जनसहभागिताका कामलाई स्थानीय तहले प्राथमिकता दिदा विकासमा सहयोग पुग्छ ः ढकाल

११ अशोज काठमाडौं ।
स्वशासन अध्ययन प्रतिष्ठानका निर्देशक विनोद ढकालले जनसहभागिताका कामलाई स्थानीय तहहरुले प्राथमिकता दिएर कार्य गरेमा स्थानीय तहको विकास र समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम.९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै उहाँले हाल भएका नीति नियमको प्रभावकारी कार्यान्वयन गरी जनतालाई सहज, सरल र प्रभावकारी रुपले सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले गर्ने कामहरुलाई प्रभावकारी बनाउन तिन वटै सरकारका बीचमा समन्वय र सहकार्य आवश्यक भएको उल्लेख गर्दै स्थानीय तहहरुले जनतासंग राय सुझाव लिएर काम गरेमा जनताका समस्याहरु थाहा हुने र विकास निर्माणका काम गर्न सहज हुने पनि बताउनुभयो ।
स्थानीयस्तरको विकासमा गैरसरकारी संघसंस्थाहरुको भूमिका पनि महत्वपूर्ण हुने भएकाले स्थानीय तहहरुले गैरसरकारी संस्थाहरुलाई सहि रुपमा परिचालन गर्नुपर्नेमा ढकालले जोड दिनुभयो ।
महिला, बालबालिका, जेष्ठ नागरिक, लैंगिक समानता र विपद व्यवस्थापनका कामलाई प्राथमिकता दिएर कार्य गरेमा स्थानीय तह र मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने स्वशासन अध्ययन प्रतिष्ठानका निर्देशक विनोद ढकालको भनाई रहेको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम. ९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज प्रत्येक हप्ताको सोमबार र बिहिवार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म नियमित रुपमा प्रशारण हुँदै आएको छ । कार्यक्रम स्थानीय आवाजमा स्थानीय तह सम्बन्धी भएका गतिबिधिहरु, स्थानीय तहको सुदृढिकरण र व्यवस्थापन लगायत स्थानीय तहका विविध पक्षका सम्बन्धमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु र विज्ञहरुसंग कुराकानी गर्ने गरिन्छ ।