नेपाल नगरपालिका संघद्धारा नगरपालिकाहरु पुरस्कृत

१४ चैत्र २०७७ ।

नेपाल नगरपालिका संघले विभिन्न ३ वटा नगरपालिकाहरुलाई पुरस्कृत गरेको छ ।
नेपाल नगरपालिका संघको २८औं स्थापना दिवसको अवसरमा २०७७ चैत्र ११ गते काठमाडौंमा भएको विशेष कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री के.पी.शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका, झापाको कंकाई नगरपालिका र स्याङजाको वालिङ नगरपालिकालाई यस बर्षको उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र कार्यकारी निर्देशक कलानिधि देवकोटाले संघले नेपालमा नगरपालिकाहरुको सुदृढिकरण, व्यवस्थापन, शहरीकरण व्यवस्थापन, सरसफाई, क्षमता विकास लगायतका क्षेत्रमा कार्य गरिरहेको बताउदै संघका विविध गतिबिधिहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र सेवा प्रवाहको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत रुपन्देहीको तिलोत्तमा नगरपालिका, आर्थिक र राजस्वको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत झापाको कन्काई नगरपालिका र शहरी योजना तथा वातावरण व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत स्याङ्जाको वालिङ नगरपालिकालाई पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले तिलोत्तमा, कन्काई र वालिङ नगरपालिकाको जस्तै उत्कृष्ट कार्य गरी आगामी बर्ष पुरस्कृत हुन अन्य नगरपालिकाहरुलाई आग्रह गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई साधन स्रोत सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउदै स्थानीय तहले नागरिकलाई आगामी दिनमा अझ सरल, सहज र प्रभावकारी रुपले सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिडको रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै नेपालको समग्र विकास र समृद्धिमा स्थानीय सरकारको अहम् र असाधारण भूमिका रहेको पनी बताउनुभएको थियो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले जनताका पिरमर्का बुझेर स्थानीय सरकारले कार्य गर्नुपर्ने बताउदै स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउन मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभएको थियो । कार्यक्रममा पुरस्कृत नगरपालिकाहरु रुपन्देहीको तिलोत्तमा नगरपालिका, झापाको कन्काई नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुखहरुले आ आफ्नो नगरपालिकाले प्राथमिकता दिएर क्षेत्रहरु लगायत पूर्वाधार विकास, सुशासन, आर्थिक विकास, सेवा प्रवाह, राजस्वको व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पुरस्कृत नगरपालिकाका नगर प्रमुखहरुले पुरस्कारबाट नगरको समग्र विकास र समृद्धिमा आगामी दिनमा थप प्रभावकारी र सक्रिय भएर लाग्न हौसला प्राप्त भएको बताउदै नगरलाई समृद्ध र नमूना नगरपालिका बनाउने अभियानमा आफूहरु लागिपरेको पनी बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना, गाउँपालिका महासंघका महासचिव बंशलाल तामाङ, जिल्ला समन्वय समिति महासंघका कार्यकारी महासचिव कृष्णचन्द्र न्यौपाने लगायतले स्थानीय सरकारलाई बलियो र स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा शहरी सुशासन, सरसफाई लगायतका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एशिया फाउण्डेशन, जीआइजेट र बिल एण्ड मेलिण्डा फाउण्डेशनका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका संघद्धारा प्रकाशित पुस्तक बिमोचन पनी गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका पदाधिकारी तथा सदस्यहरु, विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु लगायत स्थानीय तहको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।