संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रि. वि. बीच समझदारी पत्रमा हस्ताक्षर

१९ मंसिर २०७७ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र सचिव एकनारायण अर्यालको उपस्थितिमा मन्त्रालयमा आज भएको विशेष कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।
प्रदेश तथा स्थानीय तहका प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि शैक्षिक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्ने सम्बन्धी सो समझदारी-पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव डा.गोपी कृष्ण खनाल र त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा.शशीराम जोशीले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउदै मन्त्रालय दक्ष र सक्षम जनशक्ति उत्पादनमा लागेको बताउनुभएको थियो ।


आजको समझदारीपछी प्रदेश र स्थानीय तहमा प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्ने मन्त्री त्रिपाठीले विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालय दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिएर लागेको बताउदै प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता विकासमा मन्त्रालय लागेको बताउनुभएको थियो ।
सचिव अर्यालले मन्त्रालय प्रदेश तथा स्थानीय तहमा हुने कामहरुलाई सुशासनमैत्री, पारदर्शी र जवाफदेही बनाउन लागिपरेको पनि बताउनुभएको थियो ।

प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि सात वटै प्रदेशमा प्रदेश सुशासन केन्द्रहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रादेशिक सुशासन केन्द्रहरुमार्फत् प्रदेश र स्थानीयतहमा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबीच आज भएको समझदारीपछी प्रदेश र स्थानीय तहमा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने सचिव अर्यालको भनाई थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपती प्रा.डा.धर्मकान्त बाँस्कोटाले दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले गरेको कार्यको प्रशंशा गर्नुहुदै दक्ष जनशक्ति उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारसंग सहकार्य र समन्वय गरेर कार्य गर्ने बताउनुभएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव एवम् प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डा.गोपी कृष्ण खनाल, सह सचिव एवम् प्रवक्ता बसन्त अधिकारी र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक चिरञ्जिवी तिम्सिनाले प्रदेश तथा स्थानीय तहका प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि शैक्षिक कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्न र दक्ष जनशक्ति उत्पादनमा आज भएको समझदारीले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको छ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह सचिव राजीव पोखरेल, शहरी विकास मन्त्रालयका सह सचिव सुरेन्द्र मोहन श्रेष्ठ लगायत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।