टोखा नगरपालिकाद्धारा स्वास्थ्यकर्मीहरुलाई १ सय ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय

८ भाद्र २०७७ ।
टोखा नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई १ सय ५० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
टोखा नगरपालिकाको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाले स्वास्थ्यकर्मीहरुको कार्यको कदर गर्दै भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले टोखा नगरपालिका वडा नं.२ लगायत अन्य वडाहरुमा आईसोलेशन निर्माणका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा रहेको आईसोलेशन निर्माण तथा व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
बैठकले टोखा नगरपालिका वडा नं. २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरउन्नतिका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनका लागि बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।

कार्यपालिका बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अप्रत्यक्ष रुपमा खटिने अन्य सवारी चालक र स्वास्थ्य शाखाका कर्मचारीहरुलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।

टोखा नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिने मेडिकल अधिकृत लगायत स्वाब संकलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलको १ सय ५० प्रतिशत भत्ता आइसोलेशन सेन्टर सञ्चालन भएको मितिदेखि उपलब्ध गराउने निर्णय गरेको त्यसैगरी कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १ सय प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको नगर प्रवक्ता बच्चु बस्यालले जानकारी दिनुभयो ।


सो भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभयो ।
बैठकले प्रत्येक वडा कार्यालयबाट खटिएका बढिमा १५ स्वयम्सेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत् कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।