पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्तिको राप्रपा प्रभावशाली नेता श्रेष्ठद्धारा स्वागत

३० जेठ २०७८ ।
रापपा प्रभावशाली नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले पाँच पूर्व प्रधानमन्त्रीहरुले हिजो जारी गर्नुभएको विज्ञप्तिको स्वागत गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले हिजो संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलिबाट नेपालको संविधानमाथि प्रहार भएको भन्दै आपत्ति जनाउनुभएको थियो ।
प्रधानमन्त्री ओलिको कदमले निरन्तर संविधानमाथि प्रहार भैरहेको भन्दै पूर्व प्रधानमन्त्रीहरुले भत्र्सना गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीहरुले राष्ट्रिय हित बिपरित कुनैपनि कार्य नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गर्नुभएको छ ।
राष्ट्रियताको सवालमा पूर्व प्रधानमन्त्रीहरुको समान धारणा हुनु सकारात्मक भएको बताउदै राप्रपा नेता श्रेष्ठले बाह्य हस्तक्षेप बन्द गर्ने सवालमा साँच्चिकै राष्ट्रवादी भएमा २०६२ साल मंसिरमा भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिको सम्बन्धमा पनि पूर्व प्रधानमन्त्रीहरुले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।
यदि १२ बुँदे सहमति गलत हो भने त्यसलाई सच्याउनुपर्ने राप्रपा नेता श्रेष्ठको भनाई छ ।
राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुको बिकल्प नभएको राप्रपा नेता श्रेष्ठले बताउनुभएको छ ।
राप्रपा जहिते पनि मुलुक र जनताको हितका लागि प्रतिबद्ध रहेको नेता श्रेष्ठको भनाई छ ।