्म गर्नु निकै विचारणीय विषय हो । दान दिनु धर्म भएपनि पात्र नचिनी गरिने दान धर्म होइन । दाताले दान दिंदा विचार नगरी गरिने दान प्रत्युत्पादक रहन्छ । सकारात्मक धारणा बनाउँदा पनि यदाकदा निकै हेक्का राख्न पर्ने हुन्छ । हामी पनि कतै समाजमा यसो त गरिरहेका छैनौँ ? पात्र दानका लागि योग्य हो वा होइन नियाल्नु जरुरी छ । विद्यार्थीलाई गर्नुपर्ने दान माग्ने वा अनाथलाई नपरोस् । वेदान्त दर्शनमा उल्लेख भएभन्दा बाहिर गएर दान गर्नु ठिक मानिदैन । यो धर्म होइन । के हामी सनातन धर्म मानिरहेका छौँ त ?
हाम्रो परम्परागत मान्यता धर्मका विषयमा कति उदार वा सङ्कीर्ण छ , त्यो समीक्षाकै विषय हो । सांस्कृतिक कर्ममा धर्म जोडिदा भने आडम्बर प्रदर्शन हुन्छ । सकारात्मक धारणाका विपक्षमा मत राख्न हाम्रो धर्मले निषेध गरेको छ । समस्या यही हो । हामी त्यही चिन्दैनौँ र धर्मको विरोध गर्छौँ । सुखको बाटो छोडेपछि अनि दुःख नभएर के हुन्छ त ? सत्य वा जीवन छोड्नु दुःख बेसाउनु हो । सत्यको बाटोमा हिड्दामात्र असल मान्छेको सद्भाव र अहोभाव प्रकट हुन्छ । यसैले मान्छेलाई असल कर्म गरेर स्वर्ग प्राप्तिको बाटो खोल्दछ । यो सत्यको साधनाले मात्र प्राप्त हुन्छ । सत्यभन्दा ठुलो साधना र तप अर्को केही छैन । अतः असत्य छोडेर सत्यमा लीन हुनु संसारको सबभन्दा ठुलो मानव धर्म हो । सत्यले नै मानिसलाई स्वर्ग लैजान्छ । अथवा असल कर्म गरेर यही भूमि स्वर्ग बनाउँछ । सत्य नै वास्तविक धर्म र यस लोकको व्यवस्था हो । यही सत्यलाई दानमा दिने धृष्टता गर्नूपर्दछ । हामी हाम्रो स्थानीय समाजमा यस किसिमको अवस्था पाउँछौँ ? यो सनातन धर्म के हामी अवलम्बन गरिरहेका छौँ त ? हाम्रा व्यवहारमा चाणक्यका नीतिहरु क्ति सामयिक छन् त ? के हामीले यस गूढ पक्षको रहस्य र गहिराइ पर्गेल्ने प्रयत्न गरेका छौँ ?
सत्यमेव जयते भन्ने भाव नै हाम्रा अग्रजले हामीलाई सिकाएको पाठ हो । हामीले गरेका र गर्ने हरेक व्यवहारमा चाणक्यले व्यक्त गरेका विचारहरुले महत्व पाएका छन् । हाम्रो धारणा सामाजिक मान्यतासँग कति मेल खान्छ त्यो त व्यवहारले निर्धारण गर्ने नै छ । हाम्रा तमाम मूल्य मान्यता हामीलाई सामाजिक र धार्मिक बनाउने प्रकृतिका छन् । हाम्रा स्थानीय मूल्य मान्यता समाजका आयामसँग मेल खाने छन् वा छैनन् त्यो हामीले नै पर्गेल्ने विषय हो । हाम्रो जीवन दर्शन सामाजिक मान्यताबाट भन्दा अभिमान र आडम्बरबाट त चलेको छैन ?गहिराइमा भएका रहस्य खोज्न अबेला भएन ? हामी हाम्रो वास्तविक धरातलमा त टेकिरहेका छौँ ?
डा. अधिकारी शिक्षाविद् हुनुहुन्छ ।