काठमाडौं जिल्लाको बार्षिक समीक्षा कार्यक्रम शुरु

२७ भाद्र २०७९ ।
काठमाडौं जिल्लाको बार्षिक समीक्षा गोष्ठी शुरु भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा सो समीक्षा गोष्ठी काठमाडौंमा शुरु भएको हो ।
गोष्ठीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै मन्त्री श्रेष्ठले स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार भएकोले सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने गरी स्थानीय तहहरुले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
जनतालाई केन्द्र बिन्दुमा राखेर स्थानीय तहहरुले कार्य गर्नुपर्ने बताउदै दूर्गमका गाउँपालिकाहरुमा सेवा प्रवाहमा कठिनाई भैरहेकोले सेवा केन्द्र बिस्तारका लागि पनि सरकारले सोचिरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिसस काठमाडौंका उपप्रमुख शान्ति पाण्डेले काठमाडौं जिल्लाको समग्र विकास, समृद्धि, सेवा प्रवाह लगायत काठमाडौं जिल्लामा भैरहेका कामहरुलाई व्यवस्थित, प्रभावकारी र नागरीकमैत्री बनाउन जिससले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउनुभएको थियो ।
समीक्षा गोष्ठीमा नेपाल नगरपालिका संघका बागमती प्रदेश अध्यक्ष एवम् कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले स्थानीय तहका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच बढि भन्दा बढि सहकार्य र समन्वय हुनुपर्ने बताउदै जिससले आगामी दिनमा काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले काठमाडौं जिल्लामा सञ्चालित विकास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन जिससले सक्दो पहल गरिरहेको बताउदै काठमाडौं जिल्लाको विकास र समृद्धिका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुसंग आवश्यक समन्वय गरेर जिससले कार्य गरिरहेको बताउनुभएको थियो ।
जिल्ला समन्वय समिति काठमाडौंका पूर्व प्रमुख शिवसुन्दर राजवैद्यले जिससले काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि काठमाडौंका सबै पालिकाहरुसंग समन्वय गरेर कार्य गरिरहेको र आगामी दिनमा समन्वय र सहजिकरण कार्यलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले, प्रदेश लेखा समितिका सभापति न्यूच्छेनारायण महर्जन लगायतले काठमाडौंको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जिसस काठमाडौंका सदस्य यशोदा कार्कीले काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि जिससले गरिरहेको समन्वय र सहजिकरणको बारेमा जानकारी गराउनुभएको थियो ।
हिजोबाट शुरु भएको सो समीक्षा गोष्ठी आज सकिने जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जानकारी दिनुभयो ।
समीक्षा गोष्ठीमा पहिलो दिन काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाले आर्थिक बर्ष २०७८।०७९ मा गरेका कामहरुको प्रगति बिबरण प्रस्तुत गरेका थिए ।
समीक्षा गोष्ठीमा पहिलो दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, काठमाडौं महानगरपालिकाका उपनिर्देशक गोपाल प्रसाद पोखरेल र कृष्णराज तिवारी, गोकर्णेश्वर नगरपालिकाका बैकुण्ठ सापकोटा, शंखरापुर नगरपालिकाका रमेश गौतम, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बाँस्कोटा र चन्द्रागिरी नगरपालिकाको योजना शाखाका प्रमुख दामादर रिजालले आर्थिक बर्ष २०७८।०७९ मा नगरपालिकामा भएका कामहरुको प्रगति बिबरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरु दिब्यमणी राज भण्डारी र अंजना बिशंखेले काठमाडौंको एकीकृत विकासका लागि जिससले गरेको समन्वय र सहजिकरणको प्रशंशा गर्नुहुदै आगामी दिनमा अझ पहल गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोल, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी लगायत काठमाडौंका पालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, जिससका सदस्यहरु, कर्मचारीहरु र काठमाडौंका विभिन्न पालिकाका कर्मचारीहरुको सहभागिता सहभागिता रहेको थियो ।