को हो ठुलो ? (कथा) मित्र महामुनि दुर्लभ माना

१८ जेठ २०७८ ।

डा.गणेश राज अधिकारी ।
धेरै अगाडिको कुरा हो । कोही राज्यमा एक शक्तिशाली शासक थिए । राज्यमा उनको नाम र प्रशंसा थियो । उनको काम पनि त्यस्तै नै थियो । नागरिकहरु दःुःखबाट टाढा थिए । उनी श्रद्धा र प्रशस्तिका पर्याय बनेका थिए । नागरिकप्रति पनि उनको श्रद्धा थियो । उनीप्रतिको सम्मानले उनमा अभिमान जागेको थियो ।
ज्ञान र गुणले सम्मानित भएका ती शासक आफूमा भएको त्यो गुणको परख गर्न चाहान्थे । उनले दरबारको सामन्तलाई सोधे, मान्यवर ! ममा के कति गुण छ ? सत्य बताऊ । तब उसले बतायो, सकार ! मौसुफमा सर्वगुण सम्पन्न विशेषताहरु छन् । यसपछि उनले एउटा सभाको आयोजना गरे ।
सभा बस्यो । सभासद्हरुले सर्वत्र प्रशस्ति गाए । उनमा त्यसले थप हुटहुटी जाग्यो । सबैका स‘बैले उनमा दोष नरहेको बताए । गुणमात्र केवल गुणमात्र देखाए । उनी स्वयममा भने जिज्ञासा पलाइ रहेको थियो । सायद् यिनीहरु मेरा अगाडि दोष देख्दैनन् । सब गुणमात्र देख्दछन् । उनलाई भने यसले झन् पिरोल्दै थियो ।
शासकले आफ्ना भाइ, भारदार, आफन्त र आफ्ना नागरिकलाई समेत आफ्ना गुणहरु मात्र छन् त ? भनेर जान्न हरतरहका प्रयत्न गरे । तर सबका सब बाट त्यही उत्तर आयो । गुणवान । तपाईँमा सबै गुणहरु खचाखच छन् । यस किसिमको जवाफले उनमा एक खालको आनन्द त दिलायो तर उनमा यसले झन् पीडा थपिदियो । उनी सन्तुष्ट हुन सकेनन् । उनले आफ्ना गुरुलाई सोधे । गुरुबाट पनि दोष नभएको कुरा आयो । शक्तिशाली भएको । दानी भएको । सहयोगी भएको । उदार भएको । आदि आदि । जनजनका मतले पनि त्यही भन्यो । तमाम नागरिकहरुले त्यही भनेको ठाने ती शासकले पनि । सबै सबै दृष्टिले हामी पालित र पोषित छौँ । यसमा केको सन्देह ?मन आल्हादित भएपनि उनमा अझ शान्ति मिलेको थिएन ।बरु अझ हुटहुटी र छटपटी बढ्यो ।
शासक आफ्नो राज्यको सीमा हुँदै रथयात्राका साथ यही रहस्य थाहा पाउन टाढाको यात्रामा निस्किए । आफ्नो राज्यभर जयजयकारका तुमुल ध्वनिहरु प्रवाहित भए । राज्यको सीमा नाघेर पनि उनको यात्रा रोकिएन । यात्रा अझ अगाडि बढ्यो । रहस्य पत्ता लगाउने कुरा अझ प्रकाशित भइरहेको थिएन । अगाडिको उल्लास र उमङ्ग एवम् उत्सव भने शून्यान्त भइसकेको थियो । यात्रा भने जारी थियो । एवम् क्रमले रथ अगाडि बढ्दै थियो । सन्नाटा बढ्न थाल्यो ।निकै लामो दुरी पार गरेर अगाडि बढेपछि टाढैबाट एउटा रमाइलो फाँट देखियो ।त्यहाँ पुग्न त्यस्तै एक प्रहर बराबरको समय लाग्ने अड्कल थियो ।

रथ अगाडि बढ्दै गर्दा बाटो साँघुरियो । केही अगाडि बढेपछि देखियो कि उताबाट पनि एउटा तामझाम सहितको रथयात्रा यतैतिर आउँदै छ । दुवै एक आपसमा आम्नेसाम्ने भए । अब एकआपस पार गर्नलाई एउटाले पछाडि हटेर छेउ नलागे यात्रा रोकिने पक्का थियो । तर को पछाडि हट्ने ? समाजको नियम बमोजिम ज्ञान, उमेर र गुणका हिसाबले जो श्रेष्ठ छ उसलाई बाटो छोड्नपर्ने विधान थियो ।
रथ यात्रामा निस्केका यी दुवै स्वयम् श्रेष्ठ थिए । रथको सारथिले अर्को सारथिलाई भन्यो, हे सारथि ! बाटो देऊ । हाम्रा शासक महान् छन् । तिमीले मार्ग प्रशस्त गर्नुपर्छ । उताबाट पनि यही उत्तर आयो । तब दुवैको अवस्था जाँचियो । समान देखिन गयो । राज्य र शासनको भार तथा उपलब्धि हेरियो । त्यो पनि समान । समस्याले अझ अल्झायो । मेसो पाउन हम्मेहम्मे भयो ।
समस्याले नै समाधान पहिल्याउने हो ।मान्छेको महानता जाँच्ने कसी एउटा बाँकी थियो, त्यो गुण । अब गुणको परख गर्ने विषय बाँकी थियो । सकारात्मक सोच र नकारात्मक सोच के कस्तो छ ? यही विषयमा मत बाझियो । उनले बल्ल रहस्यको गाँठो थाहा पाए । उनको जिज्ञासा परितोष भयो । ती शासकले रथबाट ओर्लेर महात्मालाई श्रद्धाका साथ माथ निहुराई दण्डवत् गरे अनि सारथिलाई रथ पछाडि सार्न निर्देश गरेर बाटो लागे । बाटाभरि उनले सकारात्मक सोचको साथ सहयोग गर्ने नै वास्तविक साथी र सहयोगी हुन् भन्ने सन्देश थाहा पाउन पनि मैले मेरो समूहबाट सिकेको रहेनछु । शासक हतारोमा थिए । उनी यो भारी बिसाउन चाहान्थे सायद् । शब्दले यो रहस्य भने खोलेको देखिदैन्थ्यो ।
लेखक डा.अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।