टोखा नगरपालिका वडा नं.११ को प्रशासकीय भवन निर्माण हुदै, नगर प्रमुख अधिकारीद्धारा शिलान्यास

५ मंसिर २०७७ ।
टोखा नगरपालिका वडा नं.११ को भवन निर्माणको शिलान्यास गरिएको छ ।

टोखामा आयोजित विशेष कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालका ११ नं. वडाको निर्माण हुन लागेको वडा भवनको शिलान्यास गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाका भाडामा बसेका वडाको भवन निर्माण गर्ने नगरको योजना बमोजिम वडा भवनको शिलान्यास गरिएको र केहि दिनमै वडा नं. ९ को भवन निर्माणको पनि शिलान्यास गरिने बताउनुभयो ।

वडाको भवन निर्माण कार्य तोकएकै समयमा सम्पन्न गर्नका लागि नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने नगर प्रमुख अधिकारीको भनाई थियो ।
नगर प्रमुख अधिकारीले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरपालिका लागिपरेको बताउदै निर्वाचनका बेला गरेका प्रतिबद्धता बमोजिम नगरबासीहरुको हितका लागि आफूले कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख प्रकाश अधिकारीले पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, सूचना प्रविधि, सम्पदा तथा संस्कृति संरक्षण, शहरीकरण व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको जानकारी दिनुभएको थियो ।

टोखा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष उत्तम अधिकारीले वडाको भवन निर्माण कार्य सम्पन्न भएपछि वडा कार्यालबाट हुने कामहरुलाई छिटो, छरितो र प्रभावकारी बनाउन सहज हुने बताउदै तोकिएकै समयमा वडाको भवन निर्माण कार्य सम्पन्न गरिने बताउनुभएको थियो ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर ११ नं. वडा कार्यालयले कार्य गरिरहेको पनि वडा अध्यक्ष उत्तम अधिकारीले बताउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जगन्नाथ ढकाल, दिपक राज जोशी, वडा सदस्यहरु रामभक्त घिमिरे, महेश थपलिया र फुलकुमारी बिश्वक्रर्मा लगायतले नगरपालिका र वडाको समग्र विकास र समृद्धिका साथ साथै विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत वडामा भैरहेका विकास निर्माण र सेवा प्रवाहका कार्यहरुलाई प्रभावकारी र वडाबासीमैत्री बनाउन आफूहरु लागिपरेको बताउदै वडामा भैरहेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, लेखा अधिकृत ज्ञान बहादुर अधिकारी, न्यायिक समिति सदस्य गोपी पाठक लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु र ११ नं. वडाका बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कूल ३ करोड रुपैंयाँको लागतमा निर्माण हुन लागेको सो भवन निर्माण कार्य आगामी २ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका निर्माण कार्य शुरु हुन लागेको ११ नं. वडाका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभएको छ ।